काठमाडौं : 'गोपी' माघ १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म हो। निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्मको प्रचार थालेको छ। टिमले हालै फिल्मको प्रचारका लागि कविता प्रतियोगिता आह्वान गरेको हो।
आरोही इन्टरटेनमेन्टले बुधबार नगद पुरस्कारसमेत घोषणा गर्यो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार नगद दिइनेछ। त्यस्तै सात जनालाई जनही ५ हजार रुपैँयाको सान्त्वना पुरस्कार पनि प्रदान गरिने बताइएको छ।
प्रतियोगितामा सबै उमेर समुहकाले सहभागिता जनाउन सक्नेछन्। सहभागीले 'गोपी'को ट्रेलरले देखाउन खोजेको स्वावलम्बन, स्वरोजगार र परिश्रमका भाव झल्कने कविता लेख्नुपर्नेछ।
कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरेर विजेता छनोट गर्नेछन्। आगामी माघ ७ सम्म प्रतियोगीले कविता पठाइसक्नु पर्नेछ। कविता नेपाली भाषामा लेखिएको हुनुपर्ने निर्माण टिमले जनाएको छ। माघको दोस्रो हप्ता विजेता छनौट हुनेछ।
'गोपी'लाई साहित्यसँग जोड्नका लागि कविता प्रतियोगिता आयोजना गरिएको निर्देशक लामाले बताए। फिल्ममा सामिप्यराज तिमल्सेनाको पटकथा, शैलेन्द्र डि कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन छ। फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याललगायतको अभिनय छ।
b