माओवादी द्वन्द्व चर्किएको थियो। देशमा अस्थिर राजनीतिक अवस्था। असुरक्षा पनि उस्तै। धेरैजना मिलेर फिल्म सुटिङका लागि हिँड्न पनि गाह्रो थियो। कहाँ कतिखेर आक्रमणको खबर आउँथ्यो थाहा नहुने। कहिले हलमै बम पड्काइदिने। कहिले लोकेसनमा आएर सोधपुछ। समग्रमा फिल्म निर्माण कम थियो। कलाकारले लिने पारिश्रमिक ७० प्रतिशतले घट्यो।
देशको अवस्थाका कारण धेरैको करियरमा बाधा आयो।
रमेश उप्रेती त्योबेला चलेका अभिनेता थिए। एउटा फिल्मको पारिश्रमिक पाँच लाख चर्चा पनि थियो।
‘चर्चाले पनि मलाई आफ्नो रेट घटाएर काम गर्न दिएन। त्यसैले फिल्मबाट ब्रेक लिएँ’, उप्रेतीले पुराना दिन सम्झिए।
सिने क्षेत्रबाट टाढिएको केही वर्षमै (२००७) मा उनी अमेरिका हान्निए। विलासिताको जीवन बनाउने सोचले।
अमेरिकाले धेरै कुरा सिकायो
उनी ७ वर्ष अमेरिका बसे। पाएको जति सबै काम गरे। अमेरिकाले परिपक्व बनाएको बताउँछन्। भन्छन् ’धेरै कुरा सिक्न पाएँ। सङ्घर्ष कसरी गर्नुपर्छ। काम ठूलो सानो हुँदैन’, भने’, सानो ठूलो त सोचले बनाउने रहेछ।'
उनले त्यो समयमा फिल्म क्षेत्रलाई त्यति सम्झेनन्। तर उनलाई नेपालको याद आइरह्यो। भने 'आफ्नो देश,जन्मभूमि,परिवार घर कसलाई याद आउँदैन र? त्यसरी परदेशमा बस्न कसलाई रहर हुन्छ र?
इन्डस्ट्रीबाट टाढा रहे पनि उनको मनबाट भने इन्डस्ट्री टाढा रहेन। बिस्तारै राम्रा फिल्महरू बन्न थालेको खबर सुन्दा पनि उल्कै खुसी भए। केही वर्षपछि पुन: फिल्म क्षेत्रमा फर्कन रहर गरे। त्यसैका लागि २०१४ मा उनी नेपाल फर्किए।
कमब्याक
'ब्रासलेट' उनको कमब्याक फिल्म हो। तर,फिल्म चलेन। दैनिकी चलाउन अनेक परिस्थिति भोगेर आएका उनी निराश भएनन्। बरु अर्को फिल्म गर्न हौसिए। भने,'फिल्म नचलेर मलाई खासै फरक परेन। प्राय फिल्मको अवस्था नै त्यस्तै थियो।‘
नयाँ फिल्मको लागि भने हतार गरेनन्। राम्रो कथा खोजे,टिम जम्मा गरे। दुई वर्षपछि २०१७ मात्र अर्को फिल्म निर्माण गरे 'ऐश्वर्य'। जसमा उनी नै मुख्य अभिनेता रहे। फिल्म चलेको दाबी गर्छन् उनी। एक हिसाबले उनको कमब्याक सफल भयो।
तर उनी कम ब्याक सफल भयो भन्न रुचाउँदैनन्। ‘काम गर्ने भोक हो। दर्शकले 'ऐश्वर्य'रुचाइदिनु भयो। म निरन्तर काम गर्न चाहन्छु। वर्षमा १६ वटा फिल्म गर्थेँ। अब धेरै होइन,राम्रो फिल्म बनाएर खेल्छु। कुनै न कुनै हिसाबले दर्शक र इन्डस्ट्रीबीच रहिरहन चाहन्छु।'
अहिले बनेका फिल्महरुबारे उनी गम्भीर छन्।
'प्रविधिको विकास त भयो तर फिल्मको कथा भन्ने तरिका हिजै राम्रो थियो। गीत राम्रो हुन्थ्यो। हिजोको फिल्म आज हेर्दा पनि मज्जा आउँछ। आजको फिल्म भोलि हेर्दा खास केही हुन्न', थपे।
'ऐश्वर्य'नचले फिल्म नै नगर्ने सोचेका थिए उनले।'ऐश्वर्य'चल्यो। फिल्म मार्फत दर्शकले इन्डस्ट्रीमा स्वागत गरेको उनलाई भान भयो। 'ऐश्वर्य नचलेको भए मेरो कलायात्रामा पूर्णविराम लाग्न सक्थ्यो। स्वागत गरिदिनुभयो। जिम्मेवारी बोध भएको छ' उनले भने।
अहिले कस्तो छ इन्डस्ट्री?
नेपाली फिल्म क्षेत्रमा प्रविधिको प्रयोगलाई कतिले भिन्नै तरिकाले व्याख्या गर्छन्। तर उनलाई त्यो प्रविधिको फड्को मात्र लाग्छ।
भन्छन् 'प्रविधि समयले ल्याएको हो। हिजो पनि राम्रो फिल्म चल्थ्यो। आज पनि राम्रो फिल्म चल्छ। आज पनि नेपालीलाई हाँस्नुपर्छ, रुनुपर्छ, एक्सन चाहिन्छ, ड्रामा चाहिन्छ। घमण्ड नगरे हुन्छ प्रविधि कसैले ल्याएको होइन।'
उनी अभिनयमा हुँदा पेजर प्रयोगमा आउँथ्यो। मोबाइल थिएन। सम्झे 'पेजरमा मेसेज आउँथ्यो,म सुटिङस्थल पुग्थे। मैले मोबाइल लिँदा २५ हजार डिपोजिट गर्नुपर्थ्यो। अहिले समयले नै सबैको हातमा मोबाइल राखिदिएको छ।'
प्रविधिले निम्त्याएको सहजताको प्रसङ्ग जोडे।
नयाँ वर्षमा नयाँ फिल्म
उनको निर्माणमा नयाँ फिल्मको तयारीमा हुँदैछ। वैशाखदेखि छायाङ्कनलाई फ्लोरमा लिएर जाने योजनामा बनिसक्यो। अफर आएको फिल्मको विषयवस्तु हेरेरमात्र अभिनय गर्ने योजनामा छन्।
'अब मलाई चुनौती छ कस्तो फिल्म गर्ने? मन पर्ने विषयवस्तुको फिल्म गर्छु। पैसाले फिल्म बन्दैन,दिमागले बन्छ। म फिल्म गरेर पैसा कमाउन पनि आएको होइन। तर अब एक डेढ वर्षको अन्तरालमा आफैं फिल्म बनाउँछु, आफैं अभिनय गर्छु।
उनी निराश भएर अमेरिका पुगेका थिए। तर उत्साह लिएर फर्केका छन्। कहिल्यै नबिर्सने फिल्म बनाउने धोको छ उनको।
आज पनि नेपाललाई इन्डियाको एक प्रान्त भनेर बझ्ने धेरै विदेशी छन्। उनी आफ्नो फिल्ममार्फत त्यो भ्रम तोड्न चाहन्छन्। ऐश्वर्यको 'तिमी रोएको पल'बोलको गीतमा उनले नेपालको पहाड हिमाल देखाए। जुन दृश्यहरुको विदेशमा खुब तारिफ भयो। अब उनी अझै फिल्ममा नेपाल खिच्ने योजनामा छन्।
फिल्म त संयोग
सानैदेखि ‘क्युट’ उनलाई सबैले भन्थे- सिनेमाको हिरो बन्नुपर्छ। विद्यालय बिदा हुँदा जमलको नाचघरमा नाटक हेर्न आउँथे। पछि नाटक गर्न थाले। नृत्य सिके। 'कराते सिक्दै गर्दा त फिल्ममा उडेर गुण्डालाई हान्ने हिरोले जस्तै किक हान्न मन लाग्थ्यो। तर हाम्रो परिवारको कोही पनि यो क्षेत्रमा थिएनन्,फिल्ममा काम गर्ने आस मर्यो।'
तर,उनको निराशा फरक साबित भयो। नाटक गर्दागर्दै निर्देशक नारायण पुरीसँग चिनजान भयो। उनले नै फिल्ममा अवसर दिए। 'रगत' फिल्ममा भिलेनको भूमिकामा डेब्यू गरे। फिल्म हिट भयो।
'म ५३ सालतिर 'रगत'बाट नेपाली फिल्म क्षेत्रमा आएको हुँ। फिल्म हिट भयो, त्यसपछि यो मायाले लौन सतायो, करोडपति लगायत फिल्ममा अभिनय गरेँ।‘
उनले एक वर्षमा तीनवटासम्म फिल्म खेले। सबै हिट भए।
हिट फिल्म गर्दा दिनहरू उनले बिर्सेका छैनन्। 'म भिलेन खेल्दा पनि हिट थिएँ। मेरो फिल्म १०० दिन चल्थ्यो। 'करोडपति' १०० दिन चल्यो। 'यो मायाले लौन सतायो' बबाल नै चल्यो। 'पराई घर' फिल्ममा हिरोको भूमिका थियो,त्यो पनि चल्यो। 'धर्मसंकट','घर संसार' सबै चले उनले सम्झे।
हिट फिल्महरू दिने उनी आफूलाई अहिले पनि संघर्षरत नै ठान्छन्। 'हर मान्छेको जीवनमा ‘अप्स एण्ड डाउन’ हुन्छ। त्यसैले त भन्ने गर्छौँ, सफलतामा नमात्तिनु,असफलमा नआत्तिनु। अहिलेको अवस्थामा म आत्तेको छैन।‘ उनी अहिले आफ्नो सङ्घर्षको फेज चलिरहेको बताउँछन्।