PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जनकपुर - जयनगर गुड्ने रेल भारतसँग किन्दै सरकार, अर्ब रुपैयाँ पर्ने पुरानो रेल यस्तो हुनेछ



दिनेश खड्का

जनकपुर - जयनगर गुड्ने रेल भारतसँग किन्दै सरकार, अर्ब रुपैयाँ पर्ने पुरानो रेल यस्तो हुनेछ
फोटो: .thehindu.com

काठमाडौं: सरकारले भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्मका सञ्चालनका लागि रेल किन्ने प्रक्रिया थालेको छ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल किन्ने निर्णय भएसँगै प्रक्रिया अघि बढाएको जानकारी दिए।उनका अनुसार ६ महिनाभित्रमा नेपालको आफ्नै झण्डा फहराउने रेल कुद्ने छ। नेपाल- भारत क्रस बोर्डर रेल सेवा संचालनसम्वन्धी परियोजना स्टेरिङ कमिटी(पिएससी)को बैठकमा भारतीय रेल 'वेट लिज'मा लिनेदिनेमा दुवै पक्ष सकारात्मक भएका थिए। तर भाडामा लिनुभन्दा खरिद गरेरै संचालन गर्दा फाइदा हुने भएपछि खरिद गर्न लागिएको रेल विभागले जनाएको छ।


भारतसँग रेल किन्न विभागले भारतीय रेल्वे संस्थानहरुसँग परामर्श गरिरहेको छ। केही महिनादेखि आफ्नै रेल किन्न भारतीय कम्पनीहरुसँग छलफल भैरहेको महानिर्देशक मिश्रले जानकारी दिए। उनका अनुसार ब्रोड गेजमा संचालन हुने डिजेल मल्टी इलेक्ट्रोफायरिङ (डिमो) मोडलको रेल किनेर संचालन गर्न लागिएको छ।

दुईवटा ट्रेन सेट किन्ने योजना बनाएको मिश्रले बताए। एउटा ट्रेन सेटमा ५ वटा डिब्बा (बोगी) हुन्छ। जसमा एउटा मूख्य इन्जिन र अर्को सहायक इन्जिन हुन्छ। एउटा ट्रेन सेटमा १३ सय यात्रु क्षमता हुन्छ। रेल विभागकाअनुसार डिमो रेल दुवैतिरबाट संचालन गर्न सकिन्छ। यसलाई नघुमाइ संचालन गर्न सकिने र छोटो दुरीमा यो मोडलको रेल संचालन गर्न उपयुक्त हुने निष्कर्ष निकालिएको छ।

एउटा ट्रेन सेटको करिव ५० करोड रुपैयाँ पर्ने विभागले जनाएको छ। सरकारले चालु बर्षका लागि रेल खरिद गर्न ५० करोड रुपैयाँ छुट्याएको छ। सोही रकमबाट रेल खरिद प्रक्रिया अघि बढेको हो। सरकारसँग विभागले थप ५० करोड रुपैया समेत मागेको र यसमा अर्थ मन्त्रालय सकारात्मक रहेको विभागको भनाई छ। 'रेल खरिदका लागि प्रकृया अघि बढाउन अर्थबाट ग्रीन सिंग्नल पाएका छौं,' मिश्रले भने।

गत असोज २८ गते बसेको मन्त्रीपरिषदको बैठकले जयनगर-जनकपुर रेलमार्गमा आफ्नै रेल संचालन गर्ने निर्णय गरेको थियो।आफ्नै रेल संचालनका लागि कानुनी तथा संरचनागत तयारीको काम गर्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको थियो। रेल संचालनका लागि केही समयका लागि भारतीय प्राविधिक ल्याइनेछ।

नेपालमा रेल संचालन गर्नका लागि प्राविधिकहरु छैनन्। नेपालका इन्जिनियरहरु सक्षम भएपछि आफ्नै प्राविधिकले रेल संचालन गर्नेछन्। रेल किनेर भारतको जयनगरदेखि जनकपुरको कुर्था करिव ३९ किलोमिटरमा रेल संचालन गर्न लागिएको हो। यो खण्डमा लिक विछ्याएर परीक्षणसमेत भैसकेको छ।

भारतीय अनुदान सहयोगमा जयनगरदेखि बर्दिवास ६९ किलोमिटर रेलमार्ग निर्माण गर्न लागिएको छ। मुआब्जा विवादका कारण रोकिए पनि छिट्टै काम सुरु गर्ने विभागले जनाएको छ।बर्दिबास देखि निजगढसम्म सरकारले आफ्नै लगानीमा रेलमार्ग निर्माणको काम धमाधम गरिरहेको छ। जयनगरदेखि बर्दिवाससम्म आउने रेललाई निजगढसम्म विस्तार गर्न लागिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell