PahiloPost

May 15, 2024 | २ जेठ २०८१

औषधि लिमिटेडका महाप्रबन्धकले किन दिए राजीनामा? भन्छन् : म दुई वर्षमै थाकेँ



सागर बुढाथोकी

औषधि लिमिटेडका महाप्रबन्धकले किन दिए राजीनामा? भन्छन् : म दुई वर्षमै थाकेँ

काठमाडौं : 'सरकारी संस्थामा काम नगर्दा भन्दा काम गर्दा रिस्क हुन्छ। त्यही भएर त सरकारी संस्था उभो लाग्न सक्दैन,' एक महिनाअघि नेपाल औषधि लिमिटेडका महाप्रबन्धक रोवश कुसुम सुवेदीले सुनाएका थिए, 'नेपाल औषधि लिमिटेडले यो प्रगति गर्दा खुशी हुने भन्दा दु:खी हुने धेरै छन्।'

उनै रोवश कुसुम सुवेदीले औषधि लिमिटेड छिरेको २ वर्षमै संस्थाको कायापलट गराएका थिए। बन्द उद्योगलाई सञ्चालन गरेका थिए। तर, अहिले सुवेदी औषधि लिमिटेडमा छैनन्। कार्यकाल सकिन १ वर्ष अघि नै उनले राजीनामा दिएका छन्।

'किन त ?'

'यति द्रुत गतिमा काम गरिएछ कि तीन वर्षमा गर्ने काम दुई वर्षमै सकिएछ,' सुवेदीले हाँस्दै सुनाए, 'रात, दिन र बिदा समेत नभनिकन काम गरेको कारण यति चाँडै यो प्रगति सम्भव भयो। अब मैले गर्ने काम नै बाँकी केही रहेन यहाँ।'

***

नेपाल औषधि लिमिटेडमा सुवेदी प्रवेश गर्नुअघि 'कोमा'मा थियो। संस्था त थियो तर उत्पादन बन्द। औषधि उत्पादन हुन छाडेकोमात्रै सात वर्ष भएको थियो। यसबीचमा महाप्रबन्धक बन्ने र कार्यकाल पूरा गरेर हिँड्नेक्रम भने जारी थियो। तर, औषधि लिमिटेडलाई कसैले ब्युँझाउन सकेका थिएनन्। यस बीचमा औषधि उत्पादन ठप्पै भएको थियो। 

दुई वर्षअघि तत्कालीन उद्योग मन्त्री नवीन्द्रराज जोशीले जीवनजल उत्पादनको उद्घाटन गर्दै यसलाई पुनर्जीवनको पहल थाले। खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक बनेर औषधि लिमिटेडमा प्रवेश गरेका सुवेदीले यसको पुनर्जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहे। उनी भित्रिएको चार महिनामै उत्पादन सुरु भयो।

सुवेदीले जिम्मेवारी सम्हालेको २ वर्षमै ६ प्रकारका औषधि उत्पादन सुरु भयो। थप १६ भन्दा बढी प्रकारका औषधि ट्रायलमा गए। लिमिटेडले पञ्च वर्षीय योजना पनि बनायो। तर, महाप्रबन्ध सुवेदी अहिले औषधि लिमिटेडबाट एकाएक बिदा भएका छन्।

सुवेदीले आफ्नो काम सकिएर राजीनामा दिएको बताए पनि काममाथि हस्तक्षेप भएको प्रस्ट छ। उनले त्यो दवाव थेग्न सकेनन्। एक महिनाअघिसम्म फुल फर्ममा रहेका उनको राजीनामा सामान्य कारण आउने त कुरै थिएन। तर, सुवेदी यसलाई स्विकार गर्दैनन्। आफ्नो राजीनामाको फ्याक्टर कुनै मन्त्री र कर्मचारी नभएको बताए। आफ्नो राजीनामामा कोही नजोडिउन भन्ने चाहना भएको सुनाए उनले। 

'राम्रो काम गरिरहेको मान्छेले कार्यकाल सकिनुअघि राजिनामा दिँदा काम गर्न नसकेर या कसैको दबाबमा परेर राजिनामा दिएको कुरा आउँछ। सरकारी संस्थामा यस्तो नहुने पनि होइन्,' सुवेदीले भने, 'तर, म व्याक्तिगत कारणले राजिनामा दिएको भन्छु। अफिसियल कारण जोड्यो भने मसँगै धेरैको नाम जोडिन आउँछ। म त्यस्तो चाहन्न।'

आफूले छाडे पनि औषधि लिमिटेडको काम नरोकिने बताउँछन् उनी। बनाएका योजना कार्यान्वयन गर्दै लैजाने हो भने लिमिटेडले प्रगति गर्ने सुनाए। भने, 'मैले आफूले गर्नुपर्ने काम सकिएको भएर बिट मारेको हुँ। एउटा लेभलमा पुर्‍याएर छोडेको छु। अब जो कोही आए पनि टेक ओभर गर्न सक्छ।'

सुवेदीको औषधि लिमिटेडमा प्रवेश गर्नुअघि लक्ष्य प्रस्ट थियो। तीन वर्षको अवधिमा के गर्ने भनेर योजना बनाएर आएका थिए। त्यसैले उनले नियुक्ति पाउनासाथ 'एक्सपर्ट'हरु हायर गरे। छिटो के 'रिजल्ट' निकाल्न सकिन्छ भन्ने कुरामा 'फोकस' भए। इतिहासलाई चिर्नु थियो। 'एक्सपर्ट'हरुको सल्लाह अनुरुप 'वर्क आउट' गरे। तीन वर्षमा गर्छु भनेको काम २ वर्षमै सकियो। सुवेदीले भने, 'मैले औषधि लिमिडेटमा आएर जे गर्छु भनेको थिएँ त्यो सकियो। अब के को लागि बस्नु यहाँ?'

सुवेदी औषधि लिमिटेडमा हुनअघि एउटा निजी संस्थामा काम गर्थे। नेपाल औषधि लिमिटेडमा काम गर्ने प्रकिया भने उनलाई अलमल लाग्थ्यो। नोटिस, टेण्डर, सार्वजानिक खरिद जस्ता कुराले यता धेरै समय खान्थ्यो। एकजनाले हुने काममा ५ जना लाग्थ्यो। तै पनि उनले सबै पक्षसँग 'कोअर्डिनेट' गरिरहेका थिए। 

'म दुई वर्षमै थाकेँ। रेस्ट नगरी काम गरेकाले रिजल्ट पनि राम्रै निस्क्यो,' सुवेदीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell