
काठमाडौँ : एनआरटीले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ। उद्घाटन खेलमै त्रिभुवन आर्मीसँग बराबरी खेलेको एनआरटीले लगातार ८ हारको श्रृखंला अन्त्य गर्दै शुक्रवार जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको हो।
यस्तै अर्को खेलमा जीवन गुरुङले खेल सकिन २ मिनेट अगाडि गोल गरेपछि फ्रेण्ड्सले हिमालयन शेर्पालाई पनि २-१ ले नै पराजित गर्दै सिजनको दोस्रो जित हात पारेको छ। एक गोलले पछि परेको फ्रेण्ड्सले पुनरागमन गर्दै दश खेलाडीमा झरेको शेर्पालाई पराजित गरेको हो।
एनआरटीलाई सिजनको पहिलो जित दिलाउन काउसी जेनले ३४औँ मिनेटमा र सुशील लामाले ५७औँ मिनेटमा गोल गरे। जावलाखेलका लागि सुमन डंगोलले ५९औँ मिनेटमा एक गोल फर्काए।
जितपछि पनि १० खेलबाट ४ अंक जोडेको एनआरटी अंकतालिकामा अझै पुछारमा छ। सिजनको छैटौँ हारपछि १० खेलबाट ८ अंक रहेको जावलाखेल दशौँ स्थानमा छ।
यस्तै विदेशी खेलाडी गोहा प्याट्रिकले २७औँ मिनेटमा गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए तर २८औँ मिनेटमै संजोग महर्जनले फ्रेण्ड्सको लागि बराबरी गोल फर्काए।
८१औँ मिनेटमा अनिश गुरुङ रातो कार्ड पाउदै मैदान बाहिरिएपछि शेर्पा दश खेलाडीमा झर्यो। त्यसैको फाइदा उठाउँदै ८८औँ मिनेटमा जीवन गुरुङले गोल गर्दै फ्रेण्ड्सलाई २-१ को जित दिलाए।
जितपछि १० खेलबाट ८ अंङ्क जोडेको फ्रेण्ड्स ११औँ स्थानमा छ। यसअघि आजै भएको पहिलो खेलमा मछिन्द्रले सरस्वती युथ क्लबलाई ४-२ ले पारजित गर्दै सिजनको पहिलो जित हात पारेको छ।
लिगअन्तर्गत शनिवार थ्री स्टार र च्यासल युथ क्लब तथा संकटा र ब्रिगेड ब्वाइजबीच खेल हुनेछ।