
काठमाडौं : फिल्म 'चङ्गा चेट' कार्तिक १६ गतेदेखि प्रदर्शनमा आयो। फिल्मलाई प्रदर्शनको दोस्रो सातामा आमिर खानको 'ठग्स अफ हिन्दुस्तान'ले असर गर्ने देखिएको थियो। तर, आमिरको फिल्मले मल्टिप्लेक्समा कब्जा गर्न सकेन। चङ्गा चेटलाई यसको फाइदा मिल्यो।
ठग्स नचलेपछि हल संचालकहरुले फेरि 'चङ्गा चेट'लाई मल्टिप्लेक्समा सो थपिदिए। निर्माण टिमले खुशी हुँदै सामाजिक सञ्जाल फेसबुकतर्फ फिल्मको प्रदर्शनको जानकारीसहितको फोटो पनि राखे।
तर, अहिले प्रदर्शनको दुई महिना बित्न लाग्दा पनि निर्माताले फिल्मको पैसा नपाएको गुनासो गरेका छन्। निर्माता माधव वाग्लेले बक्स अफिसबाट अझै डाटा प्राप्त नगरेको बताए।
उनले भने, 'यो बक्स अफिसको कुरा चाहिँ मेरो अध्यक्षलाई र विकास वोर्डको अध्यक्षलाई थाह होला। मलाई केही पनि थाहा छैन, बक्स अफिस के हो भनेर। फिल्मको पैसा पाउने चरणमा छ। सिंगल थियटरबाट आधा जति पाएँ। मल्टिप्लेक्सले हप्तामा पैसा दिनुपर्ने नियम पनि हामीले नै सुरु गरेका हौं। तर, मैले मेरो फिल्मको पूरा पैसा पाएको छैन। के गर्नु दु:ख लाग्दो अवस्था छ।'
यसै फिल्ममा नक्कली नोटको प्रयोग गर्दा उनी थुनामा पनि परेका थिए। उनी पछि धरौटीमा छुटेका थिए। निर्माताहरुले अझै बक्स अफिसबाट रियल डाटा पाउन सकेका छैनन्। माघ १ गतेदेखि मोफसलमा बक्स अफिस लागू हुने बताइएको छ।
बक्स अफिस संचालक समितिका सदस्य एवं नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले विकास वोर्डमा सदस्यको अभाव हुँदा यो समस्या देखिएको बताए। उनले जेठको अन्ततिर मोफसलमा बक्स अफिस लागू हुने बताए। साउन १ गतेबाट उपत्यकाभित्रका हलहरुमा बक्स अफिस लागू भएको हो। बक्स अफिसले रियल डाटा दिने पर्खाइमा छन् निर्माता।