
काठमाडौँ : शुक्रवार राति ललितपुरको लाकुरीभञ्जाङ प्रहरी प्रभागमा अचानक गोली चल्यो। गोली अरु कसैले नभएर प्रभागका इञ्चार्ज असइ रमेश तामाङले नै चलाएका थिए। त्यो पनि आफ्नै साथी जवान रोशन श्रेष्ठमाथि।
तर प्रहरी प्रारम्भिक अनुसन्धानमा गोली नियतवश नभएर प्राविधिक गल्ती हुँदा चलेको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले जानकारी दिए। एसपी खनालले भने,’ राति गोली चलेको खबर सुनेर म पनि पुगेको थिएँ। कुनै नियतवश नभई प्राविधिक गड्बडीको कारण चलेको देखिएको छ। थप अनुसन्धान गरिरहेका छौं।'
रमेश र रोशन दुबै साथीमात्र हैन गाउँले पनि हुन्। दोलखाका उनीहरुको घर पनि सँगै रहेको छ। रोशन भने अहिले महानगरीय विपद व्यवस्थापन सामाखुसीमा कार्यरत छन्। रोशन शुक्रवार साथी भेट्न प्रभागमा पुगेका थिए। गाउँले साथी सँगै एउटै क्षेत्रमा कार्यरत भएका उनीहरु दुबै जना त्यो रात प्रभागमा नै बिताउने सुरमा थिए।
असई रमेशको प्रभागभित्र नै रहेको क्वार्टरमा उनीहरु सुत्न पुगेका थिए। राति आफूसँग भएको पेस्तोलको म्यागजिन अनलोड गर्ने क्रममा पेस्तोल पड्किएर रोशनको गालामा लागेको बयान रमेशले दिएका छन्। डिएसपी खनालले भने, ’रमेशलाई हामीले नियन्त्रणमा लिएका छौं। उसले आफुले पेस्तोलको म्यागजिन अनलोड गर्दा गोली चलेको बताएको छ।‘
गोली लागेर घाइते भएका जवान रोशनलाई रमेशले नै अस्पताल पुर्याएको प्रहरीले जनाएको छ। अहिले रोशन खतरामुक्त छन्। प्रहरी अस्पतालमा जवान रोशनको उपचार भइरहेको छ। घटनाको अनुसन्धान गर्ने महानगरीय प्रहरी वृत सातदोबाटोका डिएसपी गौतम मिश्रको संयोजगत्वमा पाँच सदस्य टोली गठन भएको एसपी खनालले बताए।