
काठमाडौँ : ललितपुरको जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित हात पारेको छ। जावलाखेलले बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा काठमाडौको मछिन्द्र क्लबलाई २-१ ले हरायो।
बुधवारै हलचोकस्थित एपीएफको मैदानमा भएको खेलमा एनआरटी र फ्रेण्ड्सले बराबरी खेल्दै अंक बाँडेका छन्।
अरुज सिंहले ५५औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। त्यसको दश मिनेटपछि विदेशी खेलाडी फोडे फोफनाले गोल गर्दै जावलाखेलको अग्रता दोब्बर पारे। निर्धारित समयको अन्तिम मिनेटमा मछिन्द्रका विदेशी खेलाडी अलावाले गोल गर्दै गोल अन्तर कम पारेपनि हार टार्न पर्याप्त भएन।
सिजनको तेस्रो जितपछि ११ खेलबाट ११ अंक जोडेको जावलाखेल अंकतालिकामा नवौँ स्थानमा उक्लेको छ। समान खेलबाट ६ अंक रहेको मछिन्द्र भने १२औँ स्थानमा यथावत छन्।
उचा हलचोकमा भएको खेलमा एनआरटीले आत्मघाती गोलको सहयोगमा पहिलो हाफको अन्त्यितर अग्रता लिएपनि दोस्रो हाफमा गोल खायो। फ्रेण्ड्सका बबी ओगोलाले ४४औँ मिनेटमा आत्मघाती गोल गरेपछि एनआरटीले अग्रता लिएको थियवो। ७८औँ मिनेटमा फ्रेण्ड्सका असिम भुसालले बराबरी गोल फर्काए।
बराबरीपछि ११ खेलबाट ९ अंक जोडेको फ्रेण्ड्स ११औँ स्थानमा यथावत छ भने समान खेलबाट ५ अंक रहेको एनआरटी पूछारमा छ।