
काठमाडौँ : विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा शुक्रवार भएको खेलमा थ्री स्टार विरुद्ध पुनरागमन जित हात पारेको छ।
एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा थ्री स्टारले अग्रता जोगाउन नसक्दा यस सिजनकै ठूलो हार बेहोरेको हो। पुलिससले एक गोलले पछि परेको अवस्था उल्टाउँदै ललितपुरको थ्री स्टारलाई ३-१ ले हराउँदै सिजनको पाँचौ जित हात पारेको हो। तेस्रो चरणमै मनाङ मर्स्याङ्दीसँग पराजित भएको थ्री स्टारको भने यो दोस्रो हार हो। पराजयपछि थ्री स्टारले दोस्रो स्थानमा उक्लने मौका समेत गुमायो।
खेलको १३औँ मिनेटमा विदेशी खेलाडी मेसुउम्ले अवाङ अल्वर्टले गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। उक्त अग्रता लामो समय भने टिकेन। २०औँ मिनेटमा पुलिसका निर कुमार राईले गोल गर्दै खेल १-१ को स्थितीमा पुर्याए।
पहिलो हाफ बराबरीमा सकिएको खेलमा पुलिसले दोस्रो हाफमा दुई गोल थप्दा थ्री स्टारले भने पेनाल्टीमा पनि गोल गर्न सकेन। ४७औँ मिनेटमा थ्री स्टारका विजय धिमालले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि प्राप्त पेनाल्टी अभिषेक रिजालले गोल गर्दै विभागीय टोली पुलिसलाई २-१ को अग्रता दिलाए। ५५औँ मिनेटमा कप्तान भोला सिलवालले मैदानको मध्य भागबाट एकल प्रयासमा बल अगाडी बढाउँदै उत्कृष्ट गोल गरेपछि पुलिसलले ३-१ को अग्रता बनायो। खेल सकिन ३ मिनेट अघि थ्री स्टारले खेलमा फर्किने सुनौलो अवसर गुमायो। ८७औँ मिनेटमा प्राप्त पेनाल्टीमा थ्री स्टारका रन्जित धिमाल चुके। उनको पेनाल्टी प्रहार पुलिसका गोलकिपर अर्पण कार्कीले खुट्टाले रोकेका थिए।
पुलिसका अजित भण्डारी खेलको म्यान अफ दि म्याच घोषित भए।
जितपछि ११ खेलबाट १८ अंक जोडेको पुलिस अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ। पराजित थ्री स्टार समान खेलबाट २३ अंकका साथ तेस्रो स्थानमा यथावत छ।
यसखेलपछि लिगमा ११औँ चरणका खेलहरु सकिएका छन्। लगातार ११ खेल जितेको मनाङ मर्स्याङ्दी क्लब दुई खेल अगावै च्याम्पियन बनिसकेकोले अब अन्य क्लबहरु शीर्ष तीन स्थानमा रहने होडमा छन्। २५ अंक जोडेको संकटा, २३ अंक रहेको थ्री स्टार, २१ अंक रहेको त्रिभुवन आर्मी र र १८ अंक जोडेको पुलिस शीर्ष तीनमा पर्ने होडमा छन्।