
काठमाडौँ : नेपाल क्रिकेटर सन्दीप लामिछाने रहेको मेलवर्न स्टार्सले बिग बास लिग (बीबीएल-८) सिजनको पहिलो जित हात पारेको छ।
सन्दीपसहित बलरहरुको उत्कृष्ट प्रदर्शन अनी पिटर ह्याण्ड्सकम्बको ७० रन मद्दतमा स्टार्सले सिड्नी सिक्सर्सलाई ५ विकेटले पराजित गरेको हो।
यसअघि स्टार्स सिड्नी थण्डर र होबार्ट हुरिकेनसँग पराजित भएको थियो।
सन्दीपले लगातार तेस्रो खेलमा विकेट लिने क्रममा बिहीवार सिक्सर्सका २ खेलाडीलाई आउट गरे। तीन खेलमा ७ विकेट लिइसकेका सन्दीप सर्वाधिक विकेट लिने सूचीमा शीर्ष स्थानमा समेत उक्लिएका छन्।
सिक्सर्सले दिएको १३१ रनको लक्ष्य स्टार्सले १४.५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको हो। स्टार्सका लागि ह्याण्ड्सकम्बले ३५ बल खेल्दै ९ चौका र ३ छक्काको मद्दतमा ७० रन बनाए। निक लार्किनले २० रन जोडे।
त्यसअघि सिड्नी क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको सिक्सर्सले २० ओभरमा ९ विकेट गुमाएर १३० रन बनाएको थियो। सिक्सर्सका लागि जोर्डन सिल्कले नटआउट रहँदै ४१ रन बनाए।
स्टार्सका लागि किफायती बलिङ गरेका सन्दीपले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए। उनले मोएसिस हेनरिके र टम कुरानलाई एलबीडब्लु आउट गरे।
यस्तै ज्याक्सन कोलमनले ३ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। ड्वाने ब्राभोले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए।