
काठमाडौं : नेपाल चलचित्र निर्माता संघलाई 'द फेडरेशन अफ मोसन पिक्चर प्रड्यूसर्स इन एसिया'मा सदस्यता मिलेको छ। निर्माता संघका अध्यक्ष आकाश अधिकारी चीनमा भएको फेडरेशनको कार्यक्रममा सहभागी भएका थिए। २४ देश समावेश कार्यक्रममा नेपाली फिल्मलाई चीनमा प्रदर्शन गर्न प्रस्ताव राखेको आकाशले जानकारी दिए।
उनले त्यहाँ फिल्म किनबेचबारे विभिन्न देशहरुबीच छलफल गरेको बताए। भने, 'मैले त्यहाँ नेपाली फिल्म प्रदर्शन गर्नका लागि कुरा गरेको छु।अब मिटिङमा जाँदा पाँच नेपाली फिल्म लिएर जानेछु। फिल्मको ३-५ मिनेटको प्रमोसनल एड र सिनोप्सिस ती २४ राष्ट्रका प्रतिनिधिबीच देखाइनेछ। उनीहरुको भाषामा हामीले उल्था गरेर जानकारी दिनुपर्छ।'
प्रदर्शनमा उनीहरुले मन पराएको फिल्म उनीहरुको देशमा प्रदर्शनमा जाने उनले बताए।
संस्थाको १७ जनाको बोर्ड कमिटीमा पाँच वर्षका लागि आकाश पनि कार्यकारी सदस्य बनेका छन्। कोटा सिस्टममा फिल्म रिलिज हुने चीनमा वर्षमा दुईवटा नेपाली फिल्म पनि प्रदर्शन गर्नुका लागि आकाशले पहल गरेका छन्। निर्माता संघ अब फिल्मको अन्तर्राष्ट्रिय व्यापारमा पनि अघि बढ्ने भएको हो।
उनले वर्मा र सिक्किममा नेपाली फिल्म प्रदर्शनको प्रस्ताव अघि बढाएको जानकारी दिए। उनले भने, 'अहिले हामी नेपाली फिल्मका लागि अन्तर्राष्ट्रिय बजार खोज्न अघि बढेका हौं।'