PahiloPost

Jan 1, 2025 | १७ पुष २०८१

धरहरा शिलान्यासपछि प्रधानमन्त्री ओलीले भने : 'मै बनाउँछु मेरो धरहरा' अभियान सफल हुन सकेन

धरहरा शिलान्यासपछि प्रधानमन्त्री ओलीले भने : 'मै बनाउँछु मेरो धरहरा' अभियान सफल हुन सकेन

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ: प्रधामन्त्री केपी शर्मा ओलीले २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निमाणका लागि शिलान्यास गरेका छन्। 

शिलन्यासपछि प्रधानमन्त्री ओलीले 'मै बनाउँछु मेरो धरहरा' अभियान अघि बढ्न नसके पनि नयाँ धरहरा बन्न लागेकोमा खुसी व्यक्त गरे। २०७२ फागुन २ गते धरहरा परिसरमा  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो धरहरा म आफैँ बनाउँछु’ अभियान सुरु गरे पनि काम अघि बढ्न सकेको थिएन।

'यो पटक पटक भत्कियो। फेरि बनाउने गरियो। ७२ साल वैशाख १२ गतेको भूकम्पले फेरि भत्कायो। हामीले सम्पूर्ण कुराहरू नै पुनर्निमाण थाल्यौ। धरहरा पनि एउटा हो। जसको पुनर्निमाण हामीले थालिसकेका छौ,' प्रधानमन्त्री ओलीले भने,  'अलिकति फरक ढाँचामा सोचेको थिएँ अघिल्लो पटक। मै बनाउँछु मेरो धरहरा। सरकारी खर्चमा होइन जनताको लगानीमा। त्यो अभियानमा ब्रेक लाग्नुपर्‍यो। त्यो अभियान अगाडि जान सकेन।'

जनताको आंकक्षाअनुरुप २०७२ फागुन ४ मा 'मै बनाउँछु मेरो धरहरा' भनेर संकल्प व्यक्त गरेको उल्लेख गर्दै ओलीले उक्त अभियानले तीव्रता पाउन नसकेको बताए। भने, ''मै बनाउँछु मेरो धरहरा' भनेर संकल्प व्यक्त गरेको थिएँ। उक्त अभियानले तीव्रता पाउन सकेन। अब २ वर्षभित्र धरहरा निर्माण हुने प्रतिबद्धता ठेकेदार कम्पनीले जनाएको छ। हामी फेरि हाम्रो गौरवपूर्ण धरहरा हाम्रो आँखा अगाडि हेर्नेछौ। हराभरा काठमाडौँ धरहराबाट हेर्नेछौ।'

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा धरहरा निर्माणको कार्य अघि बढेको हो। धरहरा निर्माण हुने परिसरका सम्पूर्ण संरचना भत्काइएको छ।


ट्रेन्डिङ पोस्ट

Ncell