ढल गन्हाएर सहनै नसक्ने गरी दुर्गन्ध फैलिएको छ। दुईवटा ट्वाइलेटको बीचमा खानेपानीको ट्याङ्की। ट्वाइलेटको सेप्टिक ट्याङ्की भरिएर ढल माथितिर उम्लिरहेको छ। त्यही ढल जताततै। तीन मिटर भन्दा टाढा छैन पानी र ट्वाइलेटको सेफ्टी टयाङ्कीको दुरी। खानेपानीको टयाङ्कीको ढक्कन नलगाइएकाले हावाले उडाएर ल्याएको फोहोर त्यही खस्छ। पानी धमिलो मात्र हैन लेदो देखिन्छ। लेउ, ससाना किरा र गड्यौलाले अड्डा जमाएको छ, त्यहाँ।
यो कुनै सार्वजानिक शौचालयको दृश्य होइन। यो त्रिभुवन विश्वविद्यालयस्थित महाराजगञ्ज क्याम्पसको होस्टेलको दृश्य हो। झट्ट हेर्दा कुनै विश्वविद्यालयको होस्टेल जस्तो लाग्दैन। सामान्य मापदण्ड पूरा गरिएको छैन, त्यहाँ। तर, त्यस्तै ठाउँमा भविष्यका तीनसय भन्दा बढी डाक्टरहरु बसिरहेका छन्। त्यस्तै फोहोर पानीले नुहाउँछन् उनीहरु। त्यही पानीबाट बनेको खाना खान्छन् र त्यही पिउँछन्।
खानेपानी र ट्वाइलेट मात्र भद्रगोल होइन, विद्यार्थीहरुले खाना खाने क्यान्टिनको अवस्था झन् दयनीय छ। बाहिर बस्ने ठाउँ चिटिक्क देखिए पनि भित्र भने फोहोरले बसिनसक्नु छ। खाना पकाउने ठाउँ होस् या तरकारी भण्डारण गरेको ठाउँ, फोहोर जताततै छरपस्ट। साङ्लाले डेरा जमाएको छ, त्यहाँ पनि।
अधिकांश विद्याथीको एउटै गुनासो छ, 'खाना खान लायकको छैन। साङला त कति पर्छपर्छ।'
विद्यार्थीहरुका अनुसार यो अहिले निम्तिएको समस्या होइन। वर्षौदेखि यस्तै समस्या भोगिरहेका छन्, उनीहरु। क्याम्पस प्रशासनले विद्यार्थीको गुनासो सुनेको छैन। त्यस्तै स्वत्रन्त विद्यार्थी युनियनको आन्दोलनले पनि केही फरक पारेको छैन। विद्यार्थीहरु कतैबाट केही सीप नलागेपछि हार मानेर बसेका छन्।
चिकित्साशास्त्र क्याम्पसको होस्टेलमा भेटिएका एक विद्यार्थीका अनुसार उनीहरुले खानेपानी शिक्षण अस्पतालकै ल्याबमा टेस्ट गराएका थिए। पानी पिउन योग्य नभएको रिपोर्ट निस्कियो। तर, त्यो रिपोर्ट विद्यार्थीको हातमा परेन। त्यस्तो रिपोर्ट आएपछि क्याम्पस प्रशासनले समस्या समाधान गर्ने प्रतिवद्धता जनायो तर समस्या समाधान भएन।
'भयो चाहिँ के त?'
'पिउने पानीमा हानिकारक ब्याक्टेरिया भएको थाहा पाएपछि कर्मचारी आएर हेरे। अनि टयाङ्कीमा लागेका बाहिरका लेउहरु हटाएर गए। अरु भित्री सफाई केही गरेनन्,' एमबिबिएस तेस्रो वर्षमा अध्यनरत एक विद्यार्थीले सुनाए।
उनका अनुसार पानी प्रशोधन गर्ने फिल्टर बिग्रिएको छ। नुहाउने र लुगा धुने पानीमा लेदो आउँछ। नुहाउन र लुगा धुन योग्य नभएको बोरिङको पानी पिउनुपर्छ। 'पिउने पानीको लागि एउटा फिल्टर त छ तर त्यसले नि राम्रो काम गर्दैन्,' ती विद्यार्थीले थपे।
होस्टेलमै भेटिएका अर्का विद्यार्थीले सुनाए, 'क्यान्टिनको खाना र पानीका कारण धेरै बिरामी परेका छन्। विद्यार्थीहरु मिलेर कति भनिसक्यौं तर कहिल्लै समस्या समाधान भएन।'
समस्याको चाङ धेरै छन्, त्यहाँ। रातभर भुस्याहा कुकुर भुकेर सुत्न नपाउने अर्को समस्या। भुस्याहा कुकुरको अड्डा भएको छ त्यो ठाउँ। खाना खाने बेलामा हावाले ढलको गन्ध नाकसम्मै पुर्याउँछ। 'खान सुत्न बस्न नुवाउन देखि सौच गर्न समेत गाह्रो छ। बिजोकै नि,' उनले भने।
यही समस्या लिएर उनीहरु केही अघि प्राध्यापक डाक्टर गोविन्द केसीकोमा पनि पुगे। केसीले पनि अस्पताल सुधारको माग राख्दै अनशन नबसेका होइनन्। तर, केसीको अनशनको प्रभाव त्यहाँ परेन। त्यसैले विद्यार्थीहरु निराश छन्। क्यान्टिन र होस्टलको हाल सुधार्न डाक्टर केसीको अनशनले कुनै उपलब्धी हुने आश नरहेको बताउँछन्। भन्छन्, 'अब हामी उहाँकोमा समस्या लिएर जाँदैनौं।'
महाराजगञ्ज चिकित्सा क्याम्पसका प्रमुख प्रतापनारायण प्रसाद भने यसलाई सामान्य समस्या बताए। क्याम्पसले विद्यार्थीहरुको समस्या सुन्दै आएको उनको तर्क छ। स्रोत साधनले भ्याएसम्म होस्टेल सुधार गर्दै लगेको बताउँछन्। भन्छन्, 'धेरै विद्यार्थी हुने ठाउँमा समस्या अलिअलि त भै'हाल्छ नि। बिस्तारै समाधान गर्ने हो। गरिरहेका पनि छौं।'