PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

दशौं सिमरा गोल्डकप माघ पहिलो साता, विजेतालाई ६ लाख, एउटा विदेशी टिम आउने



राधेश्याम पटेल

दशौं सिमरा गोल्डकप माघ पहिलो साता, विजेतालाई ६ लाख, एउटा विदेशी टिम आउने

वीरगंज : दशौं सिमरा गोल्डकप माघको पहिलो साता आयोजना हुने भएको छ। आयोजकले नव जनजागृति क्लबले शुक्रवार पत्रकार सम्मेलन गरी प्रतियोगिता माघ ३ देखि १२ गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो।

अखिल नेपाल फूटबल संघ (एन्फा)को क्यालेन्डर अनुसार प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ।

सिमरा रंगशालामा १० दिसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ६ क्लब, मोफसलको तीन क्लब र एउटा बिदेशी क्लब गरी १० टिमको सहभागीता रहने आयोजक क्लबका अध्यक्ष कासिम मियाले बताए।

प्रतियोगिताको विजेताले नगद ६ लाख र उप विजेताले तीन लाख प्राप्त गर्नेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि मोटरसाईकल वा स्कुटर प्राप्त गर्ने छन्।

उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालाई २०-२० हजार प्रदान गरिने। प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार प्राप्त गर्ने महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए।

यसैगरी आयोजकले यस वर्ष एकजनालाई उदयीमान खेलाडी घोषणा गर्दै १५ हजार नगदले पुरस्कृत गर्ने भएको छ। आयोजकले यस वर्ष पनि ३४ जना खेलाडी, अफिसियल, रेफ्री, ग्राउण्ड म्यानको पाँच लाख र ५० जना दर्शकको एक लाखको बिमा गरेको छ। सानिमा जनरल ईन्स्योरेन्सले खेलाडी र दर्शकको बिमा गरेको आयोजक क्लबका उपाध्यक्ष दुर्गा थापाले बताए।

७७ लाख खर्च हुने अगुमान गरिएको प्रतियोगिताको मुख्य प्रायोजकमा विजय डिष्ट्रिलरी र सहयोगीको रुपमा राष्ट्रिय खेलकुद परिषद, एन्फा र जीतपुरसिमरा उपमहानगरपालिका रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell