PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

सरकारलाई समर्थन गरेको राजपाको असन्तुष्टि : टोल टोलमा पुग्नुपर्ने सरकार पोलपोलमा छ



पहिलोपोस्ट

सरकारलाई समर्थन गरेको राजपाको असन्तुष्टि : टोल टोलमा पुग्नुपर्ने सरकार पोलपोलमा छ

काठमाडौं : सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टीले सरकारको कडा आलोचना गरेको छ। संसदको हिँउदे अधिवेशनको सुरुवाती बैठकमा बोल्दै राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले दुई तिहाइको सरकारले राम्रो काम गर्न नसकेको आरोप लगाए।
 
'दुई तिहाइको सरकार 'खोदा पहाड निकला चुहा'। त्यत्रो आशा गरेको जनताले, हामीले पनि आशा गरेको दुई तिहाइको सरकार हो। थुप्रै कुरा हुन्छ के हुन सक्दैन? अनि खोइ त त्यो आशा निरासामा बदलियो त,' उनले भने, 'सरकारी पक्षलाई यसको महसुस पनि हुनुपर्ने हो। यस्तोमा जनतामा निरास बढ्दै गएको छ आफ्नै पिठ थपथपाएर हुँदैन। एकदम राम्रो गरेको छु भनेर कहाँ हुन्छ जनताले भन्नुपर्‍यो नि।'

उनले सरकारले केही पनि गर्न नसकेको आरोप लगाउँदै भने, 'यो दुई तिहाइको सरकारले राम्रो काम गरेको छैन।'

उनले राम मनोहर यादवलाई सरकारले हिरासतमा हत्या गरेको भन्दै उनको शव अझै अस्पतालमा रहेको भन्दै आपत्ती जनाए। 'लास चार महिनादेखि अस्पतालमा छ खोइ न्याय पाएको?,' उनले प्रश्न गरे। घटनाको छानविन गर्न आफूहरुले समिति गठन गर्न माग गरेको र सभामुखसमेत रुलिङ गरेको स्मरण गराउँदै अहिलेसम्म पनि समिति गठन नभएकोमा आपत्ति जनाए।
 
उनले निर्मला पन्तको बलात्कारी र हत्यार पत्ता लगाउन सरकार असफल भएको आरोप लगाए। '१५५ दिन भइसक्यो खोइ त निर्मला पन्तको हत्यारा? खोइ कहाँ हराए हत्यारा र बलात्कारी?,' उनले प्रश्न गरे।

उनले टोल टोलमा पुग्नुपर्ने सरकार नभेटिएको भन्दै ब्यंग्य गरे। 

'यहाँ त पत्रपत्रिकामा आउँछ सरकार नै भेटिँदैन। अब टोल टोलमा सरकार पुग्नुपर्ने पोल पोलमा पुगिरहेको छ। अनि हुन्छ, यसरी हुन्छ? यो त हुँदैन नि हो,' उनले भने।
 
उनले आफूहरुले पटक पटक संविधान संशोधन गरौँ भनेर भनिरहेको स्मरण गराउँदै उनले भने, 'यो गडबड संविधान बनेको छ। यसलाई संशोधन गरौँ भनेका हौं। यो लटरपटर भएको छ। बेइमानी भएको छ। संशोधन गरौं भन्या हो खोइ त?,' उनले अगाडि भने, 'दुईवटा सेसन त सकिइसक्यो खोइ त? संशोधन गर्नुपर्दैन?'

उनले संशोधन नगरे यो संविधान पनि खारेज हुने बताए।

'छ वटा संविधान त आएको हो नि देशमा। खोइ त कहाँ गए? यही धन्दाले गर्दा छ वटा संविधान गयो,' उनले भने, 'यो सातौँ संविधान पनि खत्तम गर्ने काम नगर्नुस्। धेरै मिहेनत गरेर जनताको रगत बगाएर आएको संविधान हो यो। जसरी पनि जोगाउनुपर्छ। जोगाउनका लागि जनताको माग अनुसार समय सापेक्ष संशोधन अनिवार्य गर्नै पर्छ। अन्यथा दुनियाँको कुनै शक्तिले यो संविधानलाई जोगाउन सक्दैन।'

उनले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवप्रति पनि व्यंग्य गर्न भ्याए। 'हाम्रो एक जना पार्टनर सरकारमा छ के। सरकारमा गएको संशोधन गर्छु भनेर। तर, खोज्दाखोज्दा भेट्दैन,' उनले भने।
 
संसदको रोस्टमबाट प्रधानमन्त्रीले १० महिना पहिला संविधान संशोधन गर्छु मुद्दा फिर्ता लिन्छु भने पनि नगरेको आरोप लगाए। सरकारले जननिर्वाचित सांसदलाई सपथ नगराएर जनतमतको अपमान गरेकोसमेत उनले आरोप लगाए।
 
'जनताले मत दिएर जिताए। निर्वाचन आयोगले पनि घोषणा गरिसक्यो। तर संसदमा छिर्न नदिने?,' उनले भने, 'निर्वाचित सांसद सपथ गराउ भन्दै अनशन बस्छ। गृहमन्त्रीले जुस खुवाएर अनशन तोडाउँछन् तर सपथ गराउँदैनन्,' उनले भने, 'लहरो तान्दा पहरो जान्छ। याद गर्नुस्। अत्याचारको सीमा हुन्छ। जुन जुन कालखण्डमा अत्याचार हुन्छ त्यहाँ बिष्फोट हुन्छ। यो कुनै चेतावनी होइन न कुनै धम्की हो।' 

नेता महतोले एसिया प्यासिफिक समिटको पनि विरोध गरे। उनले 'होली वाइनले नेपालीलाई शुद्ध गराउने प्रयास गरेको' आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell