PahiloPost

Nov 15, 2019 | २९ कात्तिक २०७६

अब आउला त मेलम्चीको पानी?



किशोर नेपाल

अब आउला त मेलम्चीको पानी?

  • किशोर नेपाल -
सुदिप्तीले कान्तिपुर गाथाको नियमित प्रस्तुतिका लागि सत्येन्द्रलाई चुनेकी थिइ। उसले कनिकालाई ‘जव’ छोड्न देली भन्ने कसैलाई लागेको थिएन। अनुमानको विपरीत उसले कनिकालाई काम नछाड्न धेरै रिक्वेष्ट गरिन। सुदिप्ती अनलाइनको प्रत्येक एडिसनमा नयाँ नयाँ प्रयोग गर्न चाहन्थी। सुदिप्तीको ब्यक्तित्वको वास्तविकता थियो उ पहिले आफैँलाई र त्यसपछि आफ्नो ‘जव’को माया गर्दथी। परिवारका सदस्य र साथीभाइसँग पटकपटक भन्ने गर्दथी, “ 'जब’ है तो जहाँ है। जुन दिनदेखि काम हुँदैन त्यस दिनदेखि झिंगाले पनि टेर्न छाड्छ।” जब पछि मात्रै आउँथ्यो परिवार र साथीभाइको पालो।
 
के सोचेर सुदिप्तीले गाथा जिम्मा लगाइ त सत्येन्द्रलाई? कसैलाई पत्तो थिएन सुदिप्तीको मनको कुरा। यति हो, सत्येन्द्र लोसे देखिए पनि अलिकति मौलिक थियो। उ कसैको फलो गर्दैनथ्यो। धेरैलाई लागेको थियो, गाथामा लाग्नु भनेको कनिकाको जुत्ता लगाउनु जस्तै थियो। सत्येन्द्रले त्यसलाई ‘अक्षरश’ सोचेको थियो। उसले लगाउनै मिल्दैनथ्यो कनिकाको जुत्ता। उ मेल थियो, कनिका फिमेल। निर्मलाको बलात्कार र हत्यामा कनिका भावुक थिइ। रुन्चे। सत्येन्द्र बलियो सोच्दछ आफूलाई त्यस्ता मामिलामा। रोएर त अपराधीकै सेवा हुन्छ। रुनु भनेको काँतर हुनु हो।
 
अफिसमा सत्येन्द्र चिनिन्छ ठिस केटोको रुपमा। वास्तविकता त्यस्तो होइन। उसलाई लाज लाग्छ केटीहरुसँग। कहिल्यै उनीहरुको सामुन्ने पनि पर्न सक्दैन। आँखासँग आँखा भिडाउने कुरा त कता हो कता। केटीहरु उसको यही स्वभावलाई ठिस भन्छन्। ‘भनुन्’ सत्येन्द्र मनमनै भन्छ, ‘आलापोटबाट बाँसबारी बसाईं सरेर आएको केटो ठिस नभएर के हुन्छ त?’

कसरी सम्झियो सत्येन्द्रले आलापोट? बसाईं सरेपछि उ त्यता जान पाएको छैन। पहिले पहिले सत्येन्द्र केटाकेटी छँदा फाँटमा रोपाईं हुन्थ्यो। झरीमा घुम ओढेर रोपारहरु असारे गीत गाउँथे, ‘लैजाने र ल्याउने भो।’ त्यस्तो गीतमा आफूलाई मनपरेको मायालु पात्र लक्षित हुन्थे।बाउसेहरुसँग दोहोरी चल्थ्यो। खेतालाहरु आलुको अचारसँग चिउरा खाजा खान्थे। बाहुन क्षेत्रीको रोपाईंमा दही चिउरा र अरु जातिको रोपाईंमा जाँड चिउरा। पछि बाहुन क्षेत्रीले पनि जाँड खान थाले। दही चिउराको चलन हरायो।

अब अहिले त झन् रोपाईंको चलन हराइसकेको छ। कान्तिपुर महानगरले ठूला बस्तीहरु समेट्न नसकेपछि विभिन्न नगरपालिका बनेका छन्। सत्येन्द्रलाई थाह छैन आलापोट कुन नगरपालिकामा पर्दछ?

जुन नगरपालिकामा परे पनि, आखिरमा मेलम्चीको पानी सुन्दरीजलकै बाटो कान्तिपुर पस्ने हो। तर, त्यो पानी कहिले आउँछ? कसैलाई थाह छैन। भरखरै सरकारले दिएको सूचना अनुसार, मेलम्ची बनाउने ठेक्का पाएको इटालियन ठेकदार सुरुङ बनाउँदा बनाउँदै भाग्यो रे। पानी मन्त्री बीना मगर दाहालले भनेकी रहिछन, 'ठेकदार भागे पनि मेलम्चीको पानी समयमा नै कान्तिपुर आउनेछ।'

‘कुन समय?’

स्वर्गीय प्रकाश दाहालकी श्रीमती बीनालाई केरकार गर्न मन लागेनछ पत्रकारहरुलाई। त्यसैले यो महत्वपूर्ण प्रश्न भावनाको नदीमा बगेर गएछ। चुनावपछिको सरकारले बनाएको समृद्धिको तालिका अनुसार, मेलम्चीको पानी अहिलेसम्म कान्तिपुरका सडकमा छ्यालब्याल भइसक्नुपर्ने थियो। त्यस्तो छ्यालब्याल भएन। कृष्णप्रसाद भट्टराईजीले अन्तरीम प्रधानमन्त्रीका रुपमा २०४७ सालमा नै मेलम्चीको पानीले कान्तिपुरको सडक धुने बताउनुभएको थियो। दुर्भाग्य, उहाँ दोस्रोपटक निर्वाचित प्रधानमन्त्री हुनुहुँदा पनि कान्तिपुरको सडक धुने सुकार्य हुन सकेन। भ्रष्टाचारीहरुले उहाँलाई नै बगाइ दिए। उहाँ नै प्रधानमन्त्री भइरहनु भएको भए अहिलेसम्म अर्को मेलम्ची खोज्नुपर्ने भै सक्थ्यो। तर, मेलम्चीको पानी मेलम्चीमा नै रह्यो। 

‘अब मेलम्चीको पानी आउला त बा?’ स्थलगत रिपोर्टिङका लागि सुन्दरीजल पुगेको सत्येन्द्रले अधबैंशे उमेरका एकजना स्थानीय नागरिकसँग सोध्यो। उनले जवाफ दिए, ‘तिमी पत्रकार होइनौं? खै, फोटो पनि खिचेनौं। नाम पनि सोधेनौं। ल सुन मेलम्चीको पानी म बाँचुन्जेल यता झर्ला जस्तो छैन। सरकारले १७ अरब रुपैयाँ खर्च गरेर मेलम्ची बनाउने भनेको थियो। अहिलेसम्म यसको लागत नै इष्टिमेटको डबल बढी ३६ अरब नाघिसकेको छ। भ्रष्टाचार गर्नेका लागि यो श्री लक्ष्मीजीको शुभलाभ हो। कृष्णप्रसाद प्रधानमन्त्री हुँदा मेलम्ची ल्याउँछन् बुढाले जस्तो लागेको थियो। दिनेशचन्द्र पोखरेल भन्ने हाकिमलाई त्यसैमा खटाएका थिए। उनी हटेको केही समयपछि उनले पनि आत्महत्या गरे। मेरो नामचाहिँ प्रदुमन खडका ।’

सत्येन्द्रलाई अलिकति लाज लाग्यो प्रदुमन खडकासँग। हो नि, उनले राम्रो कुरा सिकाए। पत्रकार जोसँग कुरा गर्दैछ कम्तीमा पनि उसलाई त्यो पात्रको नाम त थाह हुनुपर्‍यो। अचेल त तस्बिर पनि सस्तो छ। जति खिचे पनि रील नचाहिने, रोल गर्न पनि नपर्ने। किचिक्क खिच्यो भै गो।
सत्येन्द्रले कम्युनिष्टका ठूला नेता लेनिनलाई सम्झियो। उनले भनेका थिए, ‘जनताबाट सिक्नु पर्दछ।’ 

जनताबाट कसैले नसिकेको देखेर उ ट्वाँ पर्‍यो ...

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। फ्याक्ट र फिक्सनको संयोजन गरी टेलिसिरियल शैलीमा लेखिएका गाथा केही समयको विश्रामपछि अब हरेक हप्ता पहिलोपोस्टमा प्रकाशित हुनेछ।)



अब आउला त मेलम्चीको पानी? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell