
लिभरपुलले प्रिमियर लिग २०१८-१९ को सिजनको पहिलो चरणमा अपराजित यात्रालाई कायम राख्दै बुधवार न्यूकासल युनाइटेडलाई ४-० ले पराजित गरेको छ। १९ मध्ये १६ खेलमा जित र ३ खेल बराबरी गरेको लिभरपुल ५१ अंकसहित शीर्ष स्थानमा छ।
घरेलु मैदानमा लिभरपुलका लागि डेजान लोभरेन,मोहमद सलाह, जेर्दान शाकिरी र फाविन्होले एक-एक गोल गरे।
अर्को खेलमा एएफसी बर्नमाउथलाई ५-० ल पराजित गर्दै टोटनहम दोस्रो स्थानमा उक्लेको छ भने लेस्टर सिटीसँग २-१ ले पराजित भएको म्यानचेष्टर सिटी तेस्रो स्थानमा झरेको छ। साविक विजेता सिटीको यस सिजन यो तेस्रो हार हो।
जितपछि टोटनहमले १९ खेलबाट ४५ अंक जोडेको छ भने समान खेलबाट सिटीको ४४ अंक छ।
टोटनहमलाई शानदार जित दिलाउन सेउन मिन हेउनले दुई तथा क्रिस्टियन एरिक्सन, लुकास मउरा र ह्यारी केनले एक-एक गोल गरे। सिटीले सुरुमा अग्रता लिएपनि त्यसलाई कायम राख्न नसक्दा पराजित भएको हो। बर्नार्डो शिल्भाको गोलमा सिटीले अग्रता लिएपनि मार्क अलव्रिड्डटनले लेस्टरका लागि बराबरी गोल फर्काए भने रिकार्डो परेइराले विजयी गोल गरे। ८९औँ मिनेटमा फावियन डेल्फले रातो कार्ड पाएपछि सिटी दश खेलाडीको झरेको थियो। सिटीलाई हराएपछि २८ अंक जोड्दै लेस्टर सातौँ स्थानमा उक्लेको छ।
उता एडेन हाजार्डले दुई गोल गरेपछि लण्डन चेल्सीले वाटफोर्डलाई २-१ ले पराजित गरेको छ। अर्को लण्डन क्लब आर्सनल भने ब्राइटनसँग १-१ को बराबरीमा रोकिएको छ।
१९ खेलपछि ४० अंक जोडेको चेल्सी चौथो र ३८ अंकसहित आर्सनल पाँचौ स्थानमा छ।
पउल पोग्वाले दुई गोल गरेपछि म्यानचेष्टर युनाइटेडले हडर्शफिल्डलाई ३-१ ले पराजित गरेको छ। नयाँ म्यानेजर ओले गनर सोल्सायरको प्रशिक्षणमा युनाइटेडले लगातार दुई खेल जितेको हो।
जितपछि १९ खेलबाट ३२ अंक जोडेको युनाइटेड छैटौँ स्थानमा छ। यस्तै बर्नलीलाई ५-१ ले हराउँदै एभरटन आठौँ स्थानमा उक्लेको छ। १९ खेलबाट एभरटनको २७ अंक छ।