PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

ने क पाको स्थायी कमिटीको बैठक भोलि दिउँसोसम्मका लागि स्थगित, प्रचण्डले जवाफ दिए, ओलीले भोलि दिने



पहिलोपोस्ट

ने क पाको स्थायी कमिटीको बैठक भोलि दिउँसोसम्मका लागि स्थगित, प्रचण्डले जवाफ दिए, ओलीले भोलि दिने

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को स्थायी कमिटीको बैठक भोलि दिउँसोसम्मका लागि स्थगित भएको छ। 

मङ्सिर २९ देखि सुरु भएको बैठकमा आज बिहानको सत्रमा पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदस्यहरूले छलफलका क्रममा उठाएका प्रश्नहरूको जवाफ दिएका छन्। 

बिहान साढे ८ बजे सुरु भएको बैठक २ घण्टा सम्म चलेको थियो। बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका विषयहरू प्रस्ट पारेको महासचिव विष्णु पौडेलले जानकारी दिए। 

प्रचण्डले बैठकपछि पार्टी अझ उन्नत स्तरको एकताका साथ राष्ट्रिय अभिभारा पूरा गर्दै अघि बढ्ने विश्वास व्यक्त गरेको उनले जानकारी दिए। 
त्यस्तै बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदनलाई बैठकमा आएका सुझाव अनुरूप परिमार्जन गर्दै पारित गर्न आग्रह गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। 

बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको महासचिव पौडेलले जानकारी दिए। आजको बैठकमा दुवै अध्यक्षले प्रतिवेदन माथि उठेका विषयको जवाफ दिने कार्यक्रम थियो। तर, समय अभावका कारण बैठक स्थगित भएको बताइएको छ। 

अब अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि मात्र जवाफ दिने छन्। 

बैठकमा दुई अध्यक्षको प्रतिवेदन माथि नेता वामदेव गौतमले फरक मत राखेका छन् भने केही नेताहरूले छलफलका क्रममा लिखित सुझावसमेत दिएका छन्। 

बैठकमा बोल्ने अधिकांश नेताहरूले सरकारको आलोचना गरेका छन्। त्यस्तै केही समय अगाडि काठमाडौँमा सम्पन्न युनिभर्सल पिस फेडरेशनको एसिया प्यासिफिक सम्मेलनमा सरकार र पार्टीको सहभागितालाई लिएर समेत नेतृत्वको आलोचना भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell