PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

को बन्ला नेपाल आइडल - २? दुई गोल्डेन माइकधारीसँग भिड्दै अस्मिता र रवि



रीना मोक्तान

को बन्ला नेपाल आइडल - २? दुई गोल्डेन माइकधारीसँग भिड्दै अस्मिता र रवि

गायन रियालिटी सो नेपाल आइडलले आज दोस्रो नेपाल आइडल विजेता घोषणा गर्दैछ। फिनालेमा शीर्ष चार प्रतिस्पर्धी पुगेका छन्। चारै जना भोट र निर्णायकको छनौटको आधारमा अगाडि आएका हुन्।  दोस्रो नेपाल आइडल विजेता हेर्न सबै आतुर छन्। दर्शकले रुचाएको रियालिटी सोको पुल्चोकस्थित इन्जिनियरिङ कलेजको चौरमा शुक्रबार राति फिनाले हुँदैछ।  

यस्ता छन् प्रतिस्पर्धी

बिक्रम बराल
गोल्डेन माइक विजेता हुन् बिक्रम बराल। उनले पोखरा अडिसनमा 'मर्न बरु गाह्रो हुन्न'बोलको गीत गाएर दर्शकको मन जितेका थिए। 'लैजा चरी'बाट उनी निर्णायकको नजरमा परेका थिए। बिक्रमले पछिल्लो समय नेपाली फिल्ममा पार्श्व गायनमा स्वर पनि दिए। बिक्रम पहिलेदेखि नै गीत संगीतमा सक्रिय छन्। बिक्रम नेपाल अडिसन दिनुअघि विदेशिने सोचमा थिए। अहिले गीतसंगीतमै भविष्य देखेका छन्। उनले गाएका गीतहरुमा 'अलि अलि भन्दा भन्दै'बोलको गीतलाई निर्णायकले निकै रुचाएका थिए।

लोक दोहोरी विशेष कार्यक्रममा उनको गायनको निकै प्रशंसा पनि भयो। उनी नोटेसन मिलाएर गीत गाउने प्रतिस्पर्धी रहेको निर्णायकको दाबी छ। 'वसन्त' उनले प्रस्तुत गरेका गीतहरुमा उत्कृष्टमध्यकै एक हो। पहिलो नेपाल आइडल बुद्ध लामा पनि पोखराकै हुन्।

 

सुमित पाठक

पहिलो दिन गितार बोकेर नेपाल आइडलको काठमाडौं अडिसनमा आएका थिए सुमित। निर्णायकबाट उनले  गोल्डेन माइक प्राप्त गरे। बिस्तारै दर्शकको मन जित्दै उनी फिनालेसम्म आइपुगेका छन्। झापाका उनी सानैदेखि गितार बजाउने रुचि राख्थे। 'कुन माया सदर भो'बाट उनले धेरै दर्शकको मन जिते।

उनलाई एक सोमा निर्णायक इन्दिरा जोशीले भर्सटाइल गायक भनेर सम्बोधन गरेकी थिइन्। उनका प्रस्तुतिहरुमा 'गुराँसको फेद मुनि', 'बोल्नै पर्छ', 'क्षमा आमा' उत्कृष्ट थियो।

अस्मिता अधिकारी

'मेरो प्यारो मान्छे' बोलको गीत गाएर झापाकी प्रतियोगी अस्मिता फिनालेकी एकमात्र महिला प्रतिस्पर्धी हुन्। थियटर राउण्ड, पियानो राउण्ड, गाला राउण्डमा उनले दर्शकको मन जितिन्। नेपाल आइडलमा आएर उनले झनै आफ्नो गायन प्रतिभा निखारेकी छिन्।

'न देखेको भए हुन्थ्यो', 'छाएछ बसन्त', 'चाहन्छु तिमीलाई', 'हरियो डाँडामाथि', 'सय थरी बाजा एउटै ताल' आइडलमा अस्मिताले प्रस्तुत गरेका उत्कृष्ट प्रस्तुतिहरु हुन्।

नेपाल मेडिकल कलेज जोरपाटीबाट नर्सिङ अध्ययन सकेकी उनी पनि झापाकै हुन्। उनले गायनसँगै नर्सिङमा पनि सक्रिय रहने बताएकी छिन्। अस्मिताले हालै भनेकी थिइन् 'मेरो सानै देखिको चाहना नर्स र गायिका बन्ने थियो। आज दुवै पुरा भएको छ। म नर्सिङ पेसा र गायन क्षेत्रलाई सँगसँगै अगाडी बढाउने छु।' अस्मिता पहिला भजन गाउँथिन्। इस्टर्न र वेस्टर्न विधाको संयोजन गाउन उनी माहिर छिन्।  

 

रवि ओड

उत्कृष्ट चारमा परेका अर्का प्रतिस्पर्धी हुन् सुदुरपश्चिमका रवि। उनी नेपाल आइडल आउनुअघि दोहोरी साँझमा गाउँथे। धनगढी अडिसनमा 'जाउँला रेलैमा'मा गाएपछि उनले नेपाल आइडमा आफ्नो स्थान बनाएका थिए। रवि लोकदोहोरी, पप हिन्दी, पप सबै विधामा गाउन सक्छन।

'पार्‍यौ भुतुकै' बोलको गीतबाट निर्णायक न्ह्यू बज्रचार्यको नजरमा परेका थिए रवि। उनको स्वर पार्श्व गायनमा रुचाइन्छ। 'देउडा', 'म मौनता', 'सम्बोधन तिमीले','मायाले बाध्यो लौ रेसम','फेवा तालमा साइँली' उनले प्रस्तुत गरेका उत्कृष्ट प्रस्तुति थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell