काठमाडौँ : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकार, सुरक्षा संयन्त्र प्रमुख सुरक्षा चुनौतीका रूपमा विश्लेषण गर्दै आएका छन्। 'विप्लव समूह'का नाममा राजनीतिक सङ्गठन भन्दा पनि सुरक्षा चुनौतीको रूपमा विश्लेषण गरिँदै आएको यही समूहसँग वार्ता नगरी सरकारी वार्ता टोलीले देशमा द्वन्द्व समाप्त भएको निष्कर्ष निकाल्दै राजनीतिक वार्ता समितिले प्रधानमन्त्रीलाई रिपोर्ट बुझाएको छ।
गत भदौ ८ गते मन्त्रिपरिषद्को बैठकले सांसद सोमप्रसाद पाण्डेको नेतृत्वमा अधिकार सम्पन्न उच्च स्तरीय राजनीतिक वार्ता टोली गठन गरेको थियो। यो वार्ता टोलीको मुख्य कार्यक्षेत्र भनेको संघर्षरत पक्षसँग वार्ता गर्नु थियो। तर टोलीले विप्लव नेतृत्को पार्टीसँग वार्ता भने गर्न सकेन।
द्वन्द्व समाप्त भएको दाबीसहित बुझाइएको प्रतिवेदनमा विप्लव समूहका कार्यकर्तालाई थुना मुक्त गरे पनि उनीहरूसँग छलफल हुन नसकेको उल्लेख छ। अर्ध भूमिगत गतिविधिमा सक्रिय रहेको विप्लव नेतृत्वको नेकपा माओवादीले बन्द, हडताल तोडफोडका घटनाको जिम्मा लिँदै आएको छ। त्यस्तै निर्वाचनका अवधिमा भएका बम विस्फोटका घटनामा विप्लव समूहको हात रहेको सुरक्षा संयन्त्रहरूले विश्लेषण गर्दै प्रमुख सुरक्षा चुनौती बताउँदै आएका थिए।
तर, २३ वटा विभिन्न समूहहरूसँग औपचारिक रूपमा वार्ता गरेको समूहले विप्लव नेतृत्वको समूहसँग भने वार्ता गरेनन्। यो टोलीका शीर्ष नेतृत्वसँग औपचारिक कुराकानीसमेत हुन् सकेन्। वार्ता टोलीका संयोजक रहेका पाण्डेले पटक पटक विप्लव समूहका लागि वार्ताका लागि आह्वान गरिएको बताउँदै आए पनि विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीलाई वार्ताका लागि आह्वान नगरिएको दाबी गर्दै आएको छ।
नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले केही दिन अगाडि मात्र बुटवलमा एक कार्यक्रममा वार्ताका लागि सरकारले पत्र नपठाएको बताएका थिए।
त्यस्तै वार्ता टोली गठन भएको साता दिन नबित्दै विप्लवले वार्ताको कुनै औचित्य नरहेको बताएका थिए। नेकपाका प्रवक्ता प्रकाण्डले सरकारले गम्भीरताका साथ सकारात्मक रूपमा वार्ताको आह्वान नगरेकोसमेत बताउँदै आएका छन्।
वार्ता टोलीका संयोजक पाण्डेले भने विप्लव नेतृत्वका नेता कार्यकर्तासँग छलफल भए पनि उनीहरूले वार्ता प्रति वास्ता नगरेको बताए।
'नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहसँग यस वार्ता टोलीको तर्फबाट संयोजक र सदस्यहरूले अनौपचारिक रूपमा केन्द्रीय स्तरका नेताहरूसँग धेरै पटक संवाद गरेता पनि उक्त समूहले वार्ताका लागि सकारात्मक अग्रसरता नलिएको हुँदा सो समूहसँगको वार्ता प्रक्रिया अघि बढ्न सकेन यद्यपि आगामी दिनमा सो समूहसँग समेत संवादको प्रक्रियालाई निरन्तरता दिनुका साथै उक्त समूहका अवैधानिक गतिविधि नियन्त्रण गरी कानुन कार्यान्वयन प्रक्रियालाई कडाइका साथ अघि बढाउनु उपयुक्त हुने देखिन्छ,' पाण्डेले भने।
विप्लव समूह मात्र होइन सुरक्षा संयन्त्रले चुनौतीको रूपमा विश्लेषण गर्दै आएको सिके राउत नेतृत्वको समूहसँग पनि टोलीले वार्ता गरेनन्।
टोलीले बुझाएको प्रतिवेदनमा मधेस केन्द्रित आन्दोलनमा सक्रिय सिके राउतको गतिविधिलाई राज्यद्रोह भन्दै समितिले वार्ता नै नगरेको उल्लेख गरेको छ। साथै उनीहरूमाथि सरकार कडारुपमा उत्रिनुपर्ने सुझाव समेत दिइएको छ।
'नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता, अखण्डतालगायत संविधान तथा राज्यविरुद्धका गतिविधि गर्ने सी.के. राउत समूहसंगको वार्ता यस टोलीको कार्यादेशभित्र नपर्ने हुँदा त्यस समूहसँग वार्ता गर्न उपयुक्त देखिएन,' टोलीले जारी गरेको वक्तव्यमा भनिएको छ, 'उक्त समूहका गतिविधिप्रति सरकार अझ चनाखो र सक्रिय भएर राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता, सार्वभौमिकताको रक्षा तथा अमनचैन कायम गर्ने दिशामा थप क्रियाशील हुनु पर्ने देखिन्छ।'
विप्लव र सिके राउतको प्रसङ्ग उठाउँदै द्वन्द्व त सकिएको रहेनछ नि भनेर प्रश्न गर्दा समितिका संयोजक सोमप्रसाद पाण्डेले भने, 'देशमा एकाध त यस्ता रहिहाल्छन् नि।'
समितिले हिजो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएपछि आज आयोजित पत्रकार सम्मेलनमा संयोजक पाण्डेले द्वन्द्वरत २३ सशस्त्र समूहसँग वार्ता भएको जानकारी दिए। तीमध्ये ३ समूहले हतियार बुझाएको जानकारी दिए।
उनका अनुसार माओवादी द्वन्द्व सकिएर शान्ति प्रक्रियामा आएपछि उदाएका यस्ता सशस्त्र सङ्गठनमा लागेका मध्ये ९० जनाको मृत्यु र ४२ जना घाइते भए।
वार्ता टोलीले एकाध समूहबाहेक अरू समूहसँग थप संवाद र वार्ता गरिरहनु नपर्नेसमेत दाबी गरेको छ।
२७९ मुद्दा फिर्ता लिन सकिने
यसैबी वार्ता टोलीले वार्ता भएका समूहका नेता कार्यकर्ता माथि लागेका २७९ वटा मुद्दा फिर्ता लिन सकिने सुझाव दिएको छ। वार्ता टोलीले अध्ययन गर्दा मुद्दा लागेका व्यक्तिहरू ६०७ रहेका छन्। जसमध्ये ३२८ मुद्दा फिर्ता लिन नसकिने प्रकृतिका रहेको बताइएको छ।
यसअघि सन् २०७१ सालमा गठन भएको सहमति सम्झौता कार्यान्वयन सुझाव कार्यदलले यस्ता समूहका ११७६ व्यक्तिहरूलाई मुद्दा लागेको उल्लेख विवरण जम्मा गरेको थियो।