काठमाडौँ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) स्थायी कमिटीको बैठक आज तीन घण्टा बसेर स्थगित भएको छ। बिहान ८ः२० मा सुरु भएको बैठक सवा ११ बजे स्थगित भएको हो।
आजको बैठकमा सात जना सदस्यले आफ्नो विचार राखेका छन्। शनिवार देखि सुरु भएको बैठकमा अध्यक्षको तर्फबाट पेस भएको राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतमको फरक मतमा स्थायी कमिटीका सदस्यहरूले आफ्नो विचार राख्ने क्रम जारी छ।
आजको बैठकमा सदस्यहरू मणि थापा, अमिक शेरचन, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, सुवास नेम्वाङ, नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले आफ्नो विचार राखेको महासचिव विष्णु पौडेलले जानकारी दिए।
बैठक भोलि बिहान ८ बजे बस्ने छ। बैठकमा बोल्ने अधिकांश स्थायी कमिटीका सदस्यहरुले सरकार र नेतृत्वको आलोचना गर्दै आएका छन्।
एकताको ७ महिना वित्दासमेत पार्टी एकतालाई स्थानीय तहसम्म पुर्याउन नसकेको भन्दै नेतृत्वको आलोचना भएको छ।
बैठकमा उठेका प्रश्नहरुको जवाफ दुई अध्यक्षले दिने कार्यक्रम रहेको छ। शनिवार बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिने छन्। हालसम्म ने क पाका ४५ स्थायी कमिटीका सदस्यमध्य ४१ जनाले आफ्नो विचार राखिसकेका छन्।
बाँकी दुई अध्यक्ष र नेताहरु माधव नेपाल र झलनाथ खनालले आफ्नो विचार राख्ने कार्यक्रम रहेको छ। नेताहरु नेपाल र खनालले भोली प्रतिवेदन माथि आफ्नो विचार राख्ने छन्।
'भोली बाँकी सदस्यले आफ्नो विचार राख्ने र पर्सी अध्यक्षले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिन सक्नुहुने छ,' बैठक पछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'अध्यक्षहरुले आवश्कता महसुस गरे शनिवार नै स्थायी कमिटीको बैठक बस्न सक्छ।'