
काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीवार यस सिजनकै प्रतिक्षित खेल हुँदैछ। यस खेलले लिगको उपाधि होडलाई प्रभावित पार्नेछ।
एन्फा कम्प्लेक्स मैदानमा हुने ११औँ चरणको खेलमा शीर्ष स्थानमा रहेको मनाङ मर्स्याङ्दी र दोस्रो स्थानमा रहेको संकटा क्लब भिड्दैछन्। स्पष्ट छ संकटालाई पराजित गर्न सके मनाङले दुई खेल अगावै लिगको उपाधि पक्का गर्नेछ। यस्तोमा मनाङ कीर्तिमानी आठौँ पटक लिग च्याम्पियन बन्नेछ।
उता यस सिजन अन्डर डगको छवी अनुसार प्रदर्शन गरिरहेको संकटा मनाङलाई रोक्दै उपाधि होडमा आफूलाई पनि कायम राख्ने लक्ष्यमा हुनेछ।
यस सिजन अपराजित एक्लो टिम मनाङले दशौँ चरणमसम्म शतप्रतिशत नतिजा हात पार्दै ३० अंक जोडेको छ। संकटाले भने ८ मा जित, एक बराबरी र एक हारको नतिजा निकाल्दै २५ अंक जोडेको छ। संकटाले यस सिजन आर्मीसँग मात्र हार बेहोरेको थियो भने नेपाल पुलिस, हिमालयन शेर्पा र च्यासल जस्ता बलिया मानिएका क्लबलाई पराजित गरिसकेको छ।
मनाङले पनि उपाधि होडमा रहेको थ्री स्टार, आर्मी, पुलिस, च्यासललाई पराजित गरिसकेको छ।
यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको मनाङ र संकटाबीचको खेल प्रतिसपर्धात्मक बन्ने पक्का छ।
यस खेलमा जितले मनाङले उपाधि पक्का गर्नेछ छ भने बराबरीले पनि उपाधिको नजिक पुग्नेछ। यदी संकटाले मनाङलाई पराजित गरेमा मनाङको अपराजित यात्रा टुङ्गिनेछ नै अंकदुरी समेत कम हुनेछ। यस्तो भएमा मनाङले उपाधि जित्नका लागि लिगको अन्तिम चरणको खेलसम्म नै कुर्नुपर्नेछ।
ए डिभिजन लिगकै सर्वाधिक सफल क्लब मनाङ साढे चार वर्षपछि भएको लिगमा उपाधि रक्षा गर्ने अभियानमा छ। २०७० सालमा पछिल्लो पटक भएको लिगमा मनाङ च्याम्पियन बनेको थियो।