
काठमाडौं : गत भदौमा मात्र प्रहरीले सुन प्रकरणमा अदालतमा अभियोगपत्र दायर भएका ८ जनाविरुद्ध नोटिस जारी गर्यो। सुन तस्करीको अभियोगमा भोजराज भण्डारी, रोहित आचार्य, टुकबहादुर मगर, कृष्ण बस्नेत, कृष्णगोपाल अग्रवाल, हरिशरण खड्का र मोहम्मद उस्ताम मियाँविरुद्ध नोटिस जारी गरिएको हो। त्यसको केही समयमा नै सुन प्रकरणमा रमेश उप्रेती, एसएसपी श्याम खत्री, व्यवसायी मोहनकुमार अग्रवालविरुद्ध नोटिस जारी गरेको थियो।
अपराधको सङख्या बढेसँगै नेपाल प्रहरीले जारी गर्ने रेड कर्नर नोटिसको सङख्या ह्वातै बढ्को छ। गएको ६ महिनामा मात्र नेपाल प्रहरीले ३० जनाविरुद्ध रेडकर्नर र डिफ्युजन नोटिस जारी गरेको छ।
यस अवधिमा १६ जनाविरुद्ध डिफ्युजन नोटिस जारी भएको नेपाल प्रहरीले जनाएको छ। त्यस्तै १४ जना विरुद्ध रेडकर्नर नोटिस जारी भएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। एसएसपी सुवेदीले भने, 'हो केही वर्षको तुलनामा नोटिस जारी हुने सङख्या बढेको हो। अपराध बढेसँगै सङख्या थपिएको हो।'
रेडकर्नर नोटिस जारी भएका व्यक्तिलाई १ सय ९२ देशका प्रहरीले खोजी गरी सम्बन्धित देशमा बुझाउने गर्छन्।
छ महिनाको अवधिमा नेपाल प्रहरीले विभिन्न देशबाट नोटिस जारी भएका ५ जना पक्राउ गरी बुझाएको छ।