PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

आमाको सपना पूरा गर्दै सुदूरपश्चिमका रवि ओड बने नेपाल आइडल



एम बम

आमाको सपना पूरा गर्दै सुदूरपश्चिमका रवि ओड बने नेपाल आइडल

कैलाली : सुदूर पश्चिमका रवि ओड दोस्रो नेपाल आइडल बनेका छन्। ललितपुरको पुल्चोकमा भएको ग्रान्ड फिनालेमा टप चारबाट उनी विजेता घोषित भएका हुन्। उनीसँगै पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी फाइनल प्रतिस्पर्धी रहेका थिए।

रविले २२ लाख नगद रुपैयाँसहित कार पाएका छन्। 

गोल्डेन माइक विजेता विक्रम बराल फर्स्ट रनर्स अप भए। उनले बीस लाख नगद रुपैयाँ प्राप्त गरे।

त्यस्तै झापाका सुमित पाठक सेकेन्ड रनर्स अपमा चित्त बुझाउनु पर्‍यो। उनले १२ लाख नगद रुपैयाँ नगद पुरस्कार पाए। थर्ड रनर्स अप अस्मिता अधिकारी बनिन्। झापाकै उनी एकमात्र महिला फाइनलिस्ट थिइन्। उनलाई होन्डाको स्कुटर दिइयो।

सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी रवि ओडलाई जिताउन यो हप्ता सुदूरपश्चिमका थुप्रै संगीतप्रेमी लागिपरेका थिए। 

को हुन रवि ओड ?

कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ साल चैत महिनामा जन्मिएका तेस्रो सन्तान हुन्।  भारतमा ‘वाचम्यान’ रहेका उनका बाजे र बुवा अछामबाट बसाइ सरेर कञ्चनपुर गएका थिए। उनको पुर्ख्यौली थलो साविकको अछाम बुढाकोट गाविस हो भने हाल साँफेबगर नगरपालिकामा पर्छ।
 
रविका बुबा अहिले पनि भारतमा ‘वाचम्यान'को काम गरिरहेका छन्। सामान्य परिवारमा जन्मिएका उनी आफ्ना बाजेको प्रेरणाबाट गीत संगीतमा लागेको बताउँछन्।

म्यादीदेखि नेपाल आइडलसम्म 

रवि गत वर्ष भएको स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा म्यादी प्रहरी समेत बने। हुनत उनी भारतमा मजदुरीका लागि समेत गएका थिए। आर्थिक रुपमा पारिवारिक अवस्था केही कमजोर भएपछि गत निर्वाचनमा पढाइ र घर खर्चका लागि उनी म्यादी प्रहरी बने। 

अहिले रविको म्यादी प्रहरीमा भर्ना हुदाँको तस्बिर पनि सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

सामाजिक सञ्जालमा विभिन्न समूह बनायर रविका समर्थकहरु उनलाई जिताउने अभियानमा लागिपरेका थिए।
 
रविका समर्थकहरुले धनगढी बजारका मुख्य–मुख्य क्षेत्रमा होर्डिङ बोर्डहरु समेत राखेका छन्।
   

‘आमाको सपना पूरा गर्दै रवि’

रविकी आमाको उनी ८ वर्षको हुँदा मृत्यु भएपछि उनका बुबाले अर्को बिहे गरे।  रविको प्रतिभा भने उनकी आमाले त्यस अघिनै चिनिसकेकी थिइन्। तर उनी सुरुदेखिनै बिरामी भएकाले उनको प्रतिभालाई कसरी सफल बनाउने र देशविदेशमा परिचित गराउने भन्नेमा चिन्तित थिइन्।
 
रविकी ठूलीआमा शोभादेवी विकले भनिन्, ‘बहिनी छोराको कला देखेर उत्साहित थिई। तर आफ्नो शारीरिक अवस्था देखेर छोराप्रति चिन्तित बन्ने गर्थिन्। उसले रविलाई नेपालमै चलेको गायक बनाउने सपना बोकेकी थिई। उसको मृत्युपश्चात् भने त्यो सपना अधुरै हुन्छ जस्तो लागेको थियो। आज छोरो संगीतकै प्रतिस्पर्धामा यति सफलता हात पार्न सफल भए पछि भने बहिनीको सपना पुरा भएको जस्तो लागिरहेको छ । हामी धेरै खुसी छौँ।’ 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell