
सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर दिनप्रतिदिन अस्तव्यस्त बन्दै गएको छ। राजधानीस्थित नगर कार्यपालिकाले सभ्य र सुन्दर नगर बनाउने योजना अघि सारिरहेका बेला राजधानी थप अव्यवस्थित बन्दै गएको हो।
तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय सदरमुकाम सुर्खेतको वीरेन्द्रनगर प्रदेश राजधानी भएपछि स्वरूप परिवर्तन हुने तरखरमा छ।
सङ्घीय संरचना अनुसार प्रदेशको राजधानी तोकिएसँगै कर्णालीको उपल्लो जिल्लाका नागरिकहरुको आकर्षण बढेको छ। कर्मचारी, नेता प्रदेश सरकारका पदाधिकारी समेतको आकर्षण बन्न पुगेको छ।
वीरेन्द्रनगरको प्रवेशद्वार सुब्बाकुनादेखि पश्चिम बांगेसिमलसम्म जग्गा प्लटिङ, खाली ठाउँमा अतिक्रमण र राजमार्ग छेउछाउमा अव्यवस्थित रूपमा घर निर्माण हुन थालेका छन्।
यसरी बढ्दैछ अतिक्रमण
वि.सं. २०२९ सालमा राजा वीरेन्द्रको पालामा गुरुयोजना बनाउने काम भयो। तर, अहिले यो गुरुयोजना विपरीत जग्गा अतिक्रमण, प्लटिङको काम भइरहेको छ। यस्तो अव्यवस्थित र कुरूप बनाउने काम जान्ने बुझ्ने व्यक्तिबाटै भइरहेको जानकारहरू बताउँछन्।
‘अव्यवस्थित र अस्तव्यस्त बन्न थालेपछि राजा वीरेन्द्रबाट व्यवस्थित गर्न र गुरुयोजना बनाएर बस्ती बसाल्न हुकुम भएको थियो’ मध्यपश्चिमाञ्ल विश्वविद्यालयका प्राध्यापक युवराज शर्माले भने, ‘अहिले गुरुयोजनाभन्दा बाहिर गएर काम भइरहेको छ।’
सरकारी कार्यालयका लागि मात्रै २ सय बिघाभन्दा बढी जमिन छुट्ट्याएको शर्माले बताए। तर, त्सस्ता जग्गाहरू अतिक्रमण भइरहेको उहाँको भनाई छ।
अहिले वीरेन्द्रनगरमा धमाधम जग्गाको कारोबार समेत बढेको छ। खेतीयोग्य जमिन समेत बाँकी नराखेर प्लटिङको काम बढिरहेको स्थानीयको गुनासो छ। २०२९ सालको गुरुयोजना विपरीत रत्न राजमार्गको दक्षिणतर्फको जग्गा प्लटिङ तीव्र बनाइएको छ।