काठमाडौँ : मनाङ मर्स्याङ्दी क्लबले शुक्रवार संकटा क्लबलाई ३-१ ले पराजित गर्दै गर्दै २ खेल अगावै यस सिजनको सहिद स्मारक ए डिभिजन लिगको उपाधि पक्का गरेको छ।
यस सिजन अपराजित मनाङले लगातार ११ खेल जितेको हो। यसक्रममा मनाङले उत्कृष्ट खेल प्रदर्शन गर्यो। अन्य खेलाडी जस्तै गोलकिपरको भूमिका पनि उत्कृष्ट रह्यो।
मनाङले ११ खेल जित्दा ६ खेलमा गोलकिपर विशाल श्रेष्ठले गोल खाएनन् क्लिनसिट राखे।
मनाङले दुई खेल अगावै लिगको उपाधि पक्का गरेपछि विशालले टिमले एकजुट भएर मेहनत गरेर खेलेकोले नै उपाधि जित्न सफल भएको बताए। उनले लिगमा प्रत्येक खेल उत्तिकै महत्वपूर्ण र प्रतिस्पर्धात्मक भएको बताए।
लिगको पहिलो खेलमा मनाङले ब्रिगेड ब्वाइजलाई पराजित गर्दा एक गोल खाएको थियो। सुरुको चार मध्ये ३ खेलमा गोल खाएको मनाङका लागि त्यसपछि लगातार चार खेलमा विशालले कुनै गोल हुन दिएनन्।
यस्तै पछिल्लो तीन मध्ये दुई खेलमा गोल खाएको मनाङले नेपाल पुलिस विरुद्ध क्लिनसिट राखेको थियो। मनाङले लगातार ११ खेल जित्दा कुनै पनि खेलमा एक भन्दा बढी गोल खाएको छैन। मनाङले अहिलेसम्म २१ गोल गर्दा ५ गोल मात्र खाएको छ। मनाङले ब्रिगेडसँगै थ्री स्टार, एपीएफ, च्यासल र संकटा विरुद्ध १-१ गोल खाएको थियो।
अहिलेसम्म विशाल यस सिलजन लिगमा सबैभन्दा कम गोल बेहोर्ने गोलकिपर हुन्। थ्री स्टार र नेपाल पुलिसले ६-६ तथा त्रिभुवन आर्मीले ८ गोल खाइसकेको छ।
मनाङको ११ जित
ब्रिगेड ब्वाइजविरुद्ध : ३–१
एनआरटीविरुद्ध : २–०
थ्री स्टारविरुद्ध : २–१
एपीएफविरुद्ध : २–१
सरस्वती युथविरुद्ध : २–०
जावलाखेल युथविरुद्ध : १–०
मच्छिन्द्रविरुद्ध : १–०
त्रिभुवन आर्मीविरुद्ध : १–०
च्यासल युथविरुद्ध : ३–१
नेपाल पुलिसविरुद्ध : १–०
संकटाविरुद्ध : ३-१