काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाको गत वैशाखमा भएको निर्वाचनमा आर्थिक अनियमितता भएको भन्दै चार जिल्ला संघका अध्यक्षले अडियो टेप सार्वजनिक गरेका छन्।
काठमाडौँ, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षले बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै अडियो टेप सार्वजनिक गरेका हुन्।
यसअघि एन्फाका पूर्व उपाध्यक्ष तथा वर्तमान एन्फा कार्यसमितिमा अध्यक्षको उम्मेदवारी दिएका मणि कुँवरले एन्फा निर्वाचनमा भ्रष्टाचार भएको भन्दै पत्रकार सम्मेलन गरेका थिए। त्यसबेला उनले समय आएपछि आफै प्रमाणहरु पेश गर्ने बताएका थिए।
त्यसैको नतिजास्वरुप चार जिल्लाका अध्यक्षले बुधवार निर्वाचनमा अनियिमतता भएको प्रमाण सार्वजनिक गर्दै यो सुरुवात भएको जनाएको छ।
ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा, काठमाडौँ जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुखजु र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडाले बुधवार पत्रकार सम्मेलन गरेका हुन्। तर यसमा पूर्व उपाध्यक्ष मणि कुँवर भने उपस्थित थिएनन्।
उनीहरुले निर्वाचनका क्रममा २ लाख देखि १० लाखसम्मको चलखेल भएको अडियो सहितको प्रमाण सार्वजिनक गर्दै यसले नेपाली फुटबललाई कतातिर लाँदैछ भने चिन्तित भएको बताए। टेपमा एन्फाका मानार्थ अध्यक्ष टासी घले लगायत वर्तमान एन्फा पदाधिकारीले निर्वाचन आफ्नो पक्षमा पार्न पैसाको बारेमा कुराकारनी गरेको समावेश छ।
'हामीले एएफसी र फिफामा पनि यो प्रमाणहरु पठाउनेछौँ। त्यसको रिजल्ट आउन केही समय लाग्छ।' ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष थापाले भने
'यो हाम्रो सुरुवात हो। सबैतिर यसलाई पठाइसकेका छौँ। नेपाल सरकारक, मन्त्रालय र राखेपमा पनि यसबारे जानकारी दिइसकेका छौँ। हामी अब त्यसको फलोअपमा छौँ।'
यस्तै थापाले यो अहिलेको नेतृत्वको विरोध नभएको समेत प्रष्ट पार्दै लाखौँ र करोडौँ चलखेल भएर चुनाव हुने हो भने नेपाली फुटबल कता जाला भन्ने चिन्ता लागेको बताए।
'यो एन्फा नेतृत्वको विरोध होइन, नेपाली फुटबल कता जँदैछ के भइरहेको छ भन्ने जानकारी हो। कर्मासँग, नेतृत्वसँग पूर्वाग्रह छैन।' उनले भने।
यस्तै धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडाले अनियमितताको श्रृंखला सार्वजनिकको यो सुरुवात भएको बताए। उनले अडियो सार्वजनिक गर्दै देशभर सबैलाई जानकारी दिन चाहेको बताए।
यसैबीच एन्फा प्रवक्ता किरण राईले चारवटा जिल्ला फुटबल सङ्घले लगाएको आरोपमा कुनै तुक नभएको बताए। “आफ्नो काम छोडेर आफू मातहतको नेतृत्वलाई उनीहरुले जुन आरोप लगाउनुभएको छ, त्यो गम्भीर छ, आरोपको हामी भत्र्सना गछौँ”, उनले भने। मतदातालाई पैसा बाढ्यो भनेर मतदाताको घोर अपमान गरेको बताउँदै उनले आरोप प्रमाणित गरेर देखाउन चुनौती दिए। “आरोप लगाएर मात्र हुँदैन, प्रमाणित गर्नुपर्छ, आरोप प्रमाणित गर्न सक्नुभएन भने उहाँहरुमाथि कारवाही गर्छौं।”