PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

नेपाल आइडलमा नयाँ गीत प्रस्तुत गर्दै बुद्ध, भन्छन्, 'यसपालीको विजेताले समयमै पुरस्कार पाओस्'



पहिलोपोस्ट

नेपाल आइडलमा नयाँ गीत प्रस्तुत गर्दै बुद्ध, भन्छन्, 'यसपालीको विजेताले समयमै पुरस्कार पाओस्'

पहिलो नेपाल आइडल बुद्ध लामा दोस्रो संस्करणका विजेता हेर्न आतुर छन्। सांगीतिक रियालिटी सो नेपाल आइडलको आज फिनाले हो।

उनले दोस्रो सिजनका सबै सोहरु नछुटाइ हेर्न भ्याए।  प्रतिस्पर्धीहरुमा उनले कति पटक आफूलाई पनि पाउँथे। सो हेरिरहँदा उनले आइडलको स्टेजलाई मिस पनि गर्थे।

सुनाए 'त्यही प्लेट फर्ममा गएर गाउन मन लाग्छ। यसपालीको सोहरु राम्रो थियो। प्रतिस्पर्धीहरु पनि राम्रा राम्रा। खुशी छु नेपाल आइडलको प्रडक्ट हुन पाउँदा।'

फिनालेमा पुगेका बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी र रवि ओड सबै जना राम्रा रहेको बताउँछन् बुद्ध।

को बन्ला दोस्रो नेपाल आइडल?

'चारै जना एकदम राम्रा छन्। जो पनि हुनसक्छ। म दोस्रो नेपाल आइडल हेर्न उत्सुक छु। मलाई चार जना नै मनपर्छ। सबै प्रतिस्पर्धीहरुको गायन, उनीहरुको प्रतिभा,  भोकल टोन फरक छ। मेरो लागि सबैजना समान हुनुहुन्छ' उनले भने।  

यतिखेर कतिपयले राम्रा गायक भोटिङकै कारण फिनालेमा नपुगेको आरोपसमेत लगाइरहेका छन्। तर, बुद्धलाई भने त्यस्तो लाग्दैन।

 

पुरस्कारको विवाद - यसपाली आयोजकले ध्यान दिओस्

कतारको दोहामा भएको फिनालेमा बुद्धले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाउने घोषणा गरिएको थियो। तर बुद्धले पुरस्कारको कार समयमै पाएनन्। पुरस्कारका कारण उनी विवादमासमेत तानिए। पुरस्कारका लागि धेरै मिहिनेत गर्नु पर्‍यो विजेता घोषणा पछि पनि। तर यो वर्षको विजेताले उपहार समयमै पाउन् भन्ने उनको भनाई छ। आयोजकले यसप्रति ध्यान पुर्‍याउनुपर्ने बताउँछन्।

 

'उपहारको हिसाबमा चाहीँ आयोजकले पनि ध्यान पुर्‍याउनुपर्छ। मेरो हकमा चाहीँ आयोजकले बुझेर उपहारको काम गरिदिनु भएको भए राम्रो हुन्थ्यो। अब के गर्नु, कहिले काहीँ ढिला, चाँडो हुन्छ। सो यसरी चलेपछि सबै कुरामा आयोजकले ख्याल गर्नपर्छ', उनले भने 'मलाई जस्तो पुरस्कार दिन ढिलाइ नहोस्। विजेताले पाउनुपर्ने पुरस्कार समयमा नै पाएको देख्न चाहन्छु।'

 

आइडल बनेपछि हराएको हो बुद्ध?

नेपाल आइडल बनेपछि बुद्ध पछिल्लो समय गुमनाम नै रहे। तर बुद्ध यो आरोपलाई यसरी खण्डन गर्छन्, 'म हराएको होइन। म आफ्नो ठाउँमा काम गर्दैछु। 'सानी नरिसाउन'बोलको गीत गाएँ। दर्शकले रुचाइदिनु भयो। म गायन प्रतिभा झनै देखाउने प्रयासमा छु। नेपाल आइडल भएपछि मलाई झनै जिम्मेवारी बोध भएको छ।' उनी फिनालेमा आफ्नो नयाँ गीत 'तिम्रो मायामा' गाउने तयारीमा छन्।

फिनालेमा पुगेका बिक्रम बराल, रबि ओड, सुमित पाठक र अस्मिता अधिकारीलाई उनले शुभकामना दिएका छन्। 'म उहाँहरुलाई शुभकामना दिन चाहन्छु। जित्नु भन्दा ठूलो कुरा हिम्मत नहार्नु हो। किनभने जिन्दगीमा कति ठक्कर खानुपर्छ। अल द बेस्ट भन्न चाहन्छु,' फिनालेमा पुगेका सबैलाई शुभकामना दिँदै उनले भने।

आजै पुल्चोकस्थित इन्जिनियरिङ कलेजको चौरमा सांगीतिक समारोहबीच विजेता घोषणा हुनेछ।  समारोह बेलुका ६ बजेबाट शुरु हुँदैछ।

फिनालेमा गोल्डेन माइक विजेता बिक्रम बरालमात्र आइपुगेका छन्। पोखरा अडिसनमा निर्णायकहरुको मन जित्दै गोल्डेन माइक पाएका थिए उनले। बुद्ध पनि पोखराकै हुन्।

यता झापाका सुमित पाठक बाँकी चारमध्य कान्छा प्रतिस्पर्धी हुन्। झापाकै अर्की प्रतियोगी अस्मिता अधिकारी एक मात्र महिला प्रतिस्पर्धी हुन्। सुदुरपश्चिमका रवि ओड पनि उत्कृष्ट चारमा छन्। विजेताले २२ लाख नगद रुपैयाँ र कार उपहार पाउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell