PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

बौद्ध स्तुपमा प्वालैप्वाल : के हो विवाद? यस्तो छ चिनियाँ लामाको ‘कनेक्सन’



सहयोग रञ्जित

बौद्ध स्तुपमा प्वालैप्वाल : के हो विवाद? यस्तो छ चिनियाँ लामाको ‘कनेक्सन’

त्यो दिन (मंसिर २९ गते शनिबार) विश्व सम्पदा क्षेत्रमा सूचीकृत बौद्धनाथ महाचैत्य क्षेत्रमा आगन्तुकहरुको चाप बढी थियो। 

विदेशी पर्यटकहरुको संख्या कम थिएन। तर त्यसदिन केही ताइवानी, चिनियाँ नागरिकहरु महाचैत्य (स्तुप) क्षेत्रमा किला, ड्रिलिङ मेसिन इत्यादि औजारसाथ देखा परे। उनीहरुसँग थिए त्यहीँका केही बौद्ध भिक्षुहरु। बिदाका दिन भएकाले बौद्ध स्तूपमा कर्मचारी कम थिए। 

विदेशी नागरिकसहित आएका व्यक्तिहरुले विस्तारै बौद्ध स्तूप वरिपरि ड्रिलिङ मेसिन चलाए। प्वाल पारे। किला ठोके। स्थानीय बासिन्दाका अनुसार विदेशी नागरिकहरु आफै किला ठोक्नमा सक्रिय थिए। 

विश्व सम्पदा क्षेत्रमा रहेका सम्पदामा यसो गर्न मिल्दैन। कसैले त्यस क्षेत्रमा निर्माण वा अरु कुनै कार्य गर्नुपरेमा पुरातत्व विभागको स्वीकृति लिनुपर्छ, युनेस्कोको आफ्नै मापदण्ड छ।

तर त्यो शनिबार कसैलाई केही सूचना बिना नै संरक्षित बौद्ध स्तूपमा ड्रिल मेसिन चल्यो। 

बिजुली बत्ती बाल्ने भन्दै 'ड्रिलिङ र क्लिपिङ' गरी किला ठोकियो, तारहरु स्तूप वरिपरि अड्काइयो। (बत्ति र तारहरु पहिला पनि थिए) 
श्री बौद्ध तथा मेलम्ची घयाङ गुठीको अगुवाईमा बिजुली बत्ती राख्ने काम भएको हो।

सम्पदा क्षेत्रमा नै यस्तो भएको देखेपछि त्यहाँका स्थानीयले प्रतिकार गर्न कोशिश त गरे तर सफल भएनन्। 

बौद्धनाथ क्षेत्र विकास समितिले त्यसविरुद्ध प्रहरीमा उजुरीसमेत दियो। यद्यपि, बौद्ध महाचैत्यको चारै दिशामा किला ठोकियो, ड्रिल गरियो। तारैतारले बौद्ध सजाइयो। अहिले स्थानीय बासिन्दाले भन्ने गरे अनुसार 'बौद्धमा हजारौं प्वाल पारियो'।



***

बौद्धनाथ महास्तूप करिब पाचौं शताब्दीमा बनेको विश्वास गरिन्छ। साँझपख बौद्ध क्षेत्रमा पुग्ने जो कोहीलाई स्तूपको झिलिमिलि बत्तीले मोहित बनाउँछ। अहिले दिउँसो जाँदा स्तूप प्रवेश गरेदेखि तारैतार देखिन्छ। बत्ती बाल्ने बहानामा स्तूप क्षेत्रमा गरिएको क्षतिबारे कमैलाई मात्रै थाहा छ।  

बौद्धनाथ स्तुपमा प्वाल पारेर किला ठोकेको विषय सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा त आए। तर हामी पुग्दा धेरै जना त्यस विषयमा अन्जान थिए। सेल्फी लिन मस्त थिए, मानौं त्यहाँ केही भएकै छैन। 

***

आरोप : 'विदेशी धर्मगुरुको सांस्कृतिक अतिक्रमण'

स्तुप परिसरमा बत्ती बाल्ने निहुँमा ड्रिल गरी किला ठोकिएको कारण स्तूपमा क्षति पुगेको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले बताए। 

भने, 'झिलिमिलि बत्ती बाल्ने भन्दै स्तूप क्षेत्रमा नै प्वाल पारियो। किलाहरु ठोकेर स्तूप क्षेत्रमा क्षति गरियो।'

राजकुमारले ड्रिलिङका कारण स्तुपको मेरुदण्ड (सोक्सिङ)मा बढी क्षति पुगेको बताए। उनका अनुसार मेरुदण्डमा अग्राखको काठ हुन्छ। त्यसको चारै दिशामा बुद्धमन्त्र लेखिनुका साथै पञ्च बुद्धको प्रतिमा राखिएको हुन्छ। 

'ड्रिलिङका कारण मेरुदण्ड मै क्षति पुगेको छ। यो सामान्य विषय होइन। विदेशबाट आएका धर्मगुरुले सांस्कृतिक अतिक्रमण गर्न खोजेका हुन्,' राजकुमारले भने।  
 
श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीको नेतृत्व गरिरहेका चिनियाँ लामा (भूपतिबज्र लामा ) को अगुवाइमा स्तूपको संरचनामा क्षति पुगेको राजकुमारको भनाइ छ। बत्ती बाल्न दिएर त्यहाँबाट आयआर्जन गर्ने हेतुले गुठीले बौद्धलाई नै कुरुप बनाएर झिलिमिली बनाउन खोजेको उनको आरोप छ। 

उनका अनुसार यस्तो पहिलो पटक भएको भने होइन। उनी अध्यक्ष बन्नुभन्दा केही वर्षअघि पनि बौद्धनाथमा किला ठोक्ने कार्य नभएको होइन। त्यस बेला पनि समिति र गुठीबीच विवाद भएको थियो। तर, सहमतिमा त्यस विषयलाई टुंग्याउने भन्दै त्यसबेला यो विषय धेरै चर्चामा आएन। सहमतिको प्रयास धेरै भए। 

गुठी र समितिबीच विवाद अदालतसम्म पुग्यो। 

***

'राम्रो बनाउन खोज्दा आरोप, यस्तै रैछ नेपाल'

श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीको अगुवाइमा बिजुली राख्ने काम भएको भनेपछि हामी गुठीका प्रमुख उत्तरधर्म गुरु रिम्पोछे चिनियाँ लामालाई भेट्न बौद्ध पिपलबोटस्थित गुम्बा पुग्यौं। 

कडा सुरक्षामा रहेका चिनियाँ लामाले स्तुपमा बत्ती हालेको र किला ठोकेको स्वीकारे। तर, गुठीले स्तुपमा गरेको कार्यले त्यहाँ कुनै क्षति नपुगेको दावी गरे। 

धेरैजसो समय देश बाहिर रहने चिनियाँ लामा बौद्ध क्षेत्र मात्रै नभई पुरै देशमा विकास गर्न नेपाल फर्केको बताउँछन्। केही महिनाअघि उनकै अगुवाइमा बौद्ध सडकमा रोडा बिछ्याउने काम समेत भयो। 

आफू प्रमुख हुनुभन्दा अघि नै स्तूपमा बिजुली बत्ती राख्ने काम भएको र किला ठोकिएको चिनियाँ लामाले दाबी गरे। उनले भने 'पहिला किलारहेको स्थानमा नै किला ठोकिएको हो। त्यसबेला कसैको ध्यान गएन। बौद्ध क्षेत्रलाई राम्रो बनाउन खोज्दा केही व्यक्तिहरुबाट अवरोध भइरहेको छ। यस्तै रहेछ नेपाल।'

पहिला नाङ्गो तार भएकोलाई विस्थापित गर्दै आधुनिक एलइडी बल्ब प्रयोग गरेको उनको तर्क छ। बौद्धनाथलाई पर्यटकीय र धार्मिक स्थलका रुपमा परिचित गराउने काम गरिरहेको बताउने उनी बिजुली बत्तीबाट स्तूपलाई सिंगार्ने काम गरिरहेको जिकिर गर्छन्। 

उनले स्तूपमा ड्रिलिङ भने नगरेको दाबी गरे। हथौडाले ठोक्दा स्तूप क्षेत्रमा हानी हुने भनेपछि त्यसलाई रोक्न क्लिपको सहायताले बिजुलीका तार अड्काउने काम गरेको उनले बताए। 

पुरातत्व विभागमा स्वीकृति नलिई गुठीले स्तूपमा नयाँ संरचना राखेको बारे चिनियाँ लामा भन्छन्,  'पहिलादेखि किला गाडिएको स्थानमा नै गाडिएको हो। यसमा विवाद नै छैन। पुरातत्वको स्वीकृति केही नयाँ गर्न लिनुपर्ने हो। विकास समितिले समेत त्यहाँ किला ठोकेको छ। आरोप गुठीमाथि मात्रै लगाउनु उचित होइन।' 

बौद्ध सबैको भन्दै त्यसमा क्षति पुर्‍याउन गुठी र समितिले नसक्ने उनले बताए।

तर,  बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले भने समितिले स्तूपमा किला कहिल्यै नठोकेको दाबी गरे। भने 'पहिलापहिला फूलहरु झुण्डयाउन किला ठोकिएको थियो भनिन्छ। तर पछि हामीले त्यस्ता कार्यहरुलाई निरुत्साहित गर्दै किला निकाल्ने कार्य गरेका थियौं।'

यता चिनियाँ गुरुको आरोप छ - कोषका पदाधिकारीले नै पहिलादेखि राखिएका तारहरु निकालेर फाले। त्यस क्रममा किलाहरु उक्लियो। लाखौंको नोक्सानी भयो।  

'उनीहरुले नै तार फालेकोले फेरि किला ठोक्नुपर्ने अवस्था आएको हो। प्रश्न त उनीहरुलाई सोध्नु पर्ने हो। बौद्ध क्षेत्रको विकासमा ध्यान दिँदा काम गर्न नदिने उहाँहरु नै हुन्।' 

उनले आफूहरु झगडा नगर्ने भन्दै कानुनी रुपमा यसको समाधान गर्ने बताए। 

***

समिति र गुठीको विवाद

त्यहाँ यस्तो हुनुपछाडि बौद्ध क्षेत्र विकास समिति र श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीबीचको असमझदारी पनि एक कारणका रुपमा देखिएको छ। 
बौद्धनाथ परिसरको स्वामित्व गुठीको अधिनमा रहेको दाबी गर्दै चिनियाँ लामा भन्छन्, 'उच्च अदालतले हाम्रो पक्षमा फैसला सुनाएको छ। कोषको यहाँ स्वामित्व नै छैन। हाम्रो पुर्खाहरुले त्यसको संरक्षण गर्दै आएका हुन्। बौद्ध क्षेत्रको व्यवस्थापन हाम्रो जिम्मेवारी हो।'

तर काठमाडौं वडा नम्बर ६ का वडा अध्यक्ष दीपेन्द्र लामा चिनियाँ लामाको उक्त भनाइ गलत रहेको तर्क गर्छन्। 



'अदालतले गुठीले बौद्ध क्षेत्र भित्र धार्मिक र सांस्कृतिक कार्य गर्न पाउँछ भनेर फैसला गरेको हो। बौद्धमा पुजा गर्ने उहाँहरुले नै हो। तर, यसको अर्थ विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ परिसर गुठीको हो भन्न मिल्दैन। यो त विश्वकै सम्पत्ति हो। हाम्रो गौरव हो।' 

अदालतको फैसलालाई अपव्याख्या गर्दै गुठीले मनोमानी ढंगले कार्य गरेको बताउँदै वडा अध्यक्ष लामाले भने 'गुठीले झिलिमिली बत्ती बाल्ने नाममा ड्रिलिङ गरी किला ठोक्ने कार्य स्वीकार्न सकिँदैन।' 

पहिला पनि किला ठोकिएको तर पछि ती किलाहरु हटाइसकेको अवस्थामा गुठीले पहिलादेखि नै ठोकिएको नजिर  स्थापित गराउन खोजेको उनले तर्क गरे। 

वडाले सहमतिमा बौद्ध परिसर सुन्दर र पर्यटकमैत्री बनाउन खोजेको भन्दै उनले भने,' हामीले उहाँहरुलाई बत्ती हटाउन आग्रह गरेका छौं। सहमतिबाट यस विषयको टुंगो लगाउँ भनेका छौं। कानुनी राज्य भन्दा माथि कोही हुदैँन। उहाँले मान्नु भएन भने हामी कारवाही प्रक्रिया अघि बढाउन बाध्य हुनेछौं।' 

किला नठोकी बत्ति हाल्दा कसैलाई समस्या नहुने उनले बताए। चिनियाँ लामाले पनि यस विषयमा सोच्दै गरेको बताए।

***
 
केही महिना अघि बुद्ध जयन्तीको अवसरमा पनि बौद्ध स्तूपअघि डिजिटल बोर्ड राख्दा विवाद भएको थियो। समितिको विरोधपछि उक्त बोर्ड हटाइयो। यस्तै स्तूप क्षेत्रमा राखिएको जेनेरेटरको विषयमा पनि विवाद उत्पन्न भएपछि त्यो पनि हटाइयो।

गुठी प्रमुख लामा भन्छन्,' एक महिनाको पुजाका लागि राखिएको बोर्ड तीन दिनमै हटाए। बौद्ध स्तूप नै छेकियो भनेर विरोध गरे। पहिला उहाँहरुले नै स्वीकृति दिनुभएको थियो। धर्ममा राजनीति गर्नु भएन नि।'

किला ठोकेको निहुँमा 'गुठीको नाम बदनाम' गराउने प्रपञ्ज भएको चिनियाँ लामाको दाबी छ। स्तूप परिसरमा रहेको बत्ती बेच्न टहरा र कंक्रिट प्रयोग गरी स्तुपको पुन:निर्माण गरेको विषयमा कसैको ध्यान नगएको उनको तर्क छ। 

टहराका कारण धेरै आगलागीका घटना भएको भन्दै त्यसबाट बौद्ध क्षेत्र विकास समितिले आर्थिक आर्जन गर्ने गरेको उनले आरोप लगाए।

तर, समितिका अध्यक्ष राजकुमार लामाले भने आरोप अस्वीकार गरे। भने 'त्यो हाम्रो अधिनमा नै छैन। केही नपाएपछि प्रोपागान्डाका लागि यस्तो तर्क गरेका होलान्।'

राजकुमारका अनुसार स्तूप परिसरमा रहेको सो टहरा स्थानीय साठ्ठीघरेहरुको गुठीबाट संचालन हुन्छ। उनीहरुले धेरैसमयदेखि त्यहाँ दियो/बत्ती बेच्दै आएका छन्। 

राजकुमार चिनियाँ लामा प्रमुख रहेको गुठीले अजिमा स्थान र गुठी भवनको छतमा दियो/ बत्ती बिक्री गर्दै आएको बताउँछन्। गुठी संस्थान अन्तर्गत रहेको भनिएपनि गुठीले दियो बत्ती बेचेर आएको रकम सरकारी खातामा नजाने उनी बताउँछन्। घ्याङ गुठीले आफ्नो ढंगले मात्रै बौद्धनाथ परिसरमा काम गर्न थालेको र पुरातात्विक महत्वलाई ध्वस्त बनाउन खोजेको उनको आरोप छ। 

अत: प्राचीन सम्पदामा अतुलनीय क्षति पुर्‍याएको जिकिर गर्दै समितिले त्यस कार्यमा संलग्न सबैलाई कारवाहीका लागि पुरातत्व विभागमा निवेदन दिएको छ। 

उनले भने,' बौद्धनाथ महाचैत्य आफैमा इतिहासको साक्षी हो। ऐतिहासिक एवम मौलिक सम्पदालाई आधुनिक उपकरणले उज्यालो बनाउँदा त्यसको महत्व घट्ने काम गर्नु हुँदैन। त्यसमा साजसज्जा वा श्रृङ्गार गर्न कोसिस गर्नु भनेको त्यसको अस्तित्वमाथि आक्रमण गर्नु हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell