
काठमाडौँ : काठमाडौँ र ललितपुरमा भइरहेको शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका १४ मध्ये ३ क्लब विभागीय टोली हुन्। अन्य ए डिभिजन क्लबले ट्रेनिङका लागसि उपयुक्त मैदान समेत नपाइरहेको अवस्थामा यी विभागीय टोलीको भने आफ्नै खेल मैदान छ।
नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ, यी तीन विभागीय टोली हुन्। अझ एपीएफको हलचोकस्थित मैदानमा त दक्षिण एसियाली स्तर र एसपियाली स्तरका उमेर समूहका प्रतियोगिता समेत भइसकेका छन्। अहिले भइरहेको लिगका खेलहरु पनि हलचोकमा भइरहेको छ।
अन्य क्लबको तुलनामा सुविधा बढी भएको र नियमित ट्रेनिङको समेत व्यवस्था भएको यी तीन टोलीले लिगमा भने अपेक्षाअनुसार प्रदर्शन गर्न सकिरहेका छैनन्।
५ पटकको लिग विजेता नेपाल पुलिसले यस सिजन उपाधि जित्ने लक्ष्यका साथ लिग सुरु गरेपनि त्यसअनुसार खेल खेल्न सकेन। लिगको दशौँ चरण समाप्त हादा पुलिस विभागीय टोली मध्ये सबैभन्दा पछि छ।
विसं २०१२, २०१३ (पुलिस फोर्सको नामबाट), २०६३, २०६६-२०६७ र २०६८ सालको विजेता टोली पुलिसले यस सिजन लिगमा दशौँ चरणका खेल सकिँदासम्म पुलिसले सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन। पुलिसले चारमा जित, तीनमा बराबरी र तीनमा हारको नतिजा निकाल्दा अंकतालिकामा छैटौँ स्थानमा छ। कुनै बेला लगातार तीन पटक उपाधि जितेर ट्रफी पचाएको पुलिस पछिल्ला वर्षमा कमजोर बन्दै गएको हो।
पुलिसका प्रशिक्षक अनन्त थापाले पछिल्लो समय क्लबले उकृष्ट खेलाडी भित्र्याउन नसक्दा नेपाल पुलिस कमजोर बन्दै गएको बताए। “ठूलो क्लबले राष्ट्रिय टोलीका साथै विदेशी खेलाडी तथा प्रशिक्षक क्लबमा ल्याउन थाले, हाम्रोमा भएका केही राम्रा खेलाडीलाई पनि जोगाउन सकिएन र क्लब कमजोर बन्दै गयो।”
त्यस्तै अहिलेसम्म उपाधि जित्न नसकेको त्रिभुवन आर्मी र एपीएफले पनि जारी लिगमा सन्तोषजनक प्रदर्शन गर्न सकेका छैनन्। राष्ट्रिय टोलीका खेलाडीको बाहलुय रहेपनि आर्मीले जारी लिगमा उल्लेख्य प्रदर्शन गर्न सकेको छैन।
उद्घाटन खेलमा तालिकाको पुछारमा रहेको एनआरटीसँग बराबरी खेलेको आर्मीले पछिल्ला खेलहरूमा जित निकाले पनि १०औँ चरणमा एपीएफसँग पराजित भएपछि आर्मी पनि उपाधि होडबाट बाहिरियो। आर्मीका प्रशिक्षक नविन न्यौपानेले पछिल्ला वर्षहरू आर्मीको खेलमा सुधार आएको दाबी गरे।
“आर्मीलाई यसअघि पावर गेम खेल्थ्यो भन्ने अरोपबाट मुक्त गराएको छु, जारी लिगको उद्घाटन खेलमा कमजोर टोलीसँग बराबरी र एपिएफसँगको नसोचेको पराजयपछि उपाधि होडबाट बाहिरियौँ”, उनले भने।
लिगको सुरुवातमा खासै राम्रो प्रदर्शन गर्न नसकेको कान्छो विभागीय टोली एपीएफले भने सुधारिएको
प्रदर्शन गर्दै आर्मीलाई दशौँ चरणमा पराजित गर्यो। तीन डिपार्टमेन्टल डर्बी खेल मध्ये दुई खेल भइसक्दा आर्मी र एपीएफले एक-एक डर्बी खेल जितेका छन्। आर्मीले सिजनको पहिलो डिपार्टमेन्टल डर्बीमा पुलिसलाई हराएपनि तुलनात्मक रुपमा कमजोर एपीएफसँग हार बेहोर्यो।
अब पुलिस र एपीएफबीच खेल हुन बाँकी छ।
दशौँ चरणका खेल सकिँदासम्म मनाङ शतप्रतिशत नतिजासहित ३० अंक जोडेर शीर्ष स्थानमा छ। सङ्कटा २५ अङ्कसाथ दोस्रो, थ्री स्टार २३ अङ्कसाथ तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १६ अङ्कसहित एपीएफ पाँचौँ, १५ अङ्कसहित नेपाल पुलिस छैटौँ स्थानमा छन्।
यसैगरी १४-१४ अङ्कसहित च्यासल युथ क्लब र हिमालयन शेर्पा क्लब क्रमशः सातौँ र आठौँ, १० अङ्कसाथ सरस्वती नवौँ, आठ-आठ अङ्कसहित जावलाखेल र फ्रेन्डस क्रमशः दशौँ र एघारौँ, छ-छ अङ्कसहित ब्रिगेड ब्वाइज र मछिन्द्र बाह्रौँ र तेस्रौँ र न्युरोड टिम (एनआरटी) चार अङ्क साथ तालिकाको अन्तिम स्थानमा छ।
उच्च गोलकर्तामा डिफेण्डर धिमाल
डिफेण्डरको काम विपक्षी स्ट्राइकरलाई गोल गर्नबाट रोक्ने र आफ्नो टिमको मिडफिल्डलाई बल उपलब्ध गराउने हो। तर यस सिजन १० चरण सकिँदासम्म लिगको उच्च गोलकर्तामा थ्री स्टारका डिफेण्डर रन्जित धिमाल छन्। रन्जितले गरेका सात गोल मध्ये ६ गोल पेनाल्टीबाट सम्भव भएको थियो।
यसैगरी मनाङका अफिज ओलावालेले र अन्जन विष्टले समान ६ गोल गरेका छन्। थ्री स्टारका रञ्जन विष्ट, एपीएफका रुपनारायण लामा र संकटाका एलोन म्याक्सएलले ४-४ गोल गरेका छन्। यस सिजन लिगमा अहिलेसम्म ६ वटा मात्र रेड कार्ड प्रयोग भएको छ। राससको सहयोगमा