PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

विवादास्पद चर्चको एसिया प्यासिफिक समिटबारे माधव नेपालको स्पष्टीकरणः गल्ती भएकै छैन, सुनपानी किन छर्कने?



विधुर ढकाल

विवादास्पद चर्चको एसिया प्यासिफिक समिटबारे माधव नेपालको स्पष्टीकरणः गल्ती भएकै छैन, सुनपानी किन छर्कने?

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(ने क पा)का वरिष्ठ नेता माधवकुमार नेपालले एसिया प्यासिफिक समिट आयोजना गरेर कुनै गल्ती नभएको दाबी गरेका छन्। समिटबारे ने क पाको जारी स्थायी कमिटीको बैठकमा विरोध भएपछि नेपालले यस्तो स्पष्टीकरण दिएका हुन्।

उनले युनिफिकेसन पिस फेडेरेसन नराम्रो संस्था नभएकोसमेत दाबी गरे। नेपालले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र आफू दुई जनाको सल्लाहमा कार्यक्रम भएकोसमेत बताएको ने क पाका स्थायी कमिटीका एक सदस्यले पहिलोपोस्टलाई जानकारी दिए। ‘कार्यक्रममा सहभागी भएर कुनै गल्ती भएको छैन। यसको प्रभाव गलत पर्न गएछ’,  नेता नेपालको भनाईलाई उदृत गर्दै ती नेताले भने, ‘यो कुनै धर्म विशेषको होइन। यहाँ सबै धर्मका मानिस सहभागी थिए भन्दै माधव कामरेडले स्पष्टीकरण दिनुभयो।’

उनले बैठकमा उठेजस्तो नेपालको इज्जत नगएको र सुनपानी छर्कनुपर्ने अवस्था नरहेको स्पस्ट पारेको ती नेताले बताए। बैठकमा नेता सुरेन्द्र पाण्डेलले समिटमा नेपालको सहभागितालाई लिएर नेपाल बदनाम भएको भन्दै पहिला पहिला बिटुलो हुँदा सुनपानी छर्कने प्रचलन रहेको उदाहरण दिँदै बदनामी मेट्न सुनपानी छर्नुपर्ने टिप्पणी गरेका थिए।

यो पनि पढ्नुहोस

ने क पाभित्र बबन्डर : प्रधानमन्त्री र मुख्यमन्त्रीलाई एउटामात्रै जिम्मेवारी दिन माग, 'चर्चको कार्यक्रममा लागेको दाग सुनपानीले चोख्याउँ!'

नेता नेपालले यो संस्थाको कार्यक्रममा आफू यसअघि पनि ६ पटक सहभागी भएको भन्दै आफू मात्र नभई यसअघिका प्रधानमन्त्रीहरु पनि सहभागी हुँदै आएको उनले स्पष्ट पारे। नेता नेपालले कृष्णप्रसाद भट्टराईको पालादेखि नै यो संस्थाको कार्यक्रम नेपालमा हुँदै आएको दाबी गरे।

उनले युपिएका तर्फबाट नभई आफूले एसियाली राजनीतिक पार्टीहरुको सम्मेलन आइक्यापको तर्फबाट अध्यक्षता गरेको उल्लेख गरेका थिए।

जारी बैठकमा नेताहरु नारायणकाजी श्रेष्ठ, भीम रावल, योगेश भट्टराई, घनश्याम भुषाल, रघुजी पन्त, अग्नि सापकोटालगायतका नेताहरूले सम्मेलनमा नेपालको सहभागितालाई लिएर प्रश्न उठाएका थिए।

बैठकमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सन् २०१२ को प्रसंग उठाउँदै आफु परराष्ट्रमन्त्री भएका बेला एकनाथ ढकाललको यस्तै कार्यक्रम गर्ने प्रस्ताव अस्वीकार गरेको बताएका थिए। उनले कार्यक्रमको विरोध हुँदाहुँदै पनि विरोधको सुनुवाई नभएको बताए।

यसअघि डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा तत्कालिन सहकारीमन्त्रीसमेत रहेका एकनाथ ढकालले कार्यक्रम आयोजना गर्ने प्रस्ताव क्याबिनेटमा पुर्‍याएका थिए। तत्कालिन परराष्ट्र मन्त्रीसमेत रहेका श्रेष्ठले सो प्रस्तावको विरोध गरेपछि सम्मेलन आयोजनाको प्रस्ताव अस्वीकृत भएको थियो। ढकालले आफ्नो पार्टी नेपाल परिवार दललाई निर्वाचनअघि तत्कालीन नेकपा एमालेमा विलय गराएका थिए।

डा बाबुराम भट्टराईको क्याविनेटले अस्वीकृत गरेको एसिया प्यासिफिक समिटलाई गत महिना ने क पाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको दुई तिहाईको कम्युनिस्ट सरकारले सफल पारेको थियो।

कम्युनिस्ट विरोधी संस्थाको कार्यक्रमलाई कम्युनिस्ट सरकारले नै सफल पारेको भन्दै चर्को आलोचना हुँदै आएको छ।

यो पनि पढ्नुहोस

कम्युनिस्ट विरोधी अभियानमा 'कम्युनिस्ट' सरकारकै सहर्ष साथ'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell