काठमाडौँ : भरत खवासको उत्कृष्ट प्रदर्शनमा त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिग २०७५ सरस्वती युथ क्लबविरुद्ध सहज जित हात पारेको छ।
खवासले दुई गोल गरेपछि आर्मीले दश खेलाडीमा झरेरको सरस्वती युथ क्लबलाई शुक्रवार ४-० ले पराजित गरेको हो।
एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा भरतले दुई तथा नवयुग श्रेष्ठले एक गोल गरे। अर्को गोल भने सरस्वती खेलाडीले आत्मघाती गरेका थिए।
खेलको छैटौँ मिनेटमैख नवयुग श्रेष्ठले हेडबाट गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। २९औँ मिनेटमा सुसन लामा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि सरस्वतीलाई दोहोरो झड्का लाग्यो।
पेनाल्टी एरियामा बर्मीङ्का खेलाडीलाई लडाएपछि लामा मैदान बाहिरिए भने आर्मीले पेनाल्टी पायो। भरत खवासले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै आर्मीको अग्रता दोब्बर पारे।
एक खेलाडी कम भएको अवस्थामा आर्मीले तीन गोल गरेको हो। पहिलो हाफमा दुई गोल गरेको आर्मीले दोस्रो हास्रो हाफमा दुई गोल थप्यो। ६१औँ मिनेटमा भरत खवासले व्यक्तिगत दोस्रो तथा आर्मीका लागि तेस्रो गोल गरे। ८०औँ मिनेटमा पनि भरतकै क्रस सरस्वतीका ओलुसोला इब्राहिमलाई लागेर गोल भएको थियो।
जितपछि ११ खेलबाट २१ अंक जोडेको आर्मीले तेस्रो स्थानको थ्री स्टासँग अंक दुरी २ मा झारेको छ भने शीर्ष तीनमा रहेर लिग टुङ्गाउने सम्भावना कायमै राखेको छ।
एक खेल कम खेलेको थ्री स्टारले आजै नेपाल पुलिससँग खेल्दैछ। ११ खेलबाट ३३ अंक जोड्दै मनाङ मर्स्याङ्दी क्लब दुई खेला अगावै च्याम्पियन बनिसकेको छ भने समान खेलबाट २५ अंक रहअको संकटा दोस्रो स्थानमा छ।
मनाङसँग पराजित भएको संकटा शीर्ष चारमा पर्ने पक्का छ।