PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कर्णालीका बाढीपीडित शीतबाट जोगिन 'कट्टा'को टालो बनाउँदै, चार वर्ष बित्दा पनि पाएनन् स्थायी वास 



पी बी खड्का

कर्णालीका बाढीपीडित शीतबाट जोगिन 'कट्टा'को टालो बनाउँदै, चार वर्ष बित्दा पनि पाएनन् स्थायी वास 

सुर्खेत: पुस महिना दिउँसोको न्यानो घाम। त्यही घाम ताप्दै बाढीपीडत प्लाष्टिकको कट्टाकबाट पाल सिलाउँदै थिए। च्यातिएका पालमा टालो हाल्ने र ओछ्याउन। चार वर्षदेखिका त्रिपाल च्यातिएर न घाम छेक्छ न पानी। 

यस्तै कथा छ सुर्खेतका बाढीपीडितको। सिमेन्टको कट्टा जम्मा गरेर पाल बनाउँदै थिईन् ४६ वर्षीया मनरुपा सुनार। विगत चार वर्षदेखि वीरेन्द्रनगर महिला प्रशिक्षण केन्द्रमा बस्दै आएकी छिन् सुनार।

‘बस्ने वास छैन। खाने गास छैन। के गर्ने?’ त्रिपालको झुप्रो देखाउँदै मनरुपाले भनिन्,‘त्रिपाल च्यातिएर शीत चुहिन्छ। त्यसैमा टालो हाल्ने हो। किनौँ भने पैसा छैन। कट्टासट्टा सिलाएर वास बनाउँछौँ।’ 

च्यातिएका त्रिपालमा टालो हाल्दै चिसो गुर्जादै छन् बाढी पीडित। त्रिपालको वासमा कठ्याङ्ग्रीदै रात विताउने गरेको उनी बताउँछिन्। ‘चार वर्ष भइसक्यो हामी त्रिपालमुनिको वास बस्न लागेको।’ उनले भनिन्,‘असारसाउनको झरीमा र पुसमाघको चिसोमा बस्नै नसक्ने हुन्छ। भएका त्रिपालपनि च्यातिएर प्वालै प्वाल भए।’  

चिसोले गर्दा बच्चाबच्ची विरामी पर्न थालेको उनले बताईन्। ‘हामी जस्ता बुढाबुढी र बालबच्चाको हत्ते छ। न तातो लगाउने कपडा छन्, न तातो ओढ्ने ओछ्याउने नै  छ।’ 

मजदुरी गरेर विहान बेलुका छाक टार्ने सुर्खेतका ९ सय ७१ परिवारका बाढीपीडितको हालत यस्तै छ। २०७१ साल साउन २९, ३० र ३१ गते सुर्खेतका विभिन्न स्थानमा आएको बाढी पहिरो उठिबास लागेका बाढीपीडित घाटगाउँ, लेखपराजुल, गिरीघाट, झुप्राखोला, मसिना, भूतेलिताल लगायतका क्षेत्रमा बस्दै आएका छन्।

बालबालिका पर्न थाले विरामी

भेरीगंगा नगरपालिका–९ पाडुलेकी लिला बैगारसँग ४ वर्षीय छोरी र डेढ वर्षको छोरा काखमा छन्। ‘चिसोमा लगाउने न तातो कपडा छ, बस्ने वास नै गतिलो छ।’ उनले भनिन्, ‘चार वर्ष वितिसक्यो यही झुप्रोमा के गर्ने? गिट्टी कुटेर विहान बेलुका खान ठिकै हुन्छ। घर बनाउने त सपना छ।’

तातो कपडा नहुँदा चिसोले बच्चाबच्ची विरामी हुन लागेको उनले बताईन्। ‘चिसोले गर्दा होला बच्चा बच्ची विरामी परेको परै छन्। के गर्ने उपचार गर्ने हो पैसै चाहिने। हामी पीडितलाई कहाँबाट आउने पैसा र उपचार गर्ने,’ उनले भनिन्,‘अहिले एक हप्ता जति भयो साना बच्चाबच्ची विरामी परेर हैरान बना’छन्। एउटा सन्चो हुन्छ अनि अर्को विरामी।’

कहिले पाउने वास?

अहिले तीनै तहका सरकारले आश्वासन बाहेक अरु केही बाँड्न सकेका छैन्। स्थानीय, प्रदेश र संघीय सरकारका पदाधिकारीले बाढीपीडितलाई आश्वासन मात्रै दिने गरेको बाढीपीडितको गुनासो छ। 

स्थानीय र प्रदेश सरकार आएर पनि आफुहरुलाई सरकार आएका अनुभुति नभएको पीडित बैगार बताउँछिन्। ‘गाउँमा सिंहदरबार आयो भन्छन्। खोइ हामीलाई केही त आएको छैन्।’ आक्रोसित हुदैँ उनले भनिन्,‘जो सरकार आए पनि हाम्रो दुःख यस्तै हुन्। कसैले केही गर्दैनन्। आफ्नो दुनो सोझ्याउछन्। नामका मात्रै सरकार हुन्।’
 
चार वर्ष वितिसक्दा पनि कुनै पनि सरकारको ध्यान नपरेको भन्दै आक्रोस पोखिन्। ‘खोइ हामीले कहिले पाउने बस्ने घर? सरकार आएर पनि यस्तै जीवन वितारहनुपर्ने?’ प्रश्न गरिन्। अब सरकारले आश्वासन मात्रै नभएर जति सक्यो छिटो बाढी पीडितको समस्या समाधान गर्न लागि पर्नुपर्ने बताईन्। 

प्रदेश सरकारको फितलो ‘एक्सन’

यसअघि प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले तत्काल आफुहरु बाढी पीडितको समस्या सल्टाउन एक्सनमा जाने प्रतिवद्धता गरेका थिए। प्रदेश सरकारले गठन गरेको गरेको बाढी पीडितको समस्या समाधान गर्न बनेको उच्च स्तरीय समिति अल्मलिएको छ। गठन गरेको करिव ८ महिना वितिसक्दा पनि लगत संकलनमै अड्किएको छ। ‘हामीले लगत लिइरहेका छौँ।’ समितिका सदस्य यज्ञ ढकालले भने,‘अब हामी जति सक्यो छिटो पुर्नस्थापना गर्ने काम शूरु गर्नेछौँ।’
 
अब समितिले पुर्नस्थापनाका लागि दुई वटा अप्सन रोज्ने बताए। ‘पीडितलाई अहिले बसेकै शिविरमा बसाउनेकी पुरानै स्थानमा पुर्नस्थापना गर्ने भन्ने छ,’ उनले भने। 

यता आन्तरिक मामिला तथा कानून मन्त्रालयले बाढीपीडितको पुर्नस्थापना गर्न करिव ७ करोड बजेट स्विकृत गरेको बताए। ‘हामीले लगत संकलनको काम सकाएका छौँ,’ उनले भने,‘अब प्रक्रियागत तरिकाले अघि बढ्दा ढिलाई भएको छ। अवश्य पनि अव छिट्ट पुर्नस्थापना गर्छौँ।’ बाढीपीडितकै पुर्नस्थापनाका लागि प्रदेश सरकारले ७ करोड बजेट विनियोजन गरेको बताए।

जग्गा खोज्दै सरकार: मन्त्री बस्नेत

यता, संघीय सरकारका वनमन्त्री शक्ति बस्नेतले पनि अव बाढीपीडितको समस्या छिट्टै समाधान हुने बताए। सरकार स्थाई नभएकाले समस्या उस्तै भएको भन्दै अव यसो नहुने दावी गरे। ‘यस अघि सरकारनै स्थाई थिएन। काम गर्न पनि गाहे हुन्थ्यो।’ उनले भने,‘अब जति सक्यो प्रदेश सरकार र संघीय सरकारका मन्त्रालयहरु समन्वय गरेर यहाँका बाढी पीडितलाई घरमुनी ल्याउँछौं।’

अहिले सरकारले पुर्नस्थापनाका लागि जग्गा खोजिरहेको बताए। जग्गाको टुंगो लाग्दा वित्तिकै पुर्नस्थापनाको काम अघि बढ्ने बताए।‘सरकारले जग्गा खोजिरहेको छ।’ उनले भने,‘जग्गाको टुंगो लाग्ने वित्तिकै हामी पुर्नस्थापनाको काम अघि बढाउँछौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell