
काठमाडौं : नेपाल र युएईबीचको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज सन् २०१९ जनवरीको अन्तिम सातादेखि सुरु हुने भएको छ।
यसअघि नेपाल र युएईबीच वान डे इन्टरनेशनल र टी-२० इन्टरनेशनल सिरिज हुने खबर सार्वजनिक भएको थियो।
अहिलेसम्म आइसीसी र युएई क्रिकेट बोर्डबाट यसबारे औपचारिक रुपमा खेल तालिका सार्वजनिक नगरेपनि आइसीसीको नेपाल प्रतिनिधि तथा क्यानकी पूर्व सिइओ भावना घिमिरेले जनवरी २३ देखि सिरिज सुरु हुने र यसबारेमा केही दिनमै टुङ्गो लाग्ने पहिलोपोस्टलाई बताइन्।
युएईमै हुने सिरिजमा नेपालले ओडिआई र टी-२० आई ३-३ गरी कूल ६ खेल खेल्नेछ।
घिमिरेले सिरिज जनवरी २३ देखि फेब्रुअरी ४ सम्म (माघ ९ देखि २१) हुने बारे कुरा भइरहेको र यही मिति नै लगभग पक्का हुने जानकारी दिइन्। 'आइसीसीले डेट फिक्स गर्न बाँकी छ तर यो डेट नै पक्का जस्तै हो। २/३ दिनभित्र यसको निर्णय हुन्छ।'
यही सिरिजकै कारण धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) को मिति समेत एक हप्ता पछि सरिएको छ। यसअघि माघ १९ देखि गर्ने भनिएको डीपीएल अब माघ २६ गतेदेखि हुने भएको छ।
गत मार्चमा जिम्बावेमा भएको वानडे वर्ल्ड कप क्वालिफायरमा उत्कृष्ट तीन एसोसिएट बन्दै नेपालले पहिलो पटक ओडिआई मान्यता पाएको थियो। त्यसपछि नेपालले खेल्न लागेको यो दोस्रो ओडिआई सिरिज हो।
गत अगष्टमा नेदरल्याण्ड्ससँग पहिलो ओडिआई सिरिज खेलेको नेपालले युएई विरुद्ध दोस्रो पटक ओडिआई खेल खेल्न लागेको हो। युएई विरुद्ध यो पहिलो सिरिज भएपनि नेपालले एसिया कप छनोटमा युएई विरुद्ध ओडिआई खेल खेलिसकेको हो। दुवै टिम ओडिआई मान्यता प्राप्त भएकाले नेपाल र युएईबीचको खेलले ओडिआई मान्यता पाएको थियो।
नेपालले अहिलेसम्म तीन ओडिआई खेल खेल्दा एक खेल मात्र जितेको छ भने दुईमा हार बेहोरेको छ।
यस्तै ओडिआई मान्यता पाएपछि नेपालले नदरल्याण्ड्ससँग इंग्ल्याण्ड्को लर्ड्समा खेलेको टी-२० इन्टरनेशनल खेल भने वर्षाले प्रभावित भएपनि नतिजाविहिन बनेको थियो।