PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

यस्तो रह्यो नेपाली क्रिकेटका नयाँ 'पोस्टर ब्वाए' सन्दीपको ड्रिम लिग बीबीएल डेब्यु



गोविन्दराज नेपाल

यस्तो रह्यो नेपाली क्रिकेटका नयाँ 'पोस्टर ब्वाए' सन्दीपको ड्रिम लिग बीबीएल डेब्यु

काठमाडौँ : नेपाली क्रिकेटका नयाँ पोस्टर ब्वाए, युवा क्रिकेटर सन्दीप लामिछानेले आफ्नो ड्रिम लिगको डेब्यु यादगार बनाएका छन्। अष्ट्रेलियन टी-२० लिग बिग बास लिग (बीबीएल) को सिजन ८ मा छनोट भएका सन्दीपले पहिलो खेलमा २ विकेट लिएपनि हारबाट आगामी दिनको यात्रा सुरु गरेका छन्।

१९ वर्षीय स्टार जासोन सांगाले उत्कृष्ट प्रदर्शन गर्दै बीबीएल डेब्युमा अर्धशतक प्रहार गरेको खेलमा सिड्नी थण्डरले मेलबर्न स्टार्सलाई डिएल मेथडमा १५ रनले पराजित गरेको हो।

मेलबर्न स्टार्सबाट खेल्दै सन्दीपले पहिलो खेलमै अष्ट्रेलियाका शेन वाट्सनको विकेट लिन सफल भए।

सन्दीप आफ्नो ड्रिम लिग खेल्न काठमाडौँमै भइरहेको एभरेष्ट प्रिमियर लिगमा ललितपुरको लागि सुरुको दुई खेलेर अष्ट्रेलिया पुगेका थिए।

दुई दिनअघि मेलबर्नले सिड्नी थण्डर विरुद्ध हुने सिजनको पहिलो खेलका लागि १३ खेलाडीको नाम सार्वजनि गर्दा सन्दीप पनि समावेश थिए। त्यसैले गर्दा सन्दीप पहिलो रोजाईमा खेल्ने सम्भावना बढेको थियो। र सन्दीपले यस सिजनको पहिलो खेल नै खेल्ने मौका पाए। सन्दीपको टिमको कप्तानमा ग्लेन म्याक्सवेल छन्। बीबीएलमा विदेशी खेलाडीको कोटा दुई मात्र रहेको छ। यस्तोमा मेलबर्नमा सन्दीपसँगै टी-२० का विशेषज्ञ खेलाडी वेष्टइन्डिजका ड्वाने ब्राभो छन्।

शुक्रवार आफ्नो पहिलो खेलमा स्टार्सका कप्तान म्याक्सवेलले ब्याट फ्लिप जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए।

स्टार्समा बलर र अलराउण्डर धेरै भएकाले सन्दीप बलिङको पर्खाईमा थिए। अष्ट्रेलियाकै स्पीनर एडम जाम्पाले जोस बटरलाई आउट गर्दै स्टार्सलाई विकेट दिलाइसकेका थए। म्याक्सवेलले खेलको आठौँ ओभरमा बलिङ गर्न दिए। सन्दीपले पनि कप्तान र दर्शकलाई निराश पारेनन्। पहिलो ओभरमै दुई विकेट लिए। उनको पहिलो ओभरको पहिलो बलमा थण्डरका कलुम फर्गुसनले एक रन लिए। त्यसपछि स्ट्राइकमा पुगे शेन वाट्सन। वाट्सन नाम नै काफी छ। सन्दीपले त्यही वाट्सनको विकेट लिँदै बीबीएल यात्रा सुरु गरे। सन्दीपले लङ अनमा रहेका लार्किनको हातबाट वाट्सनलाई क्याचआउट गराए।

त्यसपछि फर्गुसनले तेस्रो बलमा एक रन लिए। चौथो नम्वरमा ब्याटिङ गर्न आएका इंग्लिस खेलाडी जोए रुटले सन्दीपको चौथो बलमा रन बनाउन सकेनन् भने पाँचौ बलमा एक रन बनाए। छैटौँ बल फेस गर्न स्ट्राइकमा पुगेका फर्गुसनलाई सन्दीपले आफ्नै बलमा क्याचआउट गरे।
 

सन्दीपले ड्रिम लिग मानेको बीबीएल डेब्युको पहिलो ओभरमै २ विकेट लिँदै शानदार सुरुवात गरे। उनले ३ रन मात्र खर्चे।

तर त्यसपछिका तीन ओभर भने सन्दीपको लागि फलदायी हुन सकेन। उनले ३ ओभरमा ३३ रन खर्चे भने विकेट थप्न सकेनन्।

सन्दीपले त्यसपछि दशौँ, १२औँ र १४औँ ओभर बलिङ गरे। आफ्नो दोस्रो ओभरमा ६ रन दिएका सन्दीपले तेस्रो ओभरमा १३ रन खर्चिए। चौथो ओभरमा अझै महँगा बनेका सन्दीपले १४ रन खर्चिए। सन्दीपलाई थण्डरका जासोन सांगाले कूल ३ छक्का हाने।

सन्दीपले बीबीएलको पहिलो खेलमा कूल २४ बल बलिङ गर्दा ८ बल डट फाले, उनको स्पेलमा ३ छक्का र १ चौका प्रहार भयो अनी ३४ रन खर्चिए र आफ्नो नाममा २ विकेट लेखाए।

समग्रमा हेर्दा सन्दीपको बीबीएल डेब्यु मिश्रित रह्यो। सन्दीपको डेब्युलाई अष्ट्रेलियन मिडियाले पनि विशेष रुपमा हेरेको थियो। प्रतियोगिता सुरु हुनु अघि नै सन्दीपलाई हेर्नलायक ८ युवा खेलाडीको सूचीमा राखिएको थियो। यस्तै आइपीएलमा दिल्लीको टिममा सँगै रहेका कप्तान म्याक्सवेलले पनि सन्दीपको प्रशंसा गर्दै भावी स्टारको रुपमा व्याख्या गरेका थिए।

दुई वर्षअघि माइकल क्लार्कको एकेडेमी प्रशिक्षण गरिसकेका सन्दीपले त्यहाँ ग्रेड क्रिकेट समेत खेलिसकेका छन्। त्यतिबेला सन्दीपले आफ्नो सपना बिग बास खेल्नु रहेको बताएका थिए। त्यसयताको दुई वर्षमा सन्दीपले हासिल गरेको सफलता नेपाली खेलाडीको लागि गौरव गर्न लायक छ। गत सिजन इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सका लागि खेलेपछि सन्दीपको चर्चा झनै चुलिएको थियो। यस बीचमा सन्दीपले विश्वका विभिन्न टी-२० फ्रेन्चाइज लिग खेलिसके। आइसीसी विश्व ११ को प्रतिनिधित्व गर्दै टी-२० इन्टरनेशनलमा डेब्यु गरे। नेपालको पहिलो ओडिआई सिरिजमा नेदरल्याण्ड्स विरुद्ध दुई खेल खेले।

नेपालमै पनि पोखरा प्रिमियर लिग र एभरेष्ट प्रिमियर लिग खेले। अब बीबीएल भइरहँदा सन्दीप बीचमा बंगलादेश प्रिमियर लिग खेल्न बंगालदेश जानेछन् र पुन: अष्ट्रेलिया फर्कनेछन्। यसबीचमा नेपालले कुनै सिरिज खेले सन्दीप नेपाली टिममा फर्कनेछन्। नेपालले २०१९ को जनवरीमा युएई विरुद्ध ओडिआई र टी-२० इन्टरनेशनल सिरिज खेल्ने सम्भावना छ।

खेलपछि बिग बासको अफिसियल फेसबुक पेजमा सन्दीपले लिएको दुई विकेटको भिडियो पोष्ट गर्दै बिग बासले नयाँ हिरो पाएको हो भनेर प्रश्न गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell