PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

बङ्गलादेशमा निर्वाचन नजिकिँदैः १० हजार ५०० कार्यकर्ता पक्राउ परेको विपक्षी दलको आरोप



पहिलोपोस्ट

बङ्गलादेशमा निर्वाचन नजिकिँदैः १० हजार ५०० कार्यकर्ता पक्राउ परेको विपक्षी दलको आरोप

ढाकाः बङ्गलादेशको प्रहरीले निर्वाचनको समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार ५०० कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले जनाएका छन्।

संयुक्त राज्य अमेरिकाले बङ्गलादेशको प्रधानमन्त्री शेख हसिनाको सरकारलाई निर्वाचन स्वच्छ तथा स्वतन्त्ररूपमा सम्पन्न गर्न सरकारबाट विश्वासको वातावरण बनाउन गरेको आग्रहपछि प्रतिपक्षबाट उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो।

तेस्रो कार्यकाल सम्पन्न गरिसकेकी प्रधानमन्त्री हसिनाले चौथो कार्यकाल जितेर कीर्तिमानी कायम गर्ने लक्ष्यसाथ निर्वाचनमा आफ्ना सक्रिय कार्यकर्ता तथा समर्थकहरूलाई विभिन्न आरोपमा प्रहरी हिरासतमा लिएको आरोप बङ्गलादेश नेशनालिस्ट पार्टी (बिएनपी) ले लगाएको छ।

प्रतिपक्षी दलहरूले बङ्गलादेशको सरकारले नोभेम्बर ८ मा निर्वाचनको आह्वान गरेपछि निरन्तर ‘भयको वातावरण’ रहँदै आएको दावी गरेका छन्।

पूर्व प्रधानमन्त्री तथा नेता खालिदा जिया, जसले १७ बर्षको जेल सजाय व्यतित गरिरहेकी छन्। उनको दल बिएनपीले निर्वाचनको प्रचारप्रसारको शिलशिलामा आफ्ना सात हजार २१ कार्यकर्तालाई पक्राउ गरिएको दाबी गरेको छ।

बिएनपीको इश्लामिक सहयोगी जमात–ए–इश्लामीका तीन हजार ५०० समर्थकलाई निर्वाचनलाई लक्षित गरी थुनामा राखिएको उक्त दलले जनाएको छ। जमात–ए–इश्लामीलाई राष्ट्रियतामा प्रभाव पार्ने गतिविधि र आतङ्कवादलाई प्रोत्साहन गरेको आरोपमा निर्वाचनमा प्रतिबन्ध लगाइएको छ।

“देशभरबाट हरेक दिन ८० देखि ९० कार्यकर्तालाई पक्राउ गरिने गरिएको छ। यसले निर्वाचन स्वतन्त्ररूपमा हुने सम्भावना विपरीत भयको वातावरण सिर्जना गरेको छ,” जमातका महासचिव शफिकर रहमानले एएफपीसँग बताए।

प्रहरी प्रवक्ता सोहेल रानाले भने निर्वाचनको अभियानका शिलशिलामा पक्राउ परेका विपक्षीको सङ्ख्या कति रहेको भन्नेबारे तथ्याङ्क दिएनन्। उनले ‘अनावश्यक व्यक्तिलाई पक्राउ नगरिएको’ बताए। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell