PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

हामी बाँकी सबै खेल जितेर लिगमा नयाँ कीर्तिमान बनाउन चाहन्छौँ : मनाङका प्रशिक्षक श्रेष्ठ



पहिलोपोस्ट

हामी बाँकी सबै खेल जितेर लिगमा नयाँ कीर्तिमान बनाउन चाहन्छौँ : मनाङका प्रशिक्षक श्रेष्ठ

काठमाडौँ : मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा यस सिजन लगातार दश खेल जितिसकेको छ। १४ क्लब सहभागि लिगमा मनाङ अपराजित रहँदै शतप्रतिशत जित हात पार्ने एक्लो टोली हो।

मनाङले अहिलेसम्म एक खेल पनि बराबरी खेलेको छैन। अन्य क्लबले मनाङलाई हराउन पनि सकेको छैन। अहिलेसम्म १३ मध्ये १० चरणका खेल समाप्त भएका छन्। अब तीन चरणको खेल बाँकी छ।

आइतवार एन्फा कम्प्लेक्स मैदानमा विभागीय टोली नेपाल पुलिसलाई पराजित गरेपछि मनाङले लगातार १० खेल जित्दै ३० अंक जोडेको छ। दोस्रो स्थानको संकटाभन्दा मनाङ ५ अंकले अघि छ।

अबको खेल मनाङले संकटासँग नै खेल्नेछ र उक्त खेल जितेमा २ खेल अगावै मनाङ लिग च्याम्पियन हुनेछ।

पुलिसलाई हराएपछि मनाङका प्रशिक्षक सुमन श्रेष्ठले मनाङको लक्ष्य उपाधि मात्र नभएर नयाँ कीर्तिमान समेत भएको बताए। 'पुलिस विरुद्ध जितले हामी उपाधिका लागि अलि सेभ भएका छौँ।' उनले भने।

'हाम्रो लक्ष्य टाइटल जित्ने भन्दा पनि अब नयाँ कीर्तिमान बनाउने हो। यस सिजन हामी १३ खेल नै जित्ने कुनै खेल बराबरी नगर्ने, नहार्ने।' मनाङलाई चुनौती दिने तीन ठूला क्लब विरुद्ध जित हात पारेपछि श्रेष्ठले भने। मनाङले तेस्रो चरणमै थ्री स्टार र आठौँ चरणमा त्रिभुवन आर्मीलाई पराजित गरिसकेको छ।

'अहिले क्लबका सबै खेलाडी, प्रशिक्षक र अफिसिलयहरुको सोच नयाँ कीर्तिमान बनाउनेतर्फ छ। त्यसका लागि सबैले मिहेनत गरिरहेका छन्।'

श्रेष्ठ बाँकी तीन खेल जित्दै कीर्तिमान बनाउन मनाङ सक्षम रहेको बताए। 'हामी मनाङको खेलाडीहरुमाथि पूर्ण रुपमा विश्वास गर्छौँ। खेलाडीले गर्न सक्छ भन्ने छ।' उनले भने।

उनले यस अघि मनाङपछि रहेका क्लबहरुले बराबरी खेल्दिनाले पनि क्लबको उपाधि यात्रामा सहज भएको बताए। मनाङले अब संकटासँगै हिमालयन शेर्पा र फ्रेण्ड्ससँग खेल्न बाँकी छ।

बाँकी तीन खेल जित्दै कीर्तिमान बनाउने रणनीति कस्तो छ भन्ने प्रश्नमा उनले भने, 'हामी त्यसको लागि अबको खेलका केही न केही परिवर्तन गर्छौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell