PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

एनएनआइपीए अवार्ड : भारोत्तोलनका कमल र करातेकी अनु सर्वोत्कृष्ट



पहिलोपोस्ट

एनएनआइपीए अवार्ड : भारोत्तोलनका कमल र करातेकी अनु सर्वोत्कृष्ट
फोटो : राखेप

काठमाडौँ : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए) ले आयोजना गरेको १३औँ एनएनआइपीए अवार्डमा  भारोत्तोलनका कमल बहादुर अधिकारी र करातेकी अनु अधिकारी  सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

ललितपुरको पाटनस्थित पाटन दरबार संग्राहलयमा शुक्रवार भएको अवार्ड समारोहमा महिलातर्फ  अनु र पुरुषतर्फ कमल सर्वोत्कृष्ट घोषित भए।

दुवै खेलाडीले जनता बैँक नेपालले प्रायोजन गरेको नगद १-१ लाख पुरस्कार पाए।

त्यसअघि विभिन्न २९ खेलका २९ उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो। विभिन्न खेलमा उत्कृष्ट खेलाडीले १०-१० हजार प्राप्त गरे। सम्बन्धित खेल संघले ५ तथा एनएनआइपीएले ५ हजार प्रदान गरेको हो।

त्यही उत्कृष्टमध्येबाट महिला र पुरुषतर्फ एक-एक सर्वोत्कृष्ट खेलाडी चयन गरिएको हो।

फुटबलकी सावित्री भण्डारी, पौडीकी गौरिका सिंह, भलिबलका इम राना मगर, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, बक्सिङकी विमला श्रेष्ठ, भारोत्तोलनका कमलबहादुर अधिकारी, लनटेनिसका प्रणव खनाल, सफ्ट टेनिसका युकेश योञ्जन, कबड्डीका नागेश्वर थारु, फेन्सिङका जंग गिरी, हक्कीका मनोज चौधरी, स्क्वासकी भावना सुनुवार, सेपाकताक्रोका रुपेश सुनार, साइक्लिङका नारयाणगोपाल महर्जन (स्वर्गीय), खोखोका सन्तोष बोहरा, बास्केटबलका मनिश राज राजोपाध्याय, राष्ट्रिय तेक्वान्दोकी सुनिता तामाङ, ब्याडमिन्टनकी नङ्शल तामाङ, ट्रायथलनका बसन्त थारु, ह्यान्डबलकी बन्दना राई, करातेकी अनु अधिकारी, जुडोकी मनीता श्रेष्ठ प्रधान, तेक्वान्दोकी अस्मिता खड्का, उसुका अमर सुनार, आर्चरीका रमेश भट्टचन, एथलेटिक्सकी विश्वरुपा बुढा, गोल्फका टंकबहादुर कार्की र कुस्तीकी माया लोहराले उत्कृष्ट खेलाडी अवार्डले अवार्ड पाए। उनीहरुले गत वर्ष राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको राखेप च्याम्पियनसिपको गरेको प्रदर्शनको आधारमा अवार्ड पाएका हुन्।

यसैगरी २०२० टोकियो ओलम्पिकको एसियाली छनोटतर्फ पहिलो चरण पार गर्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विशेष सम्मान गरिएको थियो।

भारोत्तोलनका पार्थ शारथी सेन गुप्तालाई गजराज आदर्श खेलाडीबाट सम्मानित गरियो। उनले २५ हजार रुपैयाँ प्राप्त गरे। यस्तै बीबीसी नेपाली सेवाका कार्यरत निरन्जन राजवंशीलाई खेल पत्रकारिता पुरस्कारबाट सम्मानित गरियो। उनले नगद १५ हजार प्राप्त गरे।

उत्कृष्ट खेलाडीहरुलाई काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्वर तिमल्सिना, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, एनएनआइपीएका अध्यक्ष दिपक श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell