
काभ्रे : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सरुवा गर्दा जान नमान्ने कर्मचारीलाई बिदा गर्नुपर्ने बताएका छन्।
सिंहदरबारमा केन्द्रित अधिकार गाउँगाउँमा पुर्याउनका लागि संघीयता र गणतन्त्रको ल्याएको दावी गर्दै उनले नयाँ कर्मचारी भर्ना गरेर भए पनि संविधान कार्यान्वयन गर्नुपर्ने उनको तर्क थियो।
‘राज्यको शक्ति विकेन्द्रित भएर जनताको घरदैलोमा लैजान हजारौंको बलिदान भएको छ,’ काभ्रेको चौरी देउराली —२ स्थित श्री खाँडादेबी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई आज सम्बोधन गर्दै उनले भने, 'तर अहिले कतिपय कानूनको अभावमा या कर्मचारी समायोजनको अन्यौलताका कारणले ढिला भएको पक्कै पनि हो।'
राष्ट्र सेवक भनिएका कर्मचारी संविधानको मर्म र भावना अनुसार र ऐन कानूनको व्यवस्था अनुसार देशको कुनै पनि भागमा सरकारले खटाए अनुसार जानुपर्ने उनको तर्क थियो।
'यदि जान तयार नहुने हो भने राज्यले बिदा गर्दिनु पर्दछ र नयाँ कर्मचारी भर्ती गरेर भए पनि संविधान कार्यान्वयन तिर लाग्नु पर्दछ,' उनले भने।
उनले पार्टीको स्थायी समिति बैठकमा सर्वसम्मत निर्णय गर्दै सफलताका साथ सम्पन्न भएको दावीसमेत गरे।