
काठमाडौँः विवादास्पद पृष्ठभूमि भएका व्यक्तिहरुलाई राजनीतिक नियुक्ति दिइएको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भित्र असन्तुष्टि चुलिएको छ। विवादित छवि भएकाहरूलाई राजनीतिक नियुक्ति दिइएको र मानपदवीले सम्मानित गरिएको भन्दै विरोध भएको हो।
जारी स्थायी कमिटीको बैठकमा समेत विवादित पृष्ठभूमि भएका दिगम्वर झालाई सरकारले पुनः दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको विरोधमा नेताहरूले चर्को आलोचना गरेका थिए।
स्थायी कमिटीको बैठकमा झाको नियुक्तिको विरोध भइरहँदा ने क पाका केन्द्रीय सदस्यहरूले पनि उनको नियुक्ति खारेजीको माग गरेका छन्।
ने क पाका ४३ केन्द्रीय सदस्यहरूले भ्रष्ट र विवादित छवि भएकाहरूको राजनीतिक नियुक्ति र मानपदवी खारेज गर्न माग गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका हुन्।
उनीहरूले पार्टी कार्यालयका कृष्णगोपाल श्रेष्ठ मार्फत अध्यक्षहरूलाई ज्ञापनपत्र बुझाएका हुन्।
‘यो सरकारले भ्रष्टाचारबारे शून्य सहनशीलताको नीति सुरुमै घोषणा गरेको हो । यसै गरी सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड के.पी.शर्मा ओलीले म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भन्नुभएको कुरा पनि आम जनमानसमा सञ्चारित भएकै छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘सरकारको भ्रष्टाचार विरोधी बचनवद्धताले तमाम कार्यकर्ता र नेपाली न्यायप्रेमी जनसमुदायमा आशा र भरोसा सञ्चार गरेकै हो। यसो हुँदाहुँदै पनि दिगम्वर झाजस्ता भ्रष्ट र विवादित छविका मानिसहरूले राजनीतिक नियुक्ति पाउन सफल भए। यसै गरी सरकारको सिफारिसमा भ्रष्ट र विवादित छवि भएका मानिसहरू सम्माननीय राष्ट्रपति महोदयबाट विभूषित भए।’
सरकारको यस्ता कामले सरकारकै लोकप्रियतामा गम्भीर धक्का दिने भन्दै ज्ञापनपत्रमा अगाडि भनिएको छ, ‘यसतर्फ पार्टी शीर्ष नेतृत्वको ध्यान जाओस् र यस कुरालाई जारी स्थायी कमिटीको बैठकमा छलफलको विषय बनाइयोस्। दिगम्वर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकाहरुलाई यथाशीघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीको तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस् भन्नेसमेत विनम्र अनुरोध गर्न चाहन्छौँ।’
जारी स्थायी कमिटीको बैठकमा नेताहरू योगेश भट्टराई, घनश्याम भुसाललगायतका नेताहरूले झाको नियुक्ति खारेज गर्न माग गरेका थिए।
ज्ञापनपत्रमा कृष्ण के.सी. ठाकुर गैरे, माधव अर्याल, भास्कर काफ्ले, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा र डा.विजयकुमार पौडेलले हस्ताक्षर गरेका छन् भने अन्यले समर्थन रहेको जानकारी गराएका छन्।
यी हुन दिगम्बर झाको नियुक्ति खारेजीको माग गर्ने केन्द्रीय सदस्य
ज्ञापनपत्रमा समर्थन जनाउने केन्द्रीय सदस्य
१.रामचन्द्र झा
२.विजय गुरुङ
३.यदुवंश झा
४.सत्रुघन महतो
५.नीरज आचार्य
६.धर्मराज निरौला
७.विश्वनाथ प्याकुरेल
८.प्रेमलकुमार खनाल
९.सरला यादव
१०.सिता गिरी ओली
११.रामकुमार ज्ञवाली
१२.रविन कोइराला
१३.पी.एल.श्रेष्ठ
१४.रविन्द्र बैठा
१५.दिलु पन्त
१६.सुधीर शाह
१७.योगनारायण यादव
१८.मोहम्मद महफुज अन्सारी
१९.विरोध खतिवडा
२०.जयन्ती राई
२१.मेटमणि चौधरी
२२.गणेश पहाडी
२३.चूडामणि जंगली
२४.सुरेन्द्र मानन्धर
२५.श्री प्रसाद शाह
२६.सुधीर शाह
२७.शेरबहादुर तामाङ
२८.तैयब हुसेन
२९.पशुपति चौलागाईं
३०.तुलबहादुर गुरुङ
३१. घनेन्द्र बस्नेत
३२.कृष्ण खनाल
३३.महेश्वर पाठक
३४.गोविन्दविक्रम शाह
३५.श्रीमाया थकाली
३६.डा.वंशीधर मिश्र
हस्ताक्षर गर्ने र ज्ञापनपत्र बुझाउन केन्द्रीय कार्यालप पुग्ने केन्द्रीय सदस्यहरू
१. कृष्ण के.सी.
२. ठाकुर गैरे
३.माधव अर्याल
४. भास्कर काफ्ले
५.रामकुमारी झाँक्री
६.जगन्नाथ खतिवडा
७.डा.विजयकुमार पौडेल