PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

निर्मला प्रकरणमा प्रहरीले 'मन्दिरको घन्टी बजाए झै चौधरीलाई कुटेको' बीरबहादुरको दावी, उपचार गर्न काठमाडौं ल्याउने तयारी



सविन ढकाल

निर्मला प्रकरणमा प्रहरीले 'मन्दिरको घन्टी बजाए झै चौधरीलाई कुटेको' बीरबहादुरको दावी, उपचार गर्न काठमाडौं ल्याउने तयारी

काठमाडौं : कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा अनुसन्धानको लागि १६ दिनसम्म नियन्त्रणमा राखिएका विशाल चौधरीलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी  भएको छ। प्रहरीले दिएको यातनाको कारण मानसिक समस्या देखिएको भन्दै चौधरीलाई उपचारका लागि काठमाडौं ल्याइने तयारी भएको उनका बुबा बीरबहादुर चौधरीले जानकारी दिए।

१६ वर्षीय चौधरी शनिवारमात्रै हिरासतमुक्त भएका हुन्। प्रहरी हिरासतमा रहेका चौधरीले आफूलाई मार्ने धम्की दिएर निर्मलाको हत्या गरेको कबुल गर्न लगाएको रिहा भएलगत्तै बताएका थिए। 

पहिलोपोस्टसँगको कुराकानीमा विशालले भनेका थिए - 'मैले हत्या गरेको हुँ भन्, नत्र मार्छु भन्दै प्रहरीले बन्दुक देखाए।' प्रहरीले धेरै पिटेकोसमेत उनले बताएका थिए। 

‘आइतवारदेखि विशालले शरीर दुख्यो, गाह्रो भयो भनेपछि उनलाई उपचारको तयारी गरिएको हो। मन्दिरको घन्टा जस्तै बजाएपछि विचराको शरीर कसरी नदुखोस्?,’ बीरबहादुरले प्रश्न गरे।

गत मंसिर २० गते चौधरीलाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले नियन्त्रणमा लिएको थियो। प्रहरीले उनको डिएनए परीक्षणसमेत गराएको थियो। तर, चौधरीको डिएनए निर्मलाको भेजिनल स्वाबबाट निकालिएको पुरुष डिएनएसँग मिलेन। यद्यपि, डिएनएको रिपोर्ट प्रहरीले आधिकारिक रुपमा अझै सार्वजनिक गरेको छैन। 

निर्मला हराएको दिन गत साउन १० गते चौधरी चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेको खुलेको थियो। उनलाई साउन ११ गते उनकी आमा प्रहरी चौकी पुगेर छुटाएकी थिइन्। 

विशालका बुबाले भने, 'बाहिरी चोट त छैन तर भित्री चोट हुनसक्छ। एक चोटी राम्रोसँग चेक नगराइ कसरी बस्नु?’

उनीसँगै समातिएका प्रदीप रावलको डिएनए नमिले पनि अझै रिहा भएका छैनन्। किन प्रहरीले उनलाई हिरासतमा राखिरहेको छ भन्ने कुनै ‌औपचारिक जानकारी दिइएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell