PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

हिसाब बराबर



किशोर नेपाल

हिसाब बराबर

  • किशोर नेपाल -
गाथा बीटमा लागेदेखि सत्येन्द्र निकै सोच्न थालेको छ। यो काम सोचेजति सजिलो होइन। ‘लिटिल बुध्द’ भनिएका वमजनदेखि स्वामी षडानन्दसम्म कसको विवरण दिनु? कसको नदिनु? त्यो पनि यस्तो देशमा जुन देशको नोट छाप्ने काममा समेत जालसाजी निकालिन्छ। आकाशमा उड्ने हवाइजहाजको खरीददेखि टिकट बिक्रीसम्म कर्मचारीको एकएक कदम सीसी टीभीको निगरानीमा हुन्छ। जुन देशका महिलाहरु साहसी र जागरुक छन्। तर, #मीटू अभियान अघि बढाउन पूरै असमर्थ देखिन्छन्। कथा लेख्छन, सुपात्रको नाम लेख्दैनन्। गएको साता एकजना उपसचिव भन्दै थिए, कस्तो डरमर्दो समय आयो। महिला सेवाग्रही आउने बित्तिकै खुम्चिनु पर्ने। सेवाग्रहीको कुनै अंगमा छोइयो भने #मीटू लागि हाल्ने डर। 

समाजमा यस्ता मानिसहरुको पनि अभाव छैन जो देशको सामाजिक, सांस्कृतिक, आर्थिक र साहित्यिक विकासका लागि मरिहत्ते गरेर सक्रिय भएका देखिन्छन्। यस्तै एकजना लेखक, समाजसेवी, धनपति र पर्यटन व्यबसायीले पर्यटन व्यवसाय प्रवर्द्धनका लागि फेवाताल मिचेरै होटल बनाए – वाटर फ्रण्ट। ताल मिचेकोमा उनको चौतर्फी आलोचना भयो। मानिसहरु तालले चर्चेको जग्गामा तालकै विस्तार गर्ने अभियान चलाइ रहेका छन्। सेलेब्रिटी स्टाटस पाएका साहूजी उल्टै तालकै सीमाना मिचेर सम्पत्तिको विस्तार गर्छन्। सम्पत्तिवाल र कुलीन परिवारका सदस्यसँग योे देशको कर्मचारी थुरथुर काँप्दछन्। सबै तहका अदालतका न्यायाधीशहरु उसको अगाडि हें हेंको शैलीमा मुस्कुराउँछन्। संसदका सदस्यहरु करवध्द हुन्छन्। पैसा हो सबैभन्दा ताकतवर बस्तु नेपाली समाजमा। जोसँग पैसा छ, त्यसैको इज्जत छ।

पुसको पहिलो साता पोखरामा आयोजना भयो साहित्य उत्सव। सत्येन्द्रलाई त्यति चासो थिएन यो उत्सवमा। किनभने उसलाई साहित्यको स पनि आउँदैनथ्यो। जे कुरामा आफ्नो पकड छैन, त्यसमा किन अल्मलिनु? पछि पो थाह पायो उसले। त्यहाँ त साहित्यको कम र असाहित्यको ज्यादा चर्चा भएको रहेछ। मार्क्स जन्मिँदै गर्दाको तस्वीर कसले खिचेको थियो?नेपालमा अरिंगाल साहित्यको लेखन कहिलेदेखि शुरु भएको हो? यसका प्रेरणा पुरुष केपी ओली हुन् कि होइनन्? प्रश्नहरु दवंग थिए। यो वर्ष साहित्य उत्सवको प्रायोजन गरेको थियो आइएमइ कम्पनीले। अबदेखि सँधै यसको आयोजन यही कम्पनीले गरोस् भन्ने धेरैको चाहना छ। लेखक, कलाकार, साहित्यकार सबैलाई दालभात खुवाएर बडो इज्जतसाथ राखिएको थियो पोखरामा।

आइएमइ कम्पनी विदेशबाट स्वदेशमा र स्वदेशबाट विदेशमा जनताको पैसा ओसार–पसार गर्ने कम्पनी हो। अहिले यो कम्पनीको आफ्नै बैंक छ, देशमा रोजगारी बढाउने लक्ष लिएको छ भने राम्रै छ। आइएमइले साहित्य उत्सवमा लगानी गर्‍यो। यसका आयोजकहरु गद्गद् भए। पैसाले मानिसको तुजुक बढाउँछ। उनीहरुको पनि तुजुक बढ्यो। उत्सव स्थलको छेउमा ठडिएका रुखहरुले सहभागीहरुको आंगमा पर्नुपर्ने घाम छेकी रहेका थिए। आयोजकहरुले बन्चरो चलाइहाले। उत्सवका बेलामा नै रुखको हाँगाबिंगा छिमलेको र अनुमति नलिइ रुख काटेको गाईंगुईं सुनिएको थियो। उत्सव सकिएपछि त सामाजिक सन्जालमा आइहाल्यो घटना विवरण। यसले आयोजकलाई कुनै अफशोच भएन। उनीहरुले आरामसाथ नगरपालिकालाई जरिवाना बुझाए। त्यसपछि टेन्सनबाट फ्री हुन बीयरको चुस्की लिन थाले। कुन बीयरको चुस्की लिए उनीहरुले? सत्येन्द्रले यो बताउन चाहेन। सित्तैंमा बीयरको नाम लेखेर त्यसको फाल्टु विज्ञापन किन गर्नु? बरु, आयोजकहरुले पिएको बीयरको चीसोले सत्येन्द्रको मुटु काँप्न थाल्यो लुगलुग।

पोखरा हर्षित भयो। साहित्य महोत्सव पनि भयो, रुख काटेबापत् जरिवाना पनि असूल भयो। केही साहित्यकार फेवा मिच्नेको हिसाब –किताब गर्न खोज्दै थिए। कसैले भन्यो, यसमा के छ र? कसैले केही र कसैले केही मिचेकै छन्। बित्थामा किन लफडा गर्नु? उसको आतिथ्य पाएका थिए लेखकहरुले। हिसाब बराबर। सत्येन्द्रले सोच्यो, ‘यो देश कहिल्यै बन्दैन।’

तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। फ्याक्ट र फिक्सनको संयोजन गरी टेलिसिरियल शैलीमा लेखिएका गाथा केही समयको विश्रामपछि अब हरेक हप्ता पहिलोपोस्टमा प्रकाशित हुनेछ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell