
टेनिसका नोभाक जोकोभिचलाई पछि पार्दै फुटबलर लुका मोडरिचले 'बाल्कन एथ्लेट अफ दि इअर'को अवार्ड जितेका छन्।
क्रोएसियाली फुटबल टोलीको कप्तान मोडरिच सन् १९९४ पछि यो अवार्ड जित्ने पहिलो फुटबल बनेका छन्। यसअघि १९९४ मा बुल्गेरियाका हिस्टो इस्टोकोभले जितेका थिए।
यस वर्ष उत्कृष्ट फर्ममा रहेका मोडरिचले विश्वकै उत्कृष्ट खेलाडीको अवार्डका साथै युरोपियन अवार्ड समेत जितिसकेका छन्। गत सिजन रियल मड्रिडबाट युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका मोडरिचले क्रोएसियालाई रुसमा भएको विश्वकप फाइनल पुर्याउन महत्वपूर्ण भूमिका खेले। उनको कप्तानीमा क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको थियो तर फ्रान्ससँग ४-२ ले पराजित भएपछि उपाधि जित्नबाट बन्चित बनेको थियो।
यसैगरी मोडरिचले फिफाले प्रदान गर्ने दि बेस्ट अवार्ड र फ्रान्स फुटबल म्यागेजिनले प्रदलान गर्ने बालोन डे'ओर अवार्ड समेत जिते। मोडरिचले युरोपियन प्लेअर अफ दि इअरको अवार्ड समेत जितिसकेका छन्।
रुस विश्वकपमा उत्कृष्ट खेलाडी हुँदै उनले गोल्डेन बल समेत जितेका थिए।
३३ वर्षीय मोडरिचले बाल्कन एथ्लेट अवार्ड जितेने क्रममा ७५ पोइन्ट पाए। उनले सर्वियाका नोभाक जोकोभिचलाई पछि पारे। जोकोभिचले सन् २०११ देखि २०१५ सम्म बढी भोट पाएका थिए।
क्रोएसियाको स्पोर्ट्सकी नोभोस्टी समाचार पत्रले आयोजना गरेको भोटिङमा धेरै भोट पाएर मोडरिचले अवार्ड जितेका हुन्।
'यो ठूलो सम्मान हो, म अरु सबै एथ्लेटलाई बधाई दिन चाहन्छु।' मोडरिचले भने।
यस्तै डिस्कस थ्रो को क्वीन मानिने क्रोएसियाकै सान्द्रा पेरकोभिचले बाल्कन वुमन एथ्लेटको अवार्ड हात पारिन्।