
तेलगु फिल्म टेम्परको रिमेक फिल्म सिम्बा आजदेखि पर्दामा आएको छ। फर्मुला फिल्मका माहिर निर्देश रोहित सेट्टीको यो रिमेकमा रणवीर सिंह लिड रोलमा छन्। फिल्मबाट रणवीरले आफूलाई भर्सटाइल एक्टरका रुपमा स्थापित गरेका छन्। जुनिएर एनटिआरको लिड रोल रहेको टेम्पर चर्चित र सफल फिल्म हो। यो फिल्मलाई रोहित सेट्टीले एडप्ट गर्दा नयाँ शैली र स्वरुप पनि दिएका छन्।
सन् २०१८ को सम्भवत यो अन्तिम ब्लक बस्टर मुभी हुनेछ। बलिउडका चर्चित खानहरु (शाहरुख, सलमान, आमिर) हिरो रहेका फिल्म एकपछि अर्को गर्दै फ्लप भइरहेको अवस्थामा वर्षको अन्तिम सातामा आएको यो फिल्मले बलिउडमा आफ्नो स्थान बलियो बनाउने समीक्षकहरुको दावी छ।
बलिउडका ट्रेड एनलिस्ट तरन आदर्शले फिल्मलाई ४ स्टार दिँदै समीक्षामा लेखेका छन् - रोहितले टेम्परबाट आवश्यक कुराहरु निकालेका छन् तर ठाउँठाउँमा र विशेषगरी क्लाइमेक्समा धेरै ट्विस्ट गरेका छन्। त्यसैले फिल्म फरक लाग्छ जुन निकै सकारात्मक हो।
रणवीरसँगै फिल्ममा सारा अली खान, सोनु सुद, वैदेही परशुरामी पनि लिड रोलमा छन्। आदर्शले फिल्मले बक्स अफिसमा आँधी नै ल्याउने दावी गरेका छन्।
तरन आदर्शले झै फिल्मको तारिफ टाइम्स अफ इन्डियाले पनि गरेको छ। ३.५ स्टार रेटिङ दिएको टाइम्स अफ इन्डियाका फिल्म समीक्षक रोनक कोट्छाले लेखेका छन् - फिल्ममा धेरै 'पैसा वसुल मुभमेन्ट'हरु छन्। फिल्मका राम्रा पक्षले नराम्रो पक्षलाई माथि आउन दिएको छैन। बलिउडलाई सन् २०१९ का लागि नयाँ सुपरस्टर फिल्मले छाडेरको गएको समीक्षामा उल्लेख छ।
दी हिन्दुस्तान टाइम्सले रोहिट सेट्टी मार्काको फिल्ममा अजय देवगान जस्तै सलमानको ब्रान्डमा रहेको दवङलाई सिम्बाले बिर्साउने दावी गरेको छ। ३ स्टार रेटिङ दिएका समीक्षक राजन सिंहले तेलगु फिल्म टेम्पर हेरेका दर्शकले पनि नसोच्ने टर्नहरु फिल्ममा महसुस गर्ने दावी गरेका छन्।समीक्षामा फिल्मको सिक्वेल आउने र त्यो पनि सफल हुने उल्लेख छ।
बलिउडको चर्चित अनलाइन कोइमोइले पनि फिल्मलाई ५ मा ४ स्टार दिएको छ। उमेश पुनवानीले गरेको समीक्षाअनुसार फिल्ममा गोलमालदेखि सिंगमसम्मको स्वाद मिल्छ। फिल्म हेर्ने कि नहेर्ने त? समीक्षकले लेखेका छन् - तपाईँ कुन उमेरको हुनुहुन्छ मतलब छैन, कुन जेनेराको फिल्मका सोखिन हुनुहुन्छ त्यो पनि मतलब छैन, आम दर्शक वा चुजी दर्शक जो भए पनि मतलब छैन, रणवीर सिंह वा रणवीर कपुरको फ्यान जे भए पनि मतलब छैन - फिल्म हेरे हुन्छ।