काठमाडौं : निर्वाचन अगाडिसम्म लाजिम्पाटमा बसेका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निर्वाचनलगत्तै खुमलटारमा बसाइ सरे। यसबीच प्रचण्ड खुमलटारको धुलाम्मे बाटोमा हिँडे। बुधवार प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रचण्डले विकासको गति देखाउँदै थिए।
'हुन त निर्वाचन अगाडि म लाजिम्पाटमा बसेँ। लाजिम्पाटबाट खुमलटारमा सरेको झण्डै एक वर्ष धुलोमै हिँडी राख्नुपर्ने भयो। तर, अहिले यहाँ आइपुग्दा त्यो धुलोमैलोको स्थिति रहेन्,' उनले भने, 'मैले हेरेँ यो म कहाँ मात्र हो कि भन्दा। होइन, यो बिस्तारै काठमाडौं उपत्यकाभरि त्यो परिस्थिति बन्दै छ। जनगुनासो सुन्दै जाँदा सरकारको पनि सत्तापक्षको दलको पनि नयाँ गति दिँदै प्रक्रिया हुँदैछ।'
उनले सबै साझा एजेण्डा विकास निर्माण र समृद्धि हुँदै गएकोसमेत बताए। उनले आफू सरकारमा नभए पनि सत्तारुढ दलको अध्यक्षको हैसियतले देश घुम्दै जाँदा सत्तापक्ष र विपक्षी दलका नेता कार्यकर्ताले विकास चाहेको भेटेको बताए।
'हिजो सबै दलको साझा एजेण्डा संविधान निर्माण थियो। आज सबैको साझा एजेण्डा विकास निर्माण हो,' उनले भने, 'हामीलाई एउटा छट्पटी पनि छ। हुटहुटी पनि छ। विकासलाई छिटो भन्दा छिटो अगाडि बढाउँ देशलाई विकास गरौँ।'
'शान्ति प्रक्रियाको एउटा नेताको हैसियतले आफूलाई ने क पाको भविष्य के हुन्छ कांग्रेसको भविष्य के हुन्छ? मधेश केन्द्रीत दलको अवस्था के हुन्छ भन्ने कुरा मेरै टाउकोमै पो छ कि भन्ने लाग्छ। यो भ्रम हो कि बास्तविकता के हो थाहा छैन,' उनले भने, 'तर मलाई यस्तै भइराख्छ। मलाई खुशी छ कि हामी ठीक दिशामा अगाडि बढ्दैछौं।'
नयाँ सिस्टममा आएका बेला केही कमी कमजोरी भए पनि त्यसलाई सुधार गरेर लैजानुपर्ने उनले बताए। 'केही कमी कमजोरी भएका छन्। हामी नयाँ सिस्टममा आएको बेलामा सहज हुँदैन। जानेमानेको बाटोमा हिँड्न सजिलो हुन्छ। नजाने नहिँडेको बाटो भने पछि त्यहाँ केही न केही के होला कसो होला भन्ने आशंका... त्यो प्रयोग गर्ने क्रममा अफ्ठ्याराहरु आउँछन नै,' उनले भने।
उनले लोकतान्त्रिक प्रणाली विकास छिटोछिटो हुने प्रणाली नभएको बताए। 'सरकारले छिटछिटो विकास गर्ने सपना देख्ने गरे पनि मैले अगाडि भन्न छुटाएँ। यो लोकतान्त्रिक प्रणाली भन्ने विकास छिटोछिटो हुने प्रणाली होइन,' उनले भने।
उनले बलत्कार र हत्याको घटना बढेकोमा चिन्तित भएको बताए। उनले कञ्चनपुर घटनाले सरकारको कार्यक्षमता र अनुसन्धानको काममा प्रश्न उठेको स्वीकार गरे। उनले यस घटनाका विषयमा पार्टी कमिटीमा पटक पटक छलफल भएको बताए। यसलाई गम्भीर ढंगले छानविन हुनुपर्योल भन्ने विषयमा प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल भएको बताए।
उनले यस विषयमा सरकार गम्भीर ढंगले अगाडि बढेको बताए।
'सुरुका दिनमा प्रहरी प्रशासनबाट केही कमी कमजोरी भएकै हो। कहीँ न कहीँ ल्याप्सेस भएको महसुस गरेर हामीले त्यसलाई गम्भीर ढंगले अनुसन्धान गरिनुपर्छ भन्यौँ। त्यसपछि सरकार गम्भीर ढंगले लागेको महसुस गरेको छु,' उनले भने।