PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

म्यादी प्रहरीदेखि नेपाल आइडलको ग्रान्ड फिनालेसम्म : रवि ओड



एम बम

म्यादी प्रहरीदेखि नेपाल आइडलको ग्रान्ड फिनालेसम्म : रवि ओड

कैलाली : आर्थिक रुपमा विपन्न परिवारमा हुर्केर गायन प्रतिस्पर्धाबाट नेपाल आइडलको उत्कृष्ट चार ‘ग्राण्ड फिनाले’ सम्म पुगेपछि सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी रवि ओडलाई जिताउन यो हप्ता सुदूरपश्चिमका थुप्रै संगीतप्रेमी लागिपरे। उनीहरुको सक्रियता सफल हुने हो कि हैन आज राति आउने परिणामले थाहा हुनेछ। 

को हुन रवि ओड ?

कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ साल चैत महिनामा जन्मिएका तेस्रो सन्तान हुन्।  भारतको ‘वाचम्यान’ रहेका उनका बाजे र बुवा अछामबाट बसाइ सरेर कंचनपुर गएका थिए। उनको पुर्ख्यौली थलो साविकको अछाम बुढाकोट गाविस हो भने हाल साँफेबगर नगरपालिकामा पर्छ।
 
रविका बुबा अहिले पनि भारतमा ‘वाचम्यान'को काम गरिरहेका छन्। सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाजेको प्रेरणाबाट गीत संगीतमा लागेको बताउँछन्।

म्यादीदेखि नेपाल आइडलसम्म 

रवि गत वर्ष भएको स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा म्यादी प्रहरी समेत बने। हुनत उनी भारतमा मजदुरीका लागि समेत गएका थिए। आर्थिक रुपमा पारिवारिक अवस्था केही कमजोर भएपछि गत निर्वाचनमा पढाइ र घर खर्चका लागि उनी म्यादी प्रहरी बने। 

अहिले रविको म्यादी प्रहरीमा भर्ना हुदाँको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

सामाजिक सञ्जालमा विभिन्न समूह बनायर रविका समर्थकहरु उनलाई जिताउने अभियानमा लागिपरेका थिए।
 
रविका समर्थकहरुले धनगढी बजारका मुख्य–मुख्य क्षेत्रमा होर्डिङ बोर्डहरु समेत राखेका छन्।
   

‘आमाको सपना पूरा गर्दै रवि’

रविकी आमाको उनी ८ वर्षको हुँदा मृत्यु भएपछि उनका बुबाले अर्को बिहे गरे।  रविको प्रतिभा भने उनकी आमाले त्यस अघिनै चिनिसकेकी थिइन्। तर उनी सुरुदेखिनै बिरामी भएकाले उनको प्रतिभालाई कसरी सफल बनाउने र देशविदेशमा परिचित गराउने भन्नेमा चिन्तित थिइन्।
 
रविकी ठूलीआमा सोभादेवी विकले भनिन्, ‘बहिनी छोराको कला देखेर उत्साहित थिई। तर आफ्नो शारीरिक अवस्था देखेर छोराप्रति चिन्तित बन्ने गर्थिन्। उसले रविलाई नेपालमै चलेको गायक बनाउने सपना बोकेकी थिई। उसको मृत्युपश्चात् भने त्यो सपना अधुरै हुन्छ जस्तो लागेको थियो। आज छोरो संगीतकै प्रतिस्पर्धामा यति सफलता हात पार्न सफल भए पछि भने बहिनीको सपना पुरा भएको जस्तो लागिरहेको छ । हामी धेरै खुसी छौँ।’ 





 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell