काठमाडौँ : उद्घाटन खेलमै विराटनगर वारियर्ससँग पराजित भएको ललितपुर प्याट्रिओट्सले त्यसपछि लगातार ६ खेल जित्दै एभरेष्ट प्रिमियर लिग (इपीएल) २०१८ को उपाधि जितेको छ।
शनिवार कीर्तिपुरस्थित टीयू मैदानमा भएको फाइनलमा गत वर्षको उपविजेता भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुर च्याम्पियन बनेको हो। पहिलो पटक च्याम्पियन बनेको ललितपुरले इपीएलको ट्रफी र नगद २५ लाख जितेको छ। यस्तै उपविजेता भैरहवाले नगद १० लाख पाएको छ।
फाइनलमा ललितपुरले दिएको १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १४१ रन मात्र बनाउन सक्यो।
त्यसअघि टस जितेर पहिले फिल्डिङ रोजेको भैरहवाले ललितपुरलाई १९.१ ओभरमा अलआउट गरेको थियो।
लगातार दोस्रो पटक फाइनल पुगेपनि भैरहवाको उपाधि जित्ने चाहना भने यो पटक पनि अधुरै रह्यो।
अन्तिम ओभरमा भैरहवालाई जितका लागि ६ बलमा १७ रन आवश्यक थियो। तर ललितपुरका योगेन्द्र सिंह कार्कीको उक्त ओभरमा भैरहवाले ३ विकेट गुमायो भने २ रन मात्र बनाउन सक्यो। त्यसओभरमा योगेन्द्रले १ विकेट लिए भने भैरहवाका दुई खेलाडी रनआउट भए।
कोल्सावालाको अर्धशतक
टस हारेपछि पहिले ब्याटिङ गरेको ललितपुरका लागि ओपनर जयकिसन कोल्सावाला र गौरव तोमारले गितलो सुरुवात दिलाएका थिए। यी दुईले पहिलो विकेटका लागि ५.१ ओभरमा ४१ रनको साझेदारी गरे।
तोमारले १९ बल खेल्दै ३ चौका र १ छक्का बनाएर डेसकाटेको बलमा रवी इन्दर सिंहको हातबाट क्याचआउट भए। त्यसपछि क्रिजमा आएका कप्तान ज्ञानेन्द्र मल्लले ७ बल खेल्दै १ छक्काको मद्दतमा १० रन बनाए। उनलाई भैरहवाका कप्तान शरदले कुशल मल्लबाट क्याचआउट गराए।
पवन सारफ ५ बनाएर रनआउट भएपछि ललितपुर १०.२ ओभरमा ७१-३ को अवस्थामा पुगेको थियो। एक छेउबाट इनिङ्स सम्हालिरहेका कोल्सावाला र सन्दिप जोराले चौथो विकेटका लागि ३९ रनको साझेदारी गरे। यी दुई खेलाडी क्रिजमा रहँदा ललितपुरले उच्च स्कोर बनाउने अपेक्षा थियो। तर १४औँ ओभरको चौथो बलमा जोरा आउट भएपछि ललितपुरले नियमित विकेट गुमाउन थाल्यो। जोराले ११ बल खेल्दै १ चौका र २ छक्काको मद्दतमा २४ रन बनाए।
सन्नी पटेललाई कृष्ण कार्कीले रवीइन्दरको हातबाट क्याचआउट गराए। फाइनलमा सातौँ नम्वरमा ब्याटिङ गरेका कुशल भुर्तेलले ७ बल खेल्दै दुई चौकाको मद्दतमा ११ रन बनाए।
भुर्तेलल र कोल्सावालाई कृष्ण कार्कीले एउटै ओभरमा आउट गरेपछि ललितपुरको इनिङ्समा ब्रेक लाग्यो। कृष्णले १८औँ ओभरको तेस्रो बलमा भुर्तेललाई आउट गरे भने त्यही ओभरको पाँचौ बलमा अर्धशतक बनाएका कोल्सावालाई पनि आउट गरे।
कोल्सावालाले कृष्ण कार्कीको बलमा बोल्डआउट हुनुअघि ५२ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ५७ रन बनाए। ललितपुरले १९औँ ओभरमा सोनु तामाङ र रसिद खानको विकेट गुमायो। भैरहवाका मोहम्मद नाभिदले सोनुलाई ३ रनमा बोल्डआउट गरे भने रसिदलाई शुन्यमै बोल्ड गरे।
अन्तिम ओभरमा राएन टेन डेसकाटेले योगेन्द्र सिंह कार्कीलाई शुन्यमै कट एण्ड बोल्ड गरेपछि ललितपुर १९.१ ओभरमा १५५ रनमा अलआउट भयो। भैरहवाका लागि कृष्ण कार्कीले २ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए। नाभिद र डेसकाटेले २-२ विकेट लिए।
प्रदिपको सुरुवात, ललितको ३ विकेट
प्रदिप ऐरी र राएन टेन डेसकाटेले पहिलो विकेटका लागि ४.१ ओभरमा ३३ रनको साझेदारी गर्दै गतिलो सुरुवात दिलाएका थिए। डेसकाटेले १० बलमा १ चौका प्रहार गर्दै १४ रन बनाए। उनलाई ललितपुरका ललित राजवंशीले आउट गरे।
भैहरवाका प्रदिपले २२ बल खेल्दै ४ चौकार १ छक्काको मद्दतमा सर्वाधिक ३४ रन बनाए। प्रदिपले राम्रो सुरुवात दिलाएपनि भैरहवाका अन्य ब्याट्सम्यानले खुलेर खेल्न सकेनन्। प्रतियोगिताकै एक मात्र शतक प्रहार गरेका रवी इन्दर सिंहले ३२ बल खेल्दै १ चौका र १ छक्काको मद्दतमा २९ रन बनाए।
आरिफ शेख १२, कप्तान शरद १४ र मोहम्मद नाभिद १० रन बनाएर आउट भए। ललितपुरका ललित राजवंशीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। पवन सराफले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए।
भैरहवालाई अन्तिम दुई ओभरमा जितका लागि २४ रन आवश्यक थियो भने ४ विकेट हातमा थियो। १९औँ ओभरमा रोहित पौडेल र कुशल मल्लले ९ रन जोडेपछि अन्तिम ओभरमा ६ बलमा १७ रन चाहियो। तर अन्तिम ओभरको पहिलो बलमै रोहित योगेन्द्र कार्कीको बलमा ज्ञानेन्द्र मल्लको हातबाट क्याचआउट भए।
रन बनाउने चक्कारमा लाग्दा भैरहवाका कुशल मल्ल र भुवन कार्की रनआउट भए। अन्तिम ओभरमा भैरहवाले २ रन मात्र जोड्न सक्यो।
ललितपुरका ललित राजवंशीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। पवन सराफ र योगेन्द्र सिंह्य कार्कीले २-२ विकेट लिए।
