प्रिमियर लिगअन्तर्गत आइतवार भएको एक मात्र खेलमा टोटनहमले एभरटनलाई ६-२ ले पराजित गरेको छ।
एक गोलले पछि परेको स्थितीमा टोटनहमले पुनरागमन गर्दै आधा दर्जन गोल गरेको हो। लण्डन क्लबका लागि ह्यारी केन र सन हेउन मिनले दुई-दुई तथा डेले अली र क्रिस्टियन एरिक्सनले समान एक गोल गरे।
खेलको २१औँ मिनेटमै थियो वाल्कोटले गोल गरेपछि एभरटनले घरेलु मैदानमा पहिले अग्रता लिएको थियो। तर त्यो अग्रता लामो समय टिकेन। २७औँ मिनेटमा टोटनहमका सन हेउन मिनले बराबरी गोल पर्काए।
३५औँ मिनेटमा डेली अली र ४२औँ मिनेटमा केनले गोल गरेपछि टोटनहमले पहिलो हाफमै ३-१ को अग्रता बनायो। दोस्रो हाफको सुरुमै एरिक्सनले टोटनहमका लागि चौथो गोल गरे। ५१औँ मिनेटमा एभरटनका गिल्ली सिगुरसनले गोल गर्दै गोलअन्तर कम पार्ने प्रयास गरे। तर ६१औँ मिनेटमा हेन र ७४औँ मिनेंटमा केनले गोल थपेपछि टोटनहम फराकिलो अन्तरले विजयी भयो।
यस सिजन १४औँ जितपछि टोटनहमले १८ खेलबाट ४२ अंक जोडेको छ भने दोस्रो स्थानको सिटीसँग अंकदूरी २ मा झारेको छ। यस्तै टोटनहमले अर्को लण्डन क्लब चेल्सीमाथि ५ अंकको अग्रता बनाएको छ। यस सिजन १८ खेलसम्म अपराजित रहँदै ४८ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ।