
काठमाडौँः सभामुख कृष्णबहादुर महराले कालीकोट पलाता गाउँपालिका–१ खाडा गाउँमा आगलागीमा परी घाइते भएका नागरिकहरुलाई स्वास्थ्योपचारको उचित व्यवस्था गर्न र उचित क्षतिपूर्ति दिलाई राज्यको प्रत्याभूति दिलाउन सङ्घ तथा प्रदेश सरकारसँग आग्रह गरेका छन्।
सभामुख महराले एक वक्तव्यमार्फत घरबारविहीन भएका नागरिकको तत्काल अल्पकालीन बसोबासको व्यवस्था गर्न र दीर्घकालीन रुपमा यस्ता दुर्घटना रोक्नका लागि खर, फुसका छाना भएका घरहरु हटाउनेतर्फ विशेष पहल गर्नसमेत आग्रह गरेका छन्।
आगलागीबाट ८७ घर जलेको खबरले आफूलाई दुखित तुल्याएको उल्लेख गरेका छन्।
आइतबार मध्यरातिदेखि भएको आगलागीबाट ८७ घर जलेर नष्ट भएका छन्। आगलागीबाट सात जना स्थानीयवासी घाइते र थुप्रै पशुचौपायाको मृत्यु हुनाका साथै करोडौँको धनमाल जलेर नष्ट भएको थियो। रासस