PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

क्रिसमस डेः ‘चाड होइन, जन्मोत्सव’



रीना मोक्तान

क्रिसमस डेः ‘चाड होइन, जन्मोत्सव’

भेडीको गोठैमा प्रभु जन्मनु भो

 हिउँदको त्यो चिसो रातमा

प्रभु येशू जन्मनु भो

भेडीको गोठैमा

हाल्लेलुयाह…हाहाहा.. हा हाल्लेलुयाह…

यी शब्दहरुले सजिएको 'क्रिसमस क्यारल' गीत हो जसलाई स्वर दिएका छन् गायक एड्रियन प्रधानले। हालै एड्रियनको अफिसियल युट्युब मार्फत् सार्वजनिक भएको गीतलाई क्रिसमस टार्गेट गरेर फिरोज स्याङ्गदेनले लेखेका हुन्। गीतले क्रिसमसको जानकारी दिन्छ।

गीतको अन्तरा यसरी बगेको छ, 'उहाँ हाम्रो मुक्तिदाता बनेर यसै धर्तीमा पाइला राख्नु'भो, लालुपाते सबैतिर फुलेछ, सबैतिर खुशीयाली बाँड्नुभो'। गीतमा क्रिसमस बाजे, उपहार जस्ता शब्दको प्रयोग गरिएको छ।

क्रिसमसको सन्देश दिने गीतबारे 1974 AD का पूर्व गायकसमेत रहेका एड्रियनले भने, 'क्रिसमस क्यारल बनाउने योजना थियो फिरोज दाइ र मेरो। दशैंमा र तिहारमा फरक-फरक गीत ल्यायौं, त्यसैले क्रिसमस गीत पनि बनायौं। आखिर अहिले क्रिसमस ट्रेन्ड नै बनेको छ। पहिला क्रिश्चियनले मात्र मनाउँथे, अहिले सबैले।'

सानोमा कालिङपुङमा पढ्दा उनी संगीत झुण्डमा गीत गाउने गर्थे। त्यहाँ उनलाई गस्पेल (प्रभु येशू सम्बन्धी) गायन पनि सिकाइन्थ्यो। उनी क्वायरमा पनि गाउँथे। उनले सम्पूर्ण नेपाली दर्शकलाई क्रिसमस र नयाँ वर्षको शुभकामना गीत मार्फत् नै दिएका छन्। उनको गीतले 'क्रिसमस डे' नजिकिएको आभाष गराउँछ।

 

 के हो क्रिसमस? : चाड होइन, जन्मोत्सव

क्रिश्चियनहरुले डिसेम्बर २५ लाई 'क्रिसमस डे'का रुपमा मनाउँदै आएका छन्। कतिले यसलाई चाडका रुपमा ब्याख्या पनि गर्छन्। तर, पास्टर दावा लामा यसलाई जन्मोत्सवको रुपमा लिनुपर्ने बताउँछन्। क्रिसमस जिसस क्राइस्टको जन्मदिन हो। उनले भने, 'क्रिसमस चाहिँ ख्रीष्ट येशू हामी मानव जातिको उद्दार र मुक्तिका लागि मानव अवतारमा जन्मनुभएको सम्झना हो। यो चाहिँ पर्मेश्वरको तर्फबाट मानव जातिका लागि महान उपहार। क्रिसमस उहाँको जन्मोत्सव हो।'

दुई हजार वर्षअघि जन्मेका ईश्वर येशूको जन्मोत्सव विश्वले मनाउने गरेको बताउँछन् लामा। 'हामी हेर्छौं संसारमा, मानिसको आयु ६०, ७०, ८० मात्र। सारा विश्वले येशूको जन्मको उत्सव मनाउँदै आएको छ। उहाँ जीवित हुनुहुन्छ भनेर हामी विश्वास गर्छौं। मरेका मान्छेको जन्म दिन मनाउनुलाई जन्मजयन्ती भन्छौं। तर, २ हजार वर्षअघि जन्मेको येशूको जयन्ती होइन जन्मोत्सव हामी मनाउँछौं,' उनले भने।

येशूको जन्मको अकाट्य प्रमाण रहेको दावी गर्छन् उनी। 'विश्वले प्रयोग गर्ने क्यालेण्डर एडी र बिसी पनि उनकै जन्मबाट विभाजन भएको हो। यो मितिले पनि उनको जन्मको प्रमाण दिने तर्क गर्छन् दावा।

 

कसरी मनाइन्छ क्रिसमस?

ईसाई धर्मावलम्बीहरु चर्चमा विभिन्न कार्यक्रम गरेर क्रिसमस मनाउँछन्। 'हामी हाम्रो छिमेकी, आफन्त इष्टमित्रलाई चर्चमा निमन्त्रणा गर्छौं। उहाँलाई येशूको जन्मको महत्व बुझाउँछौं। क्रिसमसबारे जानकारी दिन्छौं,' उनले भने, 'चर्चमा सन्देशमूलक प्रवचन बाँड्दै रमाइलो गर्छौं।'

त्यसो त धार्मिक ग्रन्थ बाइबलमा येशूको जन्म डिसेम्बर २५ मा नै भएको भनेर यकिन तथ्य छैन। तर, पनि क्रिश्चियनहरु उक्त दिनमा नै क्रिसमस मनाउने गर्छन्।

'डिसेम्बर २५ मा नै येशू जन्मनु भएको भनेर बाइबलमा लेखिएको छैन। तर हाम्रा पुर्खाहरुले २५ डिसेम्बरमा मनाउँदै आएका छन्। विभिन्न कारणहरु छन् यसको पछाडि पनि,' उनले सुनाए।

 

हिन्दुको देउसी, भैलोजस्तै क्रिश्चियनको 'क्यारल'

क्रिसमसका अघिल्ला दिनहरुमा उनीहरु एकअर्का घर गएर नाचगान गर्छन्। पछिल्लो समय कतिले यसलाई क्रिश्चियनहरुको देउसी भैलो भनेर बुझ्ने गरेको पाइन्छ। तर, यही नै बास्तवमा क्यारल हो। लामा भन्छन्, 'क्यारल खेल्ने भन्दा पनि गाउने विषय हो। येशूको जन्मलाई हामी लयमा, संगीतमा ढालेर उहाँको जन्मबारे थाहा नभएका व्यक्तिहरुको बीचमा गएर गाउँछौं।'

२०५३ सालबाट पास्टर दावाले क्रिसमस मनाउन थालेका हुन्।

अर्का पास्टर चन्द्र श्रेष्ठ क्रिसमस मनाउन निकै उत्साहित छन्। क्रिसमस तयारी धुमधामले सकिएको छ।

उत्साहित हुँदै सुनाए, ‘संसारका लागि जीवित आशा दिने, मानवरुप लिएर संसारमा आउनभएको येशूको आगमन मनाउनु जति ठूलो कुरा केही पनि होइन।'

क्रिसमसलाई व्यापारिकरण गरिएकोमा भने श्रेष्ठ गुनासो गर्छन्। सांस्कृतिक रुपमा क्रिश्चियनविरोधी भनेर चिनिएका मुलुकमा समेत क्रिसमसलाई व्यापारिक रुपमा ग्रहण गर्ने प्रचलन बढेको छ। त्यसैको परिणाम हो मुस्लिम र कम्युनिस्ट मुलुकहरु यसलाई व्यवसायिक रुपमा लिइन्छ। 'उनीहरु आफ्नो व्यापार प्रवर्द्धका लागि क्रिसमस मनाँछन्। तर, हामी चाहिँ येशूको जन्मको सन्देशको प्रचार गर्दै,' उनले भने।

रेस्टुराँ गएर वा मदिरा खाएर अथवा क्रिसमस ट्री सजाएरमात्र क्रिसमस मनाउने तरिका व्यापारिकरणको उपज रहेको उनी बताउँछन्।

त्यसो त क्रिसमसले व्यवसायिक रुप आज लिएको होइन। १५औं शताब्दीबाट नै क्रिसमसलाई व्यवसायिक रुपमा थालिएको हो। १८ ‌औं शताब्दीमा कोकाकोला कम्पनीले सेन्टा क्लजको हातमा कोकाकोला राखेर प्रचार सुरु गर्यो। ‘त्यहाँदेखि नै कोक खाएर क्रिसमस मनाउनुपर्छ भन्ने सन्देश दिइयो। त्यसपछि अन्य व्यावसायिक कम्पनीले यसको सिको गरे,' श्रेष्ठले भने, 'अहिले क्रिसमस येशूको जन्म भुलेर रक्सी खाने, बियर खानेक्रम बढ्यो।'

 

क्रिसमस ट्री र सान्ता क्लज

सान्ता क्लज र क्रिसमस ट्रीबारे बाइबलमा केही उल्लेख छैन। क्रिसमस ट्री १६ ‌औं शताब्दीबाट मात्र सुरु भएको पाइन्छ।

बेलायतकी रानी भिक्टोरियाले १८४१ मा जर्मन नागरिक अल्बर्टसँग विवाह गरिन्। जर्मनमा त्यतिखेर क्रिसमस ट्री सजावटको प्रचलनमा आइसकेको थियो। बिहेपछि महारानीले आफ्नो दरबारमा क्रिसमस ट्री सजाइन्। यसरी अल्बर्टका कारण बेलायतमा क्रिसमस ट्रीको प्रचलन सुरु भयो। त्यसपछि पश्चिमी मुलुकमा यसको प्रचलन तीब्र गतिमा फैलियो।

सेन्टा क्लज पनि क्रिसमससँग पछिमात्रै जोडिन आएको हो। सेन्ट निकोलस, अहिले वर्तमान टर्कीको माइरामा सन् २८० मा जन्मेका थिए। उनी धनी क्रिश्चियन थिए। क्रिसमसको समयमा उनले बालबालिकालाई उपहार दिएको कथा सुन्न पाइन्छ। यिनलाई डच भाषामा सिन्तर क्लास भनियो। पछि बेलायतमा सिन्तर क्लासलाई नै सेन्टा क्लज भनियो। बालबालिकालाई थाहै नदिइ उपहार दिने कथा जोडियो क्रिसमससँग। यस विषयमा पनि बाइबलमा उल्लेख छैन। यसपाला क्रिसमसको मुखैमा काँधमा बालबालिकाका लागि गिफ्ट बोकेका अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओवामाको फोटो चर्चित रह्यो। सेन्ट निकोलसको सुरुवातले सबैलाई प्रभाव पार्यो।

 तर पास्टर श्रेष्ठ यस्ता सजावटले मूल विषयलाई विषयान्तर गरिरहेको बताउँछन्। 'मूल कुरा चाहिँ, येशू संसारका सबै पापी मानिसका लागि मानव रुप लिएर आउनु भएको ऐतिहासिक दिन हो। उहाँ उद्दारका निम्ति आउनुभयो। र, उहाँबारे प्रचार गर्नु नै क्रिसमसको चुरो कुरा हुनुपर्छ। यसमा बाइबल बाहिरका कुराहरु जोडिनु हुन्न,' उनले भने।

 

क्रिसमस नै नमाउने क्रिश्चियन

क्रिसमस नमाउने क्रिश्चियनहरु पनि हुन्छन् भन्दा तपाईँलाई अनौठो लाग्ला। यस्ताखाले क्रिश्चियन न क्रिसमस ट्री सजाउँछन् न त सेन्टा क्लजका पहिरनमा देखिन्छन्। उनीहरुले बाइबललाई गलत तरिकाले बुझेका कारण क्रिसमस नै नमनाउने नगरेको बताउँछन्।

'सारा हृदयले येशूलाई व्यक्तिगत प्रभु र मुक्तिदाता भनेर ग्रहण गर्छन् उनीहरुलाई बाइबल अनुसार क्रिश्चियन हुन्। यो धर्म परिवर्तन होइन, यो समर्पण हो,’ श्रेष्ठले भने, ‘यो सत्यता नबुझ्नेहरुले बाइबललाई गलत ब्याख्या गरेका हुनाले उनीहरुले क्रिसमस मनाउँदैनन्। क्रिसमस मनाउनु ठूलो कुरा होइन। यो किन मनाइन्छ बुझ्न आवश्यक छ।'

नेपाल क्रिश्चियन समाजका अध्यक्ष बर्नबास श्रेष्ठका अनुसार क्राइस्ट बिना क्रिसमस मनाउनेहरु बढेका छन्। उनका अनुसार मदिरामा मस्त नभइ क्रिसमस मनाउनेहरु भने कमजोर आर्थिक अवस्था भएकाहरुको सहयोगमा जुट्ने गर्छन्।

‘क्रिसमसको समयमा हामी अभावमा परेकालाई दिन सिकाउँछौं। उपहार दिन्छौं। येशूको जन्म प्रचार गरेर प्रेम भोज गरेर क्रिसमस मनाउँछौं,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell